© २०२३
नेपालमा हरेक महिना रेमिट्यान्स आप्रवाह बढेको बढ्यै छ । चालू आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा १० खर्ब रूपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार आठ महिना अर्थात् साउनदेखि फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । यस्तै आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय छ । अघिल्लो वर्षको यही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ८२ हजार ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । रेमिट्यान्सको यो आप्रवाह हेर्दा लाग्छ मुलुक अव पूर्णतः परनिर्भर भएको छ । विदेशबाट नेपालीले कमाएर पठाएको पैसाले मात्रै अव देश चल्ने अवस्था सिर्जना भएको छ । यो गंभीर चिन्ताको कुरा हो ।
त्यस्तै चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रूपैयाँ पुगेको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । राष्ट्र बैंकको यो तथ्याँकले नेपालका लागि अर्को डरलाग्दो कुरा सार्वजनिक गरेको छ । विदेशबाट पठाएको पैसाले देश चलाउने र विदेशबाट सामान निर्यात गरेर भएको पैसा सवै विदेश पठाउने अवस्था देखिनु नेपाललाई कुनैपनि दिन कंगाल बनाउने संकेत हो भन्दा अत्युक्ति हुँदैन । यसले विदेशबाट आएको पैसा विदेश नै जाने अवस्था उत्पन्न भएको छ । कालान्तरमा नेपाल उही अरू देशको सहारामा बाँच्नुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने चिन्ता छ ।
रेमिट्यान्सको प्रवाह बढिरहँदा अर्को जोखिमको क्षेत्र हुण्डी कारोवार समेत बृद्धि भएको छ । हुण्डीको कारोबार बढ्नु भनेको नेपालले ठूलो मात्रामा प्राप्त गर्ने कर घटनु हो । यसले नेपालको अर्थतन्त्रमाथि ठूलो धक्का लाग्छ । अर्थ मन्त्रालयले नेपाल आउनुपर्ने रेमिट्यान्स गैरकानुनी तरिकाबाट भित्रिरहेको बताउँदै यसले भविष्यमा अर्थतन्त्रमा समस्या आउन सक्ने उल्लेख गरेको छ । रेमिट्यान्सको ठूलो हिस्सा आधिकारीक बाटोबाट भन्दा गैरकानुनी तरिकाले आयात भैरहेको छ । त्यसै त रेमिट्यान्सबाट प्राप्त आयको अधिकांश हिस्सा गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । रेमिट्यान्स उत्पादनशील र दिगो उपयोगमा जोड दिन नसक्ने हो भने नेपालको अर्थतन्त्रमा भविष्यमा ठूलै समस्या नआउला भन्न सकिन्न । त्यसमाथि गैरकानुनी तरिकाले भैरहेको दुरूपयोगको नियन्त्रण जरुरी छ । रेमिट्यान्स आयको आकार बर्सेनी बढ्दो क्रममा छ । यसको उपयोग भने अनुत्पादक क्षेत्रमा भइरहेको छ । यदि यस्तै भइरहने हो र कुनै दिन रेमिट्यान्स आयमा ‘ब्रेक’ लाग्ने अवस्था आयो भने मुलकको आर्थिक क्षेत्रमा नराम्रो असर पर्नेछ । तसर्थ रेमिट्यान्स प्रवाह बढेकोमा सन्तोष मान्नु भन्दा नेपाललाई आत्मनिर्भर वनाउने बाटोको खोजी गर्नु जरुरी छ ।