© २०२३
बुटवल, ३१ चैत ।
मणिमुकुन्द भलिवल क्लव रुपन्देहीले १० औं मणिमुकुन्द कप पुरुष भलिवल इन्डो–नेपाल क्लव च्याम्पियनसीप–२०८२ आयोजना गर्ने भएको छ ।
भारतको एउटा र नेपालका ८ टिम सहभागी हुने प्रतियोगिता आगामी बैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
प्रतियोगितामा साग भलिवल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, नेपाल एपिएफ क्लव काठमाडौं, गण्डकी प्रदेश भलिवल संघ, कोशी प्रदेश भलिवल संघ, गलकोट भलिवल क्लव बाग्लुङ, मणिमुकुन्द भलिवल क्लव तिलोत्तमा र सुदूरपश्चिम खेलकूद परिषद सहभागी हुनेछन् ।
क्लवले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुनेले ३ लाख ११ हजार १११ रुपियाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोसैो हुनेले ट्रफी मेडल र प्रमाणपत्रका साथमा २ लाख ११ हजार १११, तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १ लाख ११ हजार १११ पाउने छन् भने सान्त्वना हुनेले ६६ हजार ६६६ रुपियाँ नगद र ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट सर्भर,बेस्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेल गर्ने गरिएको बताए । खेल सम्पन्न गर्नका लागि ६८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संसकरणको २ लाख राशि पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै भलिवल क्लवका बरिष्ठ सल्लाहकार तथा नेपाल भलिवल संघका पूर्व केन्द्रीय सदस्य मणिमुकुन्द माविका प्राचार्य टुकबहादुर क्षेत्रीले यो प्रतियोगिताले भलिवल खेललाई देशव्यापी रुपमा उजागर गर्ने बताउँदै यसले दिने सन्देशले नयाँ खेलाडी उत्पादनमा पनि महत्व राख्ने बताए ।
लुम्बिनी प्रदेश भलिवल संघका अध्यक्ष योगबहादुर गुरुङले प्रतियोगिता सफल पार्न आफ्ने संघले सबैखाले सहयोग गर्न तयार रहेको बताए । पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार सुरेन्द्र गुरुङ्ग, संस्थापक अध्यक्ष मिलन रानाले पनि प्रतियोगिताबारे प्रकाश पारेका थिए ।