© २०२३
दाङ, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने गरी निर्वाचन प्रणालीमा जानु आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलनलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले देशले स्थायी सरकार पाउन नसक्दा अहिले जनतामा असन्तोष बढ्दै गएको हुँदा निर्वाचन प्रणालीमा सुधार गर्दै शासन व्यवस्थामा पनि सुधार गर्न जरुरी रहेको धारणा राखे ।
लोकतान्त्रिक गणतन्त्रमा स्थिर सरकार बनाउने गरि अघि बढ्ने तयारीका साथ अहिलेको गठबन्धन सरकार बनेको जिकिर गर्दै उनले नेपालमा विकासको बाधक अस्थायी सरकार रहेको तर्क गर्नु गरे । उनले भने ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पपुलर भोट पाउने दलको हुनुपर्छ । यो आधारमा पहिलो हुने दल हुनुपर्छ भन्ने हो । तर, पहिलो हुँदैमा संसदमा बहुमत पुगेन भने त्यो अवस्थामा पहिले नै निर्वाचन आयोगमा पठाईने विज्ञहरुको नामहरुबाट त्यो दलले प्राप्त गर्ने गरी बहुमतको संख्या पुर्याउनुपर्छ’ उनले भने, ‘बहुमतको संसदीय दलले छानेको व्यक्ति प्रधानमन्त्री बन्छ । प्रधानमन्त्री भईसकेपछि दुई वर्षपछि विश्वासको मत लिन फेरि संसदीय दलमा जान्छ । यसमा सरकारले गरेका कामको सूचक र अवस्था बारे संसदीय दलमा मुल्यांकन हुन्छ । त्यसपछि विश्वासको मत पाउने आधार निर्माण हुन्छ । यसरी काम गरियो भने सरकार दीगो हुने र प्रधानमन्त्रीले पनि ढुक्कका साथ पाँच वर्ष सरकारको नेतृत्व गर्ने मौका पाउँछ । यो भयो भने नेपालको ७० वर्षे संसदीय इतिहासमा पाँच वर्ष लगातार सरकार चलाउन पाउने प्रधानमन्त्री नेपाली जनताले पाउन सक्दछन् ।’
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको जिल्ला सम्मलेलनमा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका महामन्त्री शर्माले पछिल्लो समय जनतामा बढ्दो असन्तुष्टिलाई चिर्दै सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए । उनले बढ्दो असन्तुष्टि चिर्दै निराशाको भाष्य बनाएर समाजमा असन्तोष फैलाउने कामको अन्त्य गर्न सरकार गम्भीरता पूर्वक काममा जुट्न आवश्यक रहेको बताए
काममा गम्भीर बन्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउँदै महामन्त्री शर्माले सबैसँग समदुरी राखेर सेवामा अपिल गरे ।
‘काममा गम्भीर बनौँ । यसले पार्टी बलियो बनाउन सघाउँछ । नेपालीमा निराशा छैन असन्तुष्टि बढेको छ’ उनले भने ,
अहिले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण पनि गराए । विद्यालय शिक्षा ऐनका सन्दर्भमा शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा रहेकाले सके अध्यादेशबाट नभए संसदीय समितिबाट भएपनि समस्या सम्बोधन गर्न आवश्यक रहेको नेता शर्माले बताए । ‘सकेसम्म अध्यादेशबाट नभए संसदीय समितिबाट भएपनि समस्या सम्बोधन गर्न जरुरी छ । शिक्षक, कर्मचारीहरले उठाएका माग जायज छन् । सरकारले यो विषयलाई महत्व दिएर काम गर्नुपर्छ’, उनले भने।
पार्टीको समसामयिक विषयमा बोल्दै महामन्त्री शर्माले पार्टी चलायमान बनाउन ५६ विभाग गठन गरिएको बताए । पार्टी संगठन बलियो बनाउन सबै एकताका साथ अघि बढ्न अपिल गर्दै उनले गुट उपगुटको पछि नलाग्न र सिंगो बलियो कांग्रेस निर्माणमा ध्यान दिन सचेत गराए । उनले भने‘अब आउने १५ औँ महाधिवेशनमा बलियो, एक ढिक्का भएको कांग्रेस बनाउन लागौँ । कांग्रेसले जनताको बिचमा जान विभिन्न कार्यक्रम लिएर जाने काम गरेको छ । कांग्रेसले देश विकास र जनताको पक्षमा गरेका राम्रा कामको प्रचार प्रसार गर्न लागौँ ।
सम्मेलनमा अर्का केन्द्रीय सदस्य दीपक गिरीले देश विकास लागि सरकारले सुशासन, भ्रष्टाचार उन्मुलन, जनअपेक्षा अनुसारको विकास, युवाको भविष्य सुनिश्चितामा ध्यान दिनुपर्ने बताए । उनले दाङको विकासका लागि निरन्तर लागि परेको भन्दै घोराही तुलसीपुर चारलेन सडकको कामको प्रकृया अघि बढेको बताए । उनले काम अघि बढाउन जेठ १५ भित्र ठेक्का सम्झौता हुने विश्वास दिलाए । यसैगरी, टरीगाउँ विमान स्थलको समस्या प्रति पनि चासो राख्दै त्यसको स्तर वृद्धिका लागि ३ अर्ब ३२ करोेडको खाँचो रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरीलगायत ५६ जना नेताले सम्बोधन गरेका थिए । जिल्ला सम्मेलनमा जिल्लाका दश वटै पालिकाबाट कांग्रेस नेता तथा कार्यकर्ता सहभागी भएका थिए । सम्मेलनमा जिल्लाको राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि छलफल भएको छ ।