© 2026
बुटवल ।
रुपन्देही व्यापार संघको हार्डवेयर तथा निर्माण सामग्री वस्तुगत उपसमितिको आयोजनामा शनिबार बुटवलमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बुटवल–११ मजुवास्थित बुटवल ब्याडमिन्टन क्लबमा आयोजित प्रतियोगितामा फेन्सी वस्तुगत उपसमितिका रामु गोदार र बेगप्रसाद पाण्डेको जोडी प्रथम भएको छ । प्रतियोगितामा फेन्सी वस्तुगत उपसमितिकै भरत पाण्डे र शंकर कुँवरको जोडी दोस्रो भएको छ ।
यस्तै, हार्डवेयर तथा निर्माण सामग्री वस्तुगत उपसमितिका लक्ष्मण घिमिरे र सरोज खनाल तथा रिकन्डिसन वस्तुगत उपसमितिका सन्तोष केसी र पारस मरासिनीको जोडी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले १० हजार, दोस्रो हुनेले ६ हजार तथा तृतीय हुने दुवै टोलीले ३–३ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए । प्रतियोगितामा हार्डवेयर, महिला उद्यमी, फेन्सी, रिकन्डिसन, होटल, सूचना प्रविधि, संघको कार्यसमिति, अटोमोबाइल्सलगायतका वस्तुगत उपसमितिबाट १६ टिमको सहभागिता रहेको हार्डवेयर तथा निर्माण सामग्री वस्तुगत उपसमितिका संयोजक लक्ष्मण घिमिरेले जानकारी दिए ।
व्यापार संघमा आबद्ध व्यवसायीबीच आपसी सम्बन्ध, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै उनले आगामी कार्यक्रमहरूमा पनि सक्रिय सहभागिताका लागि आग्रह गरे ।
कार्यक्रममा बोल्दै व्यापार संघका अध्यक्ष प्रकाश ढकालले स्वस्थ जीवनका लागि खेलकुद अत्यन्तै महत्वपूर्ण रहेको बताए । खेलकुदले व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । व्यवसायसँगै स्वास्थ्य र मनोरञ्जनलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यस्ता गतिविधिले व्यवसायीलाई व्यावसायिक व्यस्तताबाट केही समय बाहिर निस्केर आपसमा घुलमिल हुने अवसर प्रदान गर्ने बताए ।
उनले संघले व्यवसायीको हकहित संरक्षण र व्यावसायिक वातावरण निर्माणसँगै सामाजिक तथा रचनात्मक गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि व्यवसायीको सहभागिता रहने यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
हार्डवेयर तथा निर्माण सामग्री वस्तुगत उपसमितिका सचिव शरद अधिकारीको स्वागत तथा सह–संयोजक भुपेन पन्तको सञ्चलनमा कार्यक्रम सम्पनन भएको संघका कार्यकारी प्रमुख सरोज पोखरेलले जानकारी दिए । संघले ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सुदृढ अर्थतन्त्र, पर्यटन र व्यापार’ भन्ने नारासहित व्यवसायीको व्यावसायिक हित र आपसी एकतालाई केन्द्रमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।