© २०२३
कपिलवस्तु, ०१ वैशाख ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १२ बिठुवामा किशोरकिशोरी समूहले नागरिकता सम्बन्धी अभिभावक र सरोकारवाला बीच अन्तक्र्रिया गरेका छन् । वडाको एकता किशोरीकिशोर समूहको अगुवाईमा नागरिकता नहुँदा भोग्नुपर्ने समस्या र नागरिकता प्राप्ति गर्ने तरिका बारे वडाका नागरिकलाई सचेतना प्रवाह गर्ने उद्देश्यका साथ अन्तक्र्रिया गरिएको हो । दलित सामाजिक विकास केन्द्र र आईएम स्विडिस डेभलपमेन्ट पार्टनरको सयुंक्त साझेदारीमा संचालित “हाम्रो शक्ति” परियोजनाको सहयोगमा अन्तक्र्रिया गरिएको थियो । नागरिकता समयमै नबनाउँदा किशोरी र महिलाहरू बिभिन्न अवसरबाट वंचित हुने गरेको अवस्थालाई ध्यानमा राखेर किशोर किशोरी समूहका सुमन राजभरले बताए । कार्यक्रममा नागरिकता प्राप्त गर्न पुरा गर्नुपर्ने प्रक्रिया, नागरिकताको अपलब्धताले प्राप्त हुने अवसर र नागरिकता नहुँदा भोग्नुपर्ने समस्या बारे छलफल गरिएको किशोर किशोरी समूहकी लक्ष्मी हरिजनले बताईन । नागरिकता प्राप्त गर्नु किशोर किशोरीहरूको अधिकार भएकाले उमेर पुगेपछि बालबालिकाको नागरिकता बनाउन आवश्यक रहेको अर्की किशोरी रूपाली कोहारले बताईन ।
सबैले समयमै घटना दर्ता र पञ्जिकरण गर्नुपर्नेमा जोड दिँदै नागरिकता प्राप्ति नागरिकको मौलिक हक भएकाले समयमै आवश्यक प्रक्रिया पुरा गरेर नागरिकता लिनुपर्ने वडा अध्यक्ष ईन्सान अली धुनियाले बताए । कार्यक्रममा सहभागी प्रहरी चौकी मर्जादपुरका प्रतिनिधि रोशन बिक, वडा सदस्यहरू राजमती चमार, प्रभावती यादव, सौरहा स्वास्थ्य चौकी प्रतिनिधी मिना मरासिनी लगायतले नागरिकता प्राप्त गर्ने प्रक्रियाको बारे स्थानीय भाषाको सूचना संदेश प्रवाह गर्न वडा कार्यालयले भूमिका खेल्नु पर्ने सुझाव दिए । कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना उमेर पुगेका सन्तानको समयमै नागरिकता बनाउने प्रतिबद्धता जनाएका थिए ।