© २०२३
लमही ,२९ चैत। गाउँमा स्वास्थ्य संस्था त थिए, तर विशेषज्ञ सेवा थिएन। सामान्य रोग लाग्दा पनि लमही बजार धाउनुपर्ने बाध्यता थियो। कमजोर आर्थिक अवस्थाका कारण ऋण लिएर मात्रै उपचार गर्नुपर्ने अवस्था अझै पनि धेरैका लागि यथार्थ थियो।
यस्तै अवस्थाबाट पीडित स्थानियबासीलाई लक्षित गर्दै लमही नगरपालिका वडा नम्बर ७ ले दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ।
वडा नम्बर ७ हस्नापुर निवासी गोगी चौधरी, जो मुटु रोगकी बिरामी हुन्, स्वास्थ्य सेवा घरआँगनमै पाउँदा निकै सहज भएको बताउँछिन्। “स्थानीय सरकार बनेपछि गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार भएको छ,” उनले भनिन्, “सामान्य रोग लाग्दा पनि उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था अब छैन।”
वनघुस्री निवासी भौनी चौधरी पनि गाउँमै सेवा पाउँदा खुसी व्यक्त गर्छिन्। “पहिले सेवा लिन जिल्ला बाहिर जानुपर्थ्यो, अहिले घरमै विशेषज्ञ सेवा पाइन्छ,” उनले भनिन्, “स्थानीय सरकारले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरिरहेको छ।”
शुक्रवारदेखि शनिबारसम्म सञ्चालन हुने शिविर वडा कार्यालयको आयोजना तथा लाइन्स क्लब अफ भुटनदेवी सेन्टेनीयल हेटौँडा, बीपी चिन्तन प्रतिष्ठान, गोरक्षा लाइन्स क्लब देउखुरी र प्रज्वल स्मृति अध्ययन केन्द्र दाङको संयुक्त सहकार्यमा सञ्चालित भएको हो।
गोरक्षा लाइन्स क्लब देउखुरीका अध्यक्ष मधु न्यौपानेले स्वास्थ्य सेवा गाउँमै पाउँदा जनताको विश्वास स्थानीय सरकारप्रति बढेको बताए। “गाउँटोलमै स्वास्थ्यकर्मी खटाएर सेवा दिइँदैछ,” उनले भने, “घर–घरमै सेवा पुर्याउने लक्ष्यमा हामी अघि बढेका छौं।”
वडाध्यक्ष मोहन गिरीले आर्थिक अभावले उपचारबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न शिविर आयोजना गरिएको बताए। “अब कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने सोचसाथ कार्यक्रम ल्याएका हौं,” उनले भने, “संविधानले दिएको स्वास्थ्य सेवाको हकको कार्यान्वयन गरिरहेका छौं।”
नगरप्रमुख जोगराज चौधरीले आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन निःशुल्क शिविर सञ्चालन गरिएको बताए। “स्वास्थ्य क्षेत्रमा पहुँच र पैसा नभएकाले सेवा पाउनु कठीन हुँदै गएको छ,” उनले भने, “त्यसैले राज्यले अग्रसरता लिएको हो।”
नगर प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले नागरिकको प्रमुख आवश्यकता स्वास्थ्य र शिक्षा भएको उल्लेख गर्दै राज्य अब समयमै सचेत बन्दै गएको धारणा राखे। शिबिरमा पहिलो दिन ३ सय भन्दा बढीले स्वास्थ्य जाछ गराएका थिए।