Butwal Today

नागरिक शिक्षित र सचेत भए बालविवाह अन्त्य हुन्छ : मन्त्री घिमिरे

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

चन्द्रौटा ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजी घिमिरेले नागरिक शिक्षित र सचेत भए बालविवाह अन्त्य गर्न सकिने बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा बालविवाह अन्त्य, बाल अधिकार संरक्षण तथा बाल सहभागिता प्रवर्द्धनसम्बन्धी बरघर अगुवाहरूको शनिबार भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उमेर नपुग्दै विवाह गर्दा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने भएकाले समुदायका अगुवाहरूले नागरिकलाई सचेत बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्री घिमिरेले बालविवाह सामाजिक कुरीति मात्र नभई बालबालिकाको भविष्य र अधिकारसँग जोडिएको गम्भीर विषय भएको बताए । बालबालिकालाई शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरणको सुनिश्चितता गर्नु राज्य, परिवार र समुदाय सबैको साझा जिम्मेवारी भएको उनले उल्लेख गरे ।

यसैबीच शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले पछिल्लो समय भागी विवाहका कारण बालविवाहका घटना देखिने गरेको बताइन् । बालविवाह न्यूनीकरणका लागि अभिभावक, समुदायका अगुवा तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

त्यसैगरी थारू कल्याणकारिणी सभा कपिलवस्तुका सभापति पवन कुमार चौधरी लगायतले बालविवाह अन्त्य, बाल अधिकार संरक्षण तथा बालबालिकाको सहभागिता सुनिश्चित गर्न समुदायस्तरबाटै पहल गर्नुपर्ने धारणा राखे ।

बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने, बाल अधिकारको संरक्षण गर्ने र बालबालिकाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य आयोजना भएको कार्यक्रम २ दिनसम्म सञ्चालन हुने विजय अधिकारीले बताए । भेलामा ६ जिल्लाका थारू समुदायका बरघर तथा अगुवाहरूको सहभागी भएका छन् ।

सेभ द चिल्ड्रेन र पिस नेपाल कपिलवस्तुको साझेदारीमा आयोजित भेलामा बालविवाह अन्त्यका लागि समुदायस्तरमा बरघर अगुवाहरूको भूमिका, जिम्मेवारी तथा सहकार्यका विषयमा छलफल हुने आयोजकले जनाएको छ । पिस नेपाल कपिलवस्तुका मणि गैरे, शिवराज(२ का वडा अध्यक्ष राम बहादुर चौधरीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?