Butwal Today

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन डिभिजन वन कार्यालयको आग्रह

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो उत्पादन र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्लो समय एआई प्रविधिको प्रयोग गरी विभिन्न प्रकारका फोटो तथा भिडियो निर्माण गरेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रम बढ्दै गएको भन्दै कार्यालयले यस्तो प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डिभिजन वन कार्यालयका सुचना अधिकारी केशर खड्काका अनुसार विशेषगरी पाटेबाघ, चितुवा लगायतका संरक्षित तथा संवेदनशील वन्यजन्तुसँग सम्बन्धित वास्तविकताभन्दा फरक र कृत्रिम रूपमा तयार गरिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रसारण भइरहेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।

यस्ता कृत्रिम तथा भ्रामक सामग्रीले वन्यजन्तुको वास्तविक अवस्था, व्यवहार र मानव–वन्यजन्तु सहअस्तित्वबारे गलत धारणा सिर्जना गर्नुका साथै सर्वसाधारणमा अनावश्यक त्रास फैलाउन सक्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काको भनाइ छ।
कार्यालयले वन्यजन्तुसम्बन्धी गलत सूचना र नकारात्मक सन्देश प्रवाह हुन नदिन यस्ता सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध गरेको छ।

 

साथै सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रकाशन वा साझा गर्नुअघि त्यसको सत्यता र सम्भावित प्रभावबारे सचेत रहन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सम्पूर्ण जिल्लावासीमा डिभिजन वन कार्यालय अर्घाखाँचीले हार्दिक अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?