© २०२३
रूपन्देही जिल्लाका विभिन्न नदीहरूबाट नदीजन्य पदार्थ चोरी तस्करी भैरहेको देखिएको छ । पछिल्लोपटक रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ र ७ बाट प्रहरीले नदीजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएको छ । त्यसैगरी रूपन्देहीकै अमुवा क्षेत्रबाट तिनाउ नदीमा दोहन गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिएको छ । लुम्बिनी नजिकको भर्तापुरमा पनि प्रहरीले नदीजन्य पदार्थ चोरीमा संलग्न जेसीबी र टिप्पर नियन्त्रणमा लिएको छ । पछिल्ला यी तथ्याँकले रूपन्देहीका विभिन्न नदीहरूबाट नदीजन्य पदार्थ बालुवा, मिस्कट, गिट्टी लगायत माटो समय चोरी हुने गरेको देखाएको छ । नदीजन्य पदार्थ चोरी तस्करी नियन्त्रणमा प्रहरी प्रशासनले ध्यान नदिँदा नै समस्या बढिरहेको देखिएको छ । तराईमा अहिले गर्मी सुरु भैसकेको छ । पालिकाहरूले नदीजन्य पदार्थको ठेक्का समयमै लगाउन नसक्दा एकातिर राजस्व गुमेको छ भने अर्कोतिर चोरी तस्करी बढेको छ । त्यसो त रूपन्देहीमा मात्रै होइन, लुम्बिनी प्रदेशका विभिन्न ठूला नदीबाट भैरहेको दोहन रोकिएको छैन । यसले के देखाउँछ भने नेपालका नदीबाट नदीजन्य पदार्थको उत्खनन बढ्दो छ । चुरे बिनासको क्रम बढेको छ । जमिनमुनीको पानीको उपयोगमा लापरवाहीले समस्या निम्त्याउँदैछ । संरक्षणमा लापरवाही छ । यहाँको जंगल, जडीबुटी, पानी तथा भौगोलिक अवस्थाको उपयोग हुन सकेको छैन् । प्रकृतिले सित्तैमा दिएको प्राकृतिक स्रोतको दिगो र व्यवस्थितरूपमा उपयोग गर्ने रणनीति तर्जुमा र कार्यान्वयन हुन सकेको छैन ।
प्राकृतिक स्रोतको उपयोग मात्र राम्रोसँग गर्न सके हाम्रो मुलुक समृद्ध हुने राजनीतिज्ञ तथा नीति निर्माताहरूलाई राम्रोसँग ज्ञान भएपनि उनीहरूले यसमा ध्यान दिएको पाईएको छैन् । यो बिषयमा अव नयाँ ढंगले र गंभीर भएर सोच्नु जरुरी छ ।
नेपालका प्राकृतिक श्रोत र सम्पदा संरक्षणमा बेवास्ता तथा समयमै उपयोग हुन नसक्दा नेपालको अमूल्य पदार्थ त्यसै खेर गईरहेको छ । बर्षेनी हजारौं घनमिटर नदीजन्य पदार्थ बगेर भारत पुगीरहेको छ । वनको अवस्था पनि त्यही छ । हरियो वन नेपालको धन भनिएपनि यसबाट नेपालले प्रतिफल लिन सक्ने अवस्था छैन् । वनको संरक्षण हुन नसक्दा आगलागीका घटना बढ्दै गएका छन् । त्यस्तै जलस्रोतमा दोस्रो धनी मुलुकको रूपमा रहेको नेपालको कैयौं जमिन उत्पादनयोग्य भएपनि सिंचाइको अभावले बाँझो रहेको छ । हजारौं जातका अमूल्य जडीबुटी नेपालमै पाइन्छ । यसको उपयोग हुन सकेको छैन् । जडीबुटी निर्यात गरेर करोडौं रुपियाँ आर्जन गर्न सकिने सम्भावनालाई नजरअन्दाज गरिएको छ । प्राकृतिक स्रोतको उचित व्यवस्थापन भएमा आयातमुखी हाम्रो देश निर्यातमुखीमा बदलिनेछ, जसका कारण स्वदेशमै आर्थिक समृद्धि हासिल हुनेछ । स्वदेशमा रोजगारी उपलब्ध गराउन सकिनेछ ।
प्राकृतिक स्रोत तथा सम्पदालाई वातावरणीय दृष्टिले नेपालको स्वर्ग भन्दा अत्युक्ति हुँदैन । यहाँको हिमाल, तराई, पहाडले संसारको सबै क्षेत्रमा पाइने वातावरण र प्राकृतिक स्रोतको सम्भावनालाई प्रतिनिधित्व गर्छ । पहिला जमिनमाथि भएको प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरी मुलुक समृद्ध बनाउने दिशामा अघि बढ्न सके पछि उत्खनन गर्नुपर्ने प्राकृतिक स्रोतको उपयोग गरेर मुलुकलाई थप समृद्ध बनाउन सकिन्छ । जति पनि विकसित मुलुकलाई हेर्ने हो भने उनीहरूले प्रकृतिले सित्तैमा दिएको उपहार जल, जमिन, जंगल, जडीबुटीलाई बढीभन्दा बढी उपयोगमा ल्याएकाले नै सफलता प्राप्त गरेका हुन् । नेपालले पनि आफ्नो मुलुकमा रहेको स्रोतलाई दिगो र व्यवस्थितरूपमा उपभोग गर्ने रणनीति तर्जुमा गर्नु आवश्यक छ । यी सवै कामका लागि नेपालको प्राकृतिक श्रोतको उपयोगमा प्राथमिकता दिनु पर्दछ । तर, पछिल्लोसमय प्राकृतिक स्रोतमाथि दोहन बढेको छ । नदीजन्य पदार्थ दोहन नियन्त्रण नगर्ने हो भने यसले भोलिको दिनमा समस्या निम्त्याउने अवस्था छ । तसर्थ सम्वन्धित निकायको समयमै ध्यान जाओस् ।