सुर्खेत,२९ चैत ।
दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडीबाट गएराति अपहरणमा परेकी तीन महिनाकी शिशु फेला परेकी छन् । स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा आज बिहान एक महिलाको साथमा फेला परेकी हुन् । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । ‘बच्चाको अवस्था सामान्य छ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले भने, ‘अहिले हामी बच्चा र ती महिलालाई लिएर कार्यालयतर्फ जाँदैछौ । अपहरण हो की के हो भन्ने कुरा अनुसन्धानबाट खुल्ला ।’ प्रहरीका अनुसार बमबहादुरको घरमाथि रहेको परालको कुनियोमा आगो लागेपछि राती दुवै दम्पती निभाउन गएको बेलामा बच्चा हराएको थियो । उनीहरू घरमा आएर हेर्दा छोरी नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।