Butwal Today

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
तुलसीपुर ।  दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताए।
“किसान सङ्गठित नहुँदा उत्पादन न्यून मूल्यमा बेच्नुपरेको थियो, त्यसले हामीलाई लामो समय घाटा व्यहोर्न बाध्य पारेको थियो”, उनले भने “अहिले हामी सङ्गठित भएपछि विस्तारै उत्पादन बढ्न थालेको छ ।” उनका अनुसार एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन् ।
जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सङ्घका सचिव रविन्द्रविक्रम केसीका अनुसार सङ्घमा १५० भन्दा बढी किसान आबद्ध छन् । हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन् ।
दाङमा उत्पादित अण्डामध्ये २० प्रतिशत अर्थात् दैनिक करिब ५०० कार्टुन जिल्लामै खपत हुने गरेको अध्यक्ष श्रेष्ठले बताए। बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अण्डा जिल्ला बाहिरका बजारमा पठाइने गरिएको छ ।
अण्डाको बजारीकरणलाई व्यवस्थित गर्न नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ । जिल्लामा खपत हुन नसकेको अण्डा डिपोमार्फत अन्य जिल्लामा पठाउने गरिएको छ ।
एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले एकद्वार प्रणालीमार्फत बजारीकरण गर्न डिपो सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताए । उनका अनुसार जिल्लामा बिक्री हुन नसकेको अण्डा डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?