© 2026
सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ लेखपोखरामा खेलकुदसँगै कला, संस्कृति र मनोरञ्जनको रौनक छाएको छ । स्थानीय प्रतिभाको पहिचान र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बुधबारदेखि छैटौँ वडा अध्यक्ष कप सुरु भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगिता कार्तिक २० गतेसम्म चल्नेछ । प्रतियोगितामा खेलकुदसँगै मौलिक कला, संस्कृति र मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको छ । यस प्रतियोगिताले वडाका विभिन्न टोलका नागरिक, खेलाडी तथा स्थानीय समुदायलाई एउटै उत्सवमा जोड्ने अपेक्षा गरिएको छ ।
बुधबार भएको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य रमेश मल्ल, गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, वडा नं। २ का अध्यक्ष प्रेमबहादुर नेपाली, वरिष्ठ कलाकार खर्कबहादुर बुढालगायत जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीको सहभागिता थियो ।
प्रतियोगितामा टोलस्तरीय महिला तथा पुरुष भलिबल मुख्य आकर्षणका रूपमा रहनेछ । त्यसैगरी पुरुष तथा महिलाबीच घैँटोफोड, बोरा दौड, लोकदोहोरी र पुराना लोकभाकाका प्रतियोगितासमेत समावेश गरिएको वडा नं। ५ का अध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए ।
नयाँ पुस्तामा प्रतिभा पहिचान र अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले १३ देखि २७ वर्ष उमेर समूहका लागि सर्फुट तथा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको छ ।
स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवामा खेलप्रतिको आकर्षण बढाउने र गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता राखिएको वडा कार्यालयले जनाएको छ । खेलकुदसँगै परम्परागत लोकभाका र सांस्कृतिक गतिविधिलाई जोडिएकाले यसले स्थानीय मौलिकता र सामाजिक सद्भावको संरक्षणमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।
वडाका सबै टोल, युवा, महिला समूह र स्थानीय समुदायको सहभागितामा मनाइने भएकाले छत्रेश्वरी ५ को वडा अध्यक्ष कप केवल खेलकुद प्रतियोगिता साझा उत्सवका रूपमा स्थापित हुँदै गएको छ ।