© २०२३
रुकुम पश्चिम, १९ माघ ।
रुकुम पश्चिमका बिभिन्न सहकारीबाट झण्डै ४ करोड बढी रूपैयाँ अपचलन भएको पाइएको छ । जिल्लामा सञ्चालित सहकारीहरूले ऋण चुक्ता गर्न नसक्दा बचतकर्ताको रकम समेत डुबेको छ ।जिल्लाको मुसिकोट नगरपालिका–१ मा रहेको बलिदान जनकृषि सहकारी संस्था, हाम्रो बचत तथा ऋण सहकारी संस्था, चौरजहारी नगरपालिका –२ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी, चौरजहारी नगरपालिका–२ कै बिहानी बचत तथा ऋण सहकारी, सानीभेरी गाउँपालिका–३ जनप्रवाह कृषि सहकारी संस्था, सानीभेरी गाउँपालिका–५ स्थित असल कृषि सहकारी, आठबिसकोट नगरपालिका–८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्था र आठबिसकोट ९ स्थित आठबिसकोट सहकारीबाट झण्डै साढे चार करोड रकम हिनामिना भएको पाईएको छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट तीन करोड १४ लाख रुपियाँ कर्जा लिएर हालसम्म नतिर्दा सहकारी समस्याग्रस्त अवस्थामा पुगेका छन् ।आठबिसकोट सहकारी बाहेक सातवटा सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट तीन करोड कर्जा लिएको र आठबिसकोट सहकारीले आठबिसकोट नगरपालिकाबाट एक करोड ७२ लाख कर्जा लिएर बचतकर्ताको समेत रकम फिर्ता गर्न सकेका छैनन् भने सबै सहकारीले हालसम्म साँवा, व्याज र हर्जना समेत तिरेका छैनन् । पैसा तिर्न पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनी कर्जा चुक्ता नगरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । उनका अनुसार लक्षित वर्गमा रकम लगानी गर्ने र नियमानुसार कोषलाई बुझाउने सम्झौता गरेर यी सहकारीले कर्जा लिएका थिए ।
त्यस्तै आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा नगरपालिका र वचतकर्ताको करिब २ करोड रूपैयाँ डुबेको छ । संस्था बाट ऋण लिएकाहरूले कर्जा चुक्ता नगरेपछि सहकारी समस्याग्रस्त अवस्थामा पुगेको छ । सहकारीबाट सबैभन्दा बढी ऋण लिएर अहिले सम्म नतिर्नेको सुचिममा दुई जना पाइलट परेका छन् । आठबिसकोट नगरपालिकाको शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ अनुसार आठबिसकोट–१० का गोविन्द केसी र वडा नम्वर ५ का ललित भण्डारीले २०७५ साल भदौ १५ गते सम्झौता गरेर ५०/५० लाख रूपैयाँ ऋण लिएर फिलिपिन्स पढ्न गए तर हालसम्म दुबैजनाले ऋण नतिरेको पाईएको छ । उनीहरूलाई शैक्षिक कर्जाका नाममा नगरपालिकाले १ करोड रूपैयाँ सहकारी मार्फत दिएको थियो । शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७२ लाख रूपैयाँ सहकारीलाई प्रदान गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको पैसा सहकारीले व्यक्ति तथा उधोगलाई ऋण दियो । अहिले कर्जा असुल गर्न नसक्दा सहकारी बन्द अवस्थामा छ ।
सहकारीको ऋण नतिरेपछी पालिका प्रमुख सहित सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का राखेको जनाएको छ । असुल उपर गर्नको लागि कोषको सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि कोषमा रकम प्राप्त हुन नसकेकोले घर, जग्गा जमिन रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालयलाई पत्राचार गरेपछि रोक्का रहेको बताईएको छ ।मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसी र सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको सम्पत्ति रोक्का भएको छ । मुसिकोट नगरपालिका–१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य बहादुर गिरी, उपाध्यक्ष महेन्द्र केसीसहित ९ जनाको ३४ कित्ता अचल सम्पत्ति रोक्का भएको हो । यस सहकारीले २०७२ असार २८ मा ५२ लाखकोे कर्जा सम्झौता गरी ५२ लाख नै निकासा लिएको थियो तर भुक्तानी अवधि नाघिसक्दा कोषलाई बुझाउनुपर्ने रकम साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ६० हजार ४९१ रुपियाँ तिरेको छैन । यो सहकारीको सञ्चालक समिति उपाध्यक्ष केसी मुसिकोट नगरपालिकाको प्रमुख छन्।
त्यस्तै सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको पनी सम्पति रोक्का भएको छ । सानीभेरी गाउँपालिका–३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था को अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष भुपालसिंह ओली लगायत १३ जना सहकारी सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति रोक्का भएको छ । यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । यो सहकारीले कोषसँग २०७२ साल चैत्र १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै निकाशा भएको थियो । यो सहकारीका अध्यक्ष बिष्ट र उपाध्यक्ष ओली सानीभेरी गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष छन । दुबै जना पालिका प्रमुखले आफुहरूले सहकारी छोडिसकेको प्रतिक्रिया दिएका छन् । जनप्रवाह कृषि सहकारी संस्थाका तत्कालिन अध्यक्ष एवम् सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले आफू सहकारीको अध्यक्ष हुँदा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ५२ लाख कर्जा लिएको र कोषबाट ल्याएको उक्त रकम माओवादी, कांग्रेस, एमालेका कार्यकर्ता र केही सर्वसाधारणलाई व्यवसाय सञ्चालनको लागि ऋण दिएको तर आफुले ८ वर्ष पहिले सहकारी छोडिसकेको बताएका छन् ।