© २०२३
नेपालगञ्ज, ३० चैत ।
बाँकेको राप्ती सोनारी स्थित राप्ती नदीमा डुवेर शनिबार एक युवतीको मृत्यु भएको छ । माछा मारेर घर फर्किने क्रममा विहान साढे १० बजे राप्ती सोनारी ३ सिनाबासकी २० बर्षीया दिक्षिका थारुको नदीमा डुवेर मृत्यु भएको हो ।
उनीसँगै माछा मार्न गएकी २० बर्षीया सर्मिला थारु पनि नदीमा डुवेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । घाइते सर्मिलाको राप्ती सोनारी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते युवतीको पछिल्लो अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । राप्ती नदीको सिनाबास घाट पारी करिब ११ जनाको समूहमा माछा मार्न गएका युवतीहरु घर फर्किने क्रममा पानीको बहावले बगाएर दिक्षिकालाई करिब ५० मिटर दक्षिणतर्फ गहिरो र घुमाउरो पानीमा डुबाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।
माछा मार्न गएका युवतीहरु समूहमा सँगै फर्किने क्रममा सबैलाई नदीले बगाएर गहिरो ठाउँमा लगेको र अरुलाई उद्धार गरिए पनि दिक्षिकालाई बचाउन नसकिएको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार अन्य युवतीहरुलाई कृष्ण चौधरीले उद्धार गरेका थिए । मृतक युवतीको शव करिव एक घण्टापछि इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र स्थानीयले पानीमा डुबेको अवस्थामा भेटाएका थिए । शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ । बाँकेमा गएराति परेको बर्षाले राप्ती नदीमा ठूलो बाढी नआए पनि पानीको मात्रा केही बढेको र हल्का धमिलो पानी देखिएको छ ।