© २०२३
आज जेठ १५ । आजभोलीको वातावरण तातो छ । आज गणतन्त्र दिवस पनि हो । एकातर्फ प्रकृतिले वातावरण तताएको छ, अनि तातो छ । अर्कोतर्फ राजनीति तातेको छ । त्यसैले संसदमा झन तातो छ । कसैलाई यो खेलबाट मज्जा आइरहेको होला तर मुलुक र मुलुकका नागरिक यो दुर्दशा देखेर रुनु न हाँस्न भएका छन् । सबै कुरा गएर वर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा जोडिएको छ । गृहमन्त्री रवि लामिछाने र उनको दलका अन्य नेताहरू एउटा अडानमा छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल रहेको छ । यो सबै वातावरण हेर्दा वाह्य गर्मी पनि छिटै घट्ला जस्तो लाग्दैन भने संसदको गर्मी पनि केही दिनका निम्ति कुलर लगाएर टारे पनि यो घटेर सहजै समाधान हुने लक्षण देखिदैन । गृहमन्त्री लामिछाने केही लचिलो देखिएपनि प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेस लचिलो हुने देखिदैन । किनकी उ यसरी गौंडा ढुकेर बसेको छ । यता संसद चल्न नदिने उता सरकारले आफ्नो नीति पास गर्ने, आ .व. २०८१/०८२ को बजेट प्रस्तुत गर्नुपर्ने अवस्था र अनेक विधेयक पास गरेर कानुन बनाउनु पर्नेछ । हुन त सरकारका लागि बजेट प्रस्तुत गर्ने अन्य बाटाहरू पनि छन् । ती बाटाहरू अपनाएपनि संसदमा प्रस्तुत गरेर बजेटका बारेमा वहस छलफल गरेर पासगरे जस्तो राम्रो पक्कै पनि हुनेछैन । जस्केलाबाट बजेट ल्याएर पास गर्ने भए त्यतिविधि सांसदहरूको काम के ? उहाँहरूलाई नेपाली जनताले कानुन बनाउनका लागि र विकास निर्माणमा सघाउनका लागि आफ्नो अमूल्य मत दिएर पठाएका हुन् । यो बजेट प्रस्तुत गर्ने छलफल गर्ने पास गर्ने काम सबै साँसदको हो । उहाँहरू जुन कामको लागि जानु भएको हो, त्यो काम सफल पार्न सक्नु भएन भने आउँदा दिनमा एउटा प्रश्न आउन सक्छ । जसले जुन काम गर्ने हो उसले त्यो काम गर्न सकेन भने उसको औचित्य हुन्छ कि हुँदैन ?
हुन त यो कुरा नेपाली काँग्रेसलाई जायज लागेको होला र उसले संसदमा अवरोध गरिरहेको होला । यही कुराको निकास एउटा रवि लामिछानेको विरुद्धमा संसदीय छानविन समिति बनाउनु मात्र विकल्प हो ? यो भन्दा पर केही उपाय छैन ? उपाय छैन या उपाय खोजिएन । कानुन बनाउने थलोलाई हिंजोबाट बन्दी बनाएर त्यो पनि एउटा सानो निहुँमा कति सुहाउने कुरा हो ? रवि लामिछाने दोषि हुन् भने अदालतमा मुद्दा दायर गरे पनि हुने थियो, यो अधिकार त सुरक्षित होला अवश्य पनि । मुद्दा दायर गरे पछि अदालतले जे फैसला गर्छ त्यही सत्य हो । या त अदालतको पनि विश्वास नभएर त होइन यो बारबार संसद अवरोधको खेल रचेको । गत वर्ष भएको एउटा खेल के भने त्यही केसमा दुई दिन पहिले नेकपा माओवादी केन्द्रले रामबहादुर थापा लगायतका सांसदहरूलाई निलम्वन गर्न सभामुखलाई पत्राचार गरेकोमा उसैदिन निलम्वन गरेर पद मुक्त गरिदिए तर दुई दिनपछि नेकपा एमालेका सांसदहरू जो नयाँ दल बनाएका थिए, उनीहरूको कारवाहीको माग गर्दा कुनै समय पनि सुनुवाई भएन । यसकारण एमालेले संसदमा हंगामा मच्चाएको थियो । त्यो केश यो भन्दा जटिल थियो । हिंजो एमाले फुटेकोमा रमाउने गठवन्धन थियो । यसकारण उहाँहरूलाई एमालेको अवरोध जायज लागेको थिएन तर आज आएर अनेक बाटाहरू हुँदाहुँदै सानो कुरामा सदन अड्कियो ।
