© २०२३
काठमाडौं ।
विद्यालय शिक्षा ऐनसम्बन्धी मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ। तर, छलफलको सटीक समय भने अझै टुंगो लाग्न बाँकी रहेको नेपाल शिक्षक सङ्घले जनाएको छ।
हिजो (बिहीबार) मन्त्रालयले बोलाएको पहिलो चरणको छलफलपछि दुवै पक्षबीच आज पुनः छलफल गर्ने सहमति बनेको थियो। नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलका अनुसार, अहिले शिक्षकहरू आन्दोलनमै रहेका कारण छलफल आन्दोलन सकिएपछि मात्र सुरु हुने जनाइएको छ।
‘आज पनि छलफल हुनेछ भनेर हिजो नै भनिएको थियो, तर समय हामीले दिने हो। अहिले हामी छलफल गरेर त्यसको समय निर्धारण गर्छौं,’ महासचिव रावलले जानकारी दिए।
हिजोको छलफलमा शिक्षक प्रतिनिधिमण्डलले पुराना सहमतिहरू, ऐनसम्बन्धी मुद्धा, र २४ बुँदे ध्यानाकर्षण पत्र मन्त्रालयलाई बुझाएको थियो। यस क्रममा, सरकारले शिक्षा ऐन ल्याउने विषयमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने शिक्षकहरूको मुख्य माग थियो। त्यस्तै, विगतमा भएका सहमति कार्यान्वयनमा सरकार किन ढिलाइ गरिरहेको छ भन्ने विषयमा ठोस जवाफ समेत माग गरिएको थियो।
देशभरबाट आएका शिक्षकहरू र विद्यालय कर्मचारीहरू हाल काठमाडौंमा निरन्तर सडक आन्दोलनमा छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागमा अडिग शिक्षकहरू अब सरकारसँग पुनः औपचारिक वार्तामा बस्न तयार भएको जनाइएको छ।