© २०२३
शुक्रवार रातीदेखि परिरहेको अबिरल बर्षाका कारण तिनाउ नदी किनारको तटीय क्षेत्रमा बाढीको जोखिम बढेकोले स्थानीय नदी किनारका बस्तीमा सावधानी अपनाउनु आवश्यक छ । तिनाउको जल सतह धेरै माथि आएको कारण बाढी बस्तीमा पस्ने चिन्ता उत्पन्न भएको छ । तिनाउको तल्लो तटीय क्षेत्रको बस्ती हरेक बर्ष जोखिममा पर्नेगर्छ । अहिलेपनि भीषण बर्षा भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने जरूरी छ । त्यसैपनि पछिल्लोसमय नेपालका विभिन्न स्थानमा बाढी र डुबानको खतरा देखिएको छ । आगामी केही दिन नेपालमा धेरै वर्षा हुने मौसमवीदहरूले जनाएका छन । मौसमवीदहरूको चेतावनीसंगै बाढी पहिरोको प्रकोपजन्य घटनामा पूर्व सतर्कता आवश्यक देखिएको छ । अविरल बर्षाका कारण तिनाउ नदीको किनारमा बाढीको खतरासंगै दक्षिण क्षेत्रमा डुवानले धेरै क्षति पु¥याउन सक्छ । तिनाउसंगै पानी देशैभरी परिरहेकोले सवैतिर साबधानी आवश्यक भएको छ । तराईमा बाढी र पहाडमा पहिरोको प्रकोप प्रत्येक वर्षको नियमित प्रकृया जस्तै वनेको छ । यो वर्षपनि ठूलो पानीसंगै देशका विभिन्न स्थानमा डुवानको समस्या बढ्दै गएको छ । सरकारले विपद्अघि गर्नुपर्ने पूर्वतयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । हरेक वर्ष विपद्को सामना गर्नुपर्ने मुलुकले पूर्व तयारीमा ध्यान दिन नसक्नुलाई बिडम्वना नै मान्नुपर्दछ । अर्कोतर्फ बाढी पहिरो आउने बेलामै गरिने तयारीका कामले प्रकोप नियन्त्रणभन्दा पनि विनास निम्त्याउने गरेको छ । पछिल्लोसमय वर्षाजन्य प्रकोपका घटना पहाडी क्षेत्रमा बढी भएको छ । पहाडमा विकास नभएको भन्दै जथाभावी बाटो लैजाने नाममा डोजर चलाईदाको परिणाम अहिले पहिरोको प्रकोप बढी देखिएको छ । विकासका नाममा देशभर नै अवैज्ञानिक तवरबाट खनिएका सडक अहिले पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसको लागि अभिषाप बन्दै आएको छ । बाढी पहिरोको जोखिम बढिरहेको बेला प्रकोप पूर्व तयारीका कुनैपनि कार्यक्रम प्रभावकारी ढंगले भएको छैन । निश्चितरूपमा संघीय, प्रदेश र स्थानीय तहले विपद पूर्वको तयारीमा ध्यान नदिने हो भने बाढी पहिरोको कहर नेपालको कहिल्यै अन्त्य नहुने श्रृंखला बन्ने छ । त्यसकारण प्रकोपका घटनामा कमी ल्याउन सवैले आ–आफ्नो जिम्मेवारी र दायित्व सम्झिएर अघि बढ्नु जरुरी छ । अर्कोतर्फ तराईका नदी किनारको वस्ती सुरक्षित वनाउनेतर्फ आवश्यक गृहकार्य नहुँदा वर्षायाममा धेरै क्षति व्योहोर्नु परिरहेको छ । अव सोच्नुपर्ने यही वस्ती र त्यहाँ वसोवास गर्ने मानवीय अस्तित्वका लागि हो । नदी किनारका वस्तीहरूमा कतिखेर बाढी पस्ने हो भन्ने त्राहीमाम छ । अर्कोतर्फ नदी किनारमै अव्यवस्थित वस्ती बस्दा विभिन्न संकटहरू उत्पन्न भएका छन । यद्यपि संभावित जोखिमवाट वच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकतामा भने जोड दिनैपर्दछ ।
मौसम पूर्वानुमान महाशाखाले शनिवार विहान तिनाउ नदीले खतराको सतह पार गरेकोले सम्भावित जोखिमवाट वच्न नदी किनारका बासिन्दालाई सचेत हुन आग्रह गरेको छ । यद्यपि पानी आउने र रोकिने क्रम भैरहेको छ । बाढी कतिखेर बढेर आउँछ भन्ने पूर्वानुमान गर्न सकिदैन । किनभने तिनाउको मुहानमा भीषण बर्षा भयो भने तल्लो तटीय क्षेत्र जोखिममा पर्छ तसर्थ बाढी आउनुपूर्व नै सावधानी अपनाउनु आवश्यक छ । बाढी आउनुपूर्व सचेत हुन सकियो भने बाढीले पु¥याउने क्षतिबाट बच्न सकिन्छ । अतः अहिलेको आवश्यकता भनेको संभावित बाढीको जोखिमबाट बच्ने र पूर्व तयारीका कामलाई अघि बढाउने हो । यस बिषयमा स्थानीय बासिन्दामात्रै होइन पालिकाहरूको समेत ध्यानाकर्षण होस् ।