यसपटक केही गरी संसदको अवरोध हटेछ भने भोली फेरी नयाँ निहूँ झिकेर नेपाली काँग्रेसले संसद अवरोध गर्दैन भन्ने के ग्यारेन्टी छ ? अहिले सरकारबाट बाहिरिनु परेको पीडा नेकामा रहेको छ । जसले जेसुकै भने पनि यो सत्य हो । हिंजो नेकपा एमालेसंग गठवन्धन भएको समयमा पनि हरेक काँग्रेसका कार्यकर्ताले प्रचण्डलाई रिझाउन नसकेको भन्ने गर्दथे । आज सत्ता फेरी हातबाट छिनिएपछि संसद अवरोधको मार्ग अपनाएको भन्न कुनै कठिन छैन । अव भोलीका दिनमा पनि नेपाली काँगे्रस पार्टी सानो सानो निहूँ झिकेर पटकपटक यही खेलमा लाग्ने सम्झना बढेको छ । जतिवेला पनि जसरी पनि आफू सत्तामा रहनुपर्छ भन्ने मान्यताका कारणले यो खेलको आरम्भ भइरहेको छ । यतिवेला नेपाली काँग्रेस नेपालको सबैभन्दा ठूलो दलको रूपमा रहेको छ । सबैभन्दा ठूलो दल सत्ता बाहिर हुनु राम्रो पनि होइन तर यतिवेला अर्को उपाय निस्कने अवस्था पनि छैन । कता कताबाट सत्ता आउँछ भन्ने समयमा उपेन्द्र यादवको पार्टी फेरी टुक्रिन पुग्यो, यसले फेरी नेपाली काँगे्रसलाई एउटा धक्का दिएको छ । यसकारण अव छिटै सरकारमा जाने अवस्था देखिदैन । त्यसैले नेपाली काँग्रेसबाट संसद अवरोध हुने गर्दछ भन्न नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूले आफ्नो पार्टी जनताको पार्टी भनेर थाकेका छैनन् । ने.का. जनताको पार्टी होला, हो भने यस्तो आचरण नेपाली काँग्रेसले देखाउन परेन ? ठूलो दलको हैसियतले गर्ने आचरण लोकतन्त्र अनुकूल भएन भन्ने हाम्रो आशय मात्र हो । वास्तवमा संसद भनेको नेपाली जनतालाई मात्र नभएर नेताहरूलाई पनि गरिमा कायम गर्न सिकाउने एउटा पवित्र स्थान हो । वास्तवमा संसदबाट जो गरिमा र मर्यादा प्रवाह हुनुपर्ने हो त्यो भएन भन्ने आम नागरिकहरूको बुझाइ रहेको छ । नेपाली जनाताले एकातर्फ आफू जनताबाट नागरिक भएको महसुस गर्न पाएका छैनन् । अर्कोतर्फ लोकतन्त्रको प्रयोग गर्ने थलो भनेको संसद हो । त्यही थलोमा पटकपटक अवरोध हुनुले नागरिकहरूले आफू साँच्चि जनताबाट नागरिक भएको वा हुने अवस्था निकट भएको महसुस गर्ने समय जनतालाई मिलको छैन । हामीले लोकतान्त्रिक गणतन्त्र धेरैपटक रट लगायोै । यसका बारेका हामीले पनि धेरै मसी खर्च गरेर लेखिसकेका छौं । तर हामी आफै त्यो अनुभूत गर्न पाएको जस्तो लाग्दैन ।
एउटा रवि लामिछाने प्रतिनिधि पात्र हुन जसलाई नेपाली काँग्रेसले सहकारीमा मुछिएको आशंका गरिरहेको छ । उनी जस्ता उदाहरण अरू छन कि छैनन् ? यतिवेला रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको तर आफूले स्विकार नगरेको कुरा भनिरहेका छन् । उनले बाहिर मात्र होइन संसदमा समेत त्यही कुरा बोले । आफूले प्रधानमन्त्री नस्वीकारेका कारणले गृहमन्त्रीबाट गलहत्याउनका लागि यो प्रपञ्च रचिएको हो भनेका छन् । यसरी लहरो तान्दै जाने हो भने पहरोमा समेत पुग्न सक्दछ । के पहरा घर्काएर पहिरो लडाएर मुलकको रमिता हेर्न चाहेको छ नेपाली काँग्रेसले ? नेपाली काँग्रेससंग यो पंक्तिकारको कुनै वैरभाव वा तिक्तता केही पनि छैन । काँग्रेसमा रहेका धेरैले प्रजातन्त्र भन्ने गर्छन । त्यो प्रजातन्त्र के हो र कस्तो हो ? एकपटक आफ्नै आचरणबाट देखाउन सके विश्वास गर्ने ठाउँ रहन्थ्यो भन्ने मात्र हो ।
नेपालका जुनसुकै दल भएपनि संसद अवरोध भन्दा टाढा हुनुपर्दछ । हिजो हामीले सडक जाम गर्न सिकायौं । आज एउटा कुखुराको चल्ला किचिदा पनि बाटो जाम हुने अवस्था आएको छ । समयमा विकास निर्माण भयो भने आश्चर्य लाग्ने अवस्था आएको छ । सबै दलका अगुवाले एकपटक फर्केर पुरै मुलक नियाल्नु होस् । संसद अवरोधले देशमा समृद्धि ल्याउँछ कि आपसी छलफल र सहमतिले ल्याउँछ ? आफै विचार गरे पुग्छ भन्ने लाग्दछ । अर्को केही हेर्न र भन्नै पर्दैन । तर एकपटक आफूले गरिरहेको कार्यको गंभीर समीक्षा आफै गर्नुपर्दछ ।