© 2026
रोल्पा ।
बालसाहित्यको विकास, साहित्यिक सिर्जनाको प्रवर्द्धन तथा शैक्षिक क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित रोल्पामा आयोजित ३०औँ राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न भएको छ । २०८२ मङ्सिर १८ र १९ गते लिवाङमा सम्पन्न सम्मेलनले बालसाहित्यको महत्व उजागर गर्नुका साथै साहित्यिक गतिविधिमा विभिन्न क्षेत्रको सहभागिता र सहकार्य आवश्यक रहेको सन्देश दिएको छ ।
सम्मेलनका क्रममा साहित्यिक क्षेत्रको विकास, शैक्षिक उन्नयन, कार्यक्रम व्यवस्थापन तथा आगामी दिनमा यस्ता साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले साहित्यिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
उनले साहित्यिक गतिविधिले समाजको बौद्धिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै साहित्य र शिक्षा दुवै सम्मानित क्षेत्र भएकाले तिनको प्रभावकारिता अभिवृद्धि गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । साहित्यकार, सर्जक तथा बालसाहित्यमा क्रियाशील व्यक्तिहरूलाई प्रोत्साहन गर्दै उनीहरूको सिर्जनालाई देश तथा विदेशमा परिचित गराउन यस्ता सम्मेलन उपयोगी हुने उनको भनाइ थियो ।
सम्मेलनलाई अपेक्षाअनुसार भव्य र व्यवहारिक रूपमा सम्पन्न गर्न केही चुनौतीहरू देखिएको उल्लेख गर्दै आचार्यले जेन्जी आन्दोलनका कारण कार्यक्रमको तयारी तथा सञ्चालनमा प्रभाव परेको बताइन् । विविध परिस्थितिका कारण सम्मेलन निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको र विभिन्न देशबाट सहभागी हुन आउने पाहुनाहरू पनि उपस्थित हुन नसकेको उनले स्पष्ट पारिन् ।
आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा सबै क्षेत्रका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिँदै उनले जिल्ला समन्वय समितिले आवश्यक समन्वय तथा सहजीकरणका लागि कस्ता कदम चाल्न सक्छ भन्ने विषयमा समेत धारणा राखिन् । साहित्यिक सम्मेलनलाई अझ व्यापक, सहभागितामूलक र उपलब्धिमूलक बनाउन स्थानीय तह, सरकारी निकाय, गैरसरकारी संस्था तथा साहित्यिक संघसंस्थाबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तुलप्रसाद कुँवरले साहित्यिक क्षेत्रमा कलम चलाउने व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साहित्य सिर्जना र बालसाहित्यको विकासका लागि विभिन्न अवसर तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले साहित्यिक गतिविधि समयमै सम्पन्न हुनुका साथै त्यसको व्यवस्थापनमा पारदर्शिता कायम गर्नुपर्ने बताए ।
उनले सम्मेलनको आर्थिक पक्षलाई व्यवस्थित र पारदर्शी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै आम्दानी तथा खर्चको स्पष्ट विवरण सार्वजनिक गर्नु महत्वपूर्ण हुने धारणा राखे । साहित्यिक कार्यक्रमलाई सफल बनाउन आर्थिक स्रोतको उचित व्यवस्थापन, जिम्मेवारीपूर्ण कार्यसम्पादन र सबै पक्षको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो ।
सम्मेलन सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न निकाय तथा व्यक्तिहरूलाई आयोजकले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । रोल्पाका दशवटै स्थानीय तह, विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, व्यापारी, बुद्धिजीवी, होटल व्यवसायी लगायत आर्थिक सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको हो । त्यसैगरी सम्मेलनको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो तथा पत्रपत्रिकालाई निःशुल्क प्रचारप्रसारमार्फत सहयोग गरेको भन्दै प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
बालसाहित्य सम्मेलनलाई सफल बनाउन आर्थिक, भौतिक तथा प्रचारप्रसारका माध्यमबाट सहयोग गर्ने सबै पक्षको योगदान महत्वपूर्ण रहेको आयोजकको भनाइ छ । स्थानीय तहदेखि विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रसम्मको सहभागिताले साहित्यिक गतिविधि सञ्चालनमा सामूहिक सहकार्यको आवश्यकता थप स्पष्ट पारेको छ ।
सम्मेलनले बालबालिकामा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको विस्तारका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सन्देश दिएको छ । बालसाहित्यलाई विद्यालयको शैक्षिक गतिविधिसँग जोड्दै बालबालिकालाई साहित्य सिर्जना तथा अध्ययनमा आकर्षित गर्न सके त्यसले दीर्घकालीन रूपमा शैक्षिक र सामाजिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
३०औँ राष्ट्रिय बालसाहित्य सम्मेलन २०८२ स्थानीय मूल आयोजक समिति, रोल्पाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । सम्मेलनले साहित्यिक क्षेत्रको विकासका लागि स्थानीय स्तरमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।