Butwal Today

किलोकै लाख पर्ने केशर सल्यानमा उत्पादन हुँदै

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

सल्यान, १८ कात्तिक ।
परम्परागत खेतीबाट सीमित आम्दानी गर्दै आएका सल्यानका किसानका लागि केशर खेती नयाँ सम्भावनाका रूपमा देखिन थालेको छ । महँगो मूल्यमा बिक्री हुने केशर खेती हिमाली क्षेत्रमा मात्र सम्भव हुन्छ भन्ने बुझाइका बिच सल्यानको कुमाख गाउँपालिका वडा नं ३ चिनालीमा यसको उत्पादन हुन थालेपछि पहाडी जिल्लामा पनि यो खेती विस्तार गर्न सकिने सम्भावना खुलेको हो ।

चिनालीका किसान शेरबहादुर पुनले सुरु गरेको केशर खेतीबाट यस वर्ष करिब १० ग्राम उत्पादन भएको छ । सुमित्रा जडिबुटी एण्ड कृषि फार्म सञ्चालन गर्दै आएका पुनले उत्पादन भएको केशर प्रतिग्राम एक हजार रूपैयाँका दरले बिक्री गर्दै आएका छन् । थोरै क्षेत्रफलबाट सुरु गरिएको खेतीमा उत्पादन देखिन थालेपछि उनी यसको क्षेत्रफल थप विस्तार गर्ने तयारीमा छन् ।

पुनले २०८२ असोजदेखि केशर खेती सुरु गरेका हुन् । सुरुमा सात हजार रूपैयाँ प्रतिकिलोका दरले १५ किलो केशरको गाना खरिद गरेर आधा रोपनी भन्दा कम क्षेत्रफलमा खेती गरेका थिए । पहिलो वर्ष करिब तीन ग्राम केशर बिक्री गर्न सफल भएका उनले यस वर्ष खेती विस्तार गरी ३० किलो गाना रोपेका छन् । तीमध्ये करिब २० किलो गानामा फूल लागेको उनको भनाइ छ ।

यस वर्षको असोजमा रोपिएको केशरबाट करिब १० ग्राम उत्पादन भएको पुनले बताए । उत्पादनको मात्रा अझै बढाउन सके राम्रो आम्दानी लिन सकिने उनको अपेक्षा छ । ’बीउ उपलब्ध भए खेती अझै विस्तार गर्ने योजना छ,’ उनले भने । केशरको गाना चैत, वैशाखतिर बीउका लागि निकाल्ने र नयाँ गाना उत्पादन भएपछि खेती विस्तार गर्ने उनको तयारी छ ।

सल्यानमा केशर खेतीको सम्भावना देखिएपछि वनस्पति अनुसन्धान केन्द्र, मूलपानी कपुरकोटले यसको परीक्षण अघि बढाएको थियो । केन्द्रले जुम्ला र डोल्पाबाट केशरका गाना ल्याएर किसान पुनको खेतमा परीक्षण गरेको थियो । परीक्षणबाट फूल र केशर उत्पादन हुन थालेपछि यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिने आधार बनेको केन्द्रको भनाइ छ । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार केशरको एउटा गानाबाट सामान्यतया एउटा बिरुवा उम्रिएमा तीनदेखि चारवटासम्म फूल लाग्न सक्छ । एउटै गानाबाट दुई÷तीनवटा गाँज आएमा फूलको संख्या अझ बढ्न सक्छ । एउटा फूलमा तीनवटा स्त्री केशर (रातो धागोजस्तो भाग) हुन्छन् । यही भाग संकलन गरेर सुकाएपछि बिक्री हुने केशर तयार हुन्छ ।

डा. पाठकका अनुसार करिब एक लाख ५० हजारदेखि दुई लाखवटा फूलबाट एक किलो केशर उत्पादन हुन सक्छ । फूलबाट रातो स्त्री केशर छुट्याएर संकलन गर्नुपर्ने भएकाले थोरै उत्पादनका लागि पनि धेरै फूल आवश्यक पर्छन् ।

केशरको उपयोग रातो स्त्री भागमा मात्र सीमित छैन । फूलका अन्य भाग तथा पत्रदलको पनि सम्भावित उपयोगबारे अध्ययन र प्रयोग गर्न सकिने डा. पाठक बताउँछन् ।
उनका अनुसार निलो पत्रदल लगायतका भागलाई ग्रीन टी का रूपमा प्रयोग गर्ने सम्भावना पनि छ ।

केशरलाई सामान्यतः चिसो तथा समशीतोष्ण हावापानीमा उपयुक्त हुने बाली मानिन्छ । नेपालका पहाडी भूभागमा यसको सम्भावना हुनु र सल्यानमा गरिएको परीक्षणबाट उत्पादन हुनु सकारात्मक मानिएको छ । केशर खेती विस्तारका लागि उपयुक्त हावापानी, माटो, पानीको निकास, गुणस्तरीय गाना, रोगबाट बचाउने प्रविधि र उत्पादन पछिको उचित व्यवस्थापन आवश्यक हुन्छ ।

विशेषगरी केशरको गाना पानी जम्ने ठाउँमा बिग्रन सक्ने भएकाले ओभानो जमिन र उचित निकासमा ध्यान दिनुपर्ने डा. पाठक बताउँछन् । पहाडी भूगोल र हावापानी अनुकूल भएका स्थानमा वैज्ञानिक अध्ययन र प्राविधिक सहयोगसहित खेती विस्तार गर्न सके किसानका लागि उच्च मूल्यको वैकल्पिक बाली बन्न सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?