Butwal Today

युरोप र अमेरिकासम्म पुग्छ– पाल्पाको झिनिया

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

पाल्पा ।

पाल्पाको झिनिया युरोप र अमेरिकासम्म पुग्छ भन्दा कतिलाई विश्वास नलाग्न सक्छ तर झिनिया बनाउने पाल्पाका व्यवसायी ग्राहकले तिहारको बेला युरोप र अमेरिकासम्म कोसेली पठाउने गरेको बताउँछन । यही झिनियाको व्यापार पछिल्लोसमय फस्टाएको छ । तिहारका लागि झिनिया बनाउने व्यवसायीलाई अहिले भ्याई नभ्याई छ ।

परापुर्व कालदेखि नै नेवारी समुदायमा प्रचलित झिनिया पुजा, बिवाह, ब्रतवन्ध जस्ता कार्यमा अनिवार्य थियो । पछिल्लोसमय नेवारसंगै अन्य समुदायले पनि झिनिया प्रयोग गर्न थालेका छन । पछिल्लो दशकमा अन्य समुदायले समेत झिनिया प्रयोग गर्न थालेपछि यसको मागसंगै व्यापार फस्टाएको हो । दाज् बहिनी र दिदी भाईको पर्व भनिने भाइटिकाको अवसरमा झिनियालाई पनि छुटाउने गरिएको छैन । तिहारको आगमन नजिक भएसंगै यहाँका व्यवसायी तथा उद्यमीहरुलाई झिनिया बनाउनेदेखि प्याकिङ गरी बुटवल, पोखरा, चितवन र काठमाडौसम्मका बजार पठाउन भ्याइ नभ्याइ भएको छ । यसको माग बढन लागेपछि यसैलाई नै जविकोपार्जनको मुख्य आधार बनाउनेहरुको सख्या पनि बढदै गएको छ ।

तानसेन बजारको टक्सार टोलका विकास नापित पत्रकारीता क्षेत्रमा रमाएका व्यक्ति हुन् । तर, उनी पत्रकारिता पेसा चटक्कै छाडेर झिनिया बनाउन लागेको पनि तिस वर्ष भएको बताउँछन् । पहिले झिनिया तिहार लगायतको चाडमा मात्रै बनाईन्थ्यो तर जब यो सबै समुदायले मन पराउन थालेपछि यसको माग बढ्यो । माग बढ्न लागेपछि उनी बाह्रै महिना झिनिया बनाउँछन । झिनियासंग बजारका दुईसय परिवार प्रत्यक्ष रुपमा जोडिएका छन् । झिनिया प्रति दर्जन दुईसय ५० देखि ६ सय रुपैयामा स्थानिय बजारमा बिक्री हुने गरेको उनी बताउँछन् ।

झिनीयालाई व्यवसायीक रुप दिनेमा पुरुषका तुलनामा महिला बढि छन् । तिहारको समयमा न्युनतम ५ लाख रुपैया आम्दानी नगर्ने महिला नै छैनन् । यसरी बजारमा तयार भएको झिनिया स्वास्थ्यका लागि पनि राम्रो भएका कारण तिहारमा यो नपुगेको कुनै घर हुदैन ।

गत वर्ष १४ लाखको झिनिया बिक्री गरेकी तानसेनकी उद्यमी कमला श्रेष्ठ भन्छिन्– यो पटक मौसम अनुकुल भएन, त्यसैले धेरै तयार गर्न सकिएन । तानसेनबाट सुरु भएको झिनियाको व्यवसाय रामपुर, ताहुँ, पोखराथोक, रुप्से, सराई खस्यौली जस्ता बजारसम्म पुगिसकेको छ । रिब्दीकोट गाउँपालिकाको खस्यौलीकी लक्ष्मी आचार्य पनि यो पेशाबाट राम्रो आम्दानी भएको बताउछिन् । उनी भन्छिन– यो बनाउन सकिए मात्र हुन्छ घरैबाट बिक्री हुन्छ ।

न्यूनतम प्रति दर्जन ३० रुपैयाबाट बिक्री गरेको झिनिया अहिले १ सय ६० रुपैया भएको छ । उनी भन्छिन– यो विषेशगरी पुरानो चामलको पिठोबाट बनाउने हो । कहिलेकाही पुरानो कनिका पिसेर पनि बजारमा बनाउने प्रचलन छ । पुरानो भए पिठो पकाउँदा बढने भएकाले बढी फाइदा हुन्छ । कम लगानीबाट घरमै बसेर बनाउन सकिने भएका कारण महिलाहरुको आकर्षण बढेको छ ।

तानसेनका व्यापारी कमल श्रेष्ठ तिहारको बेला तिन लाखसम्मको बिक्री गरेको बताउँछन् । विगत एक दशकदेखि यो पेशा अपनाउदै आएकी रामपुर नगरको सपना राना भन्छिन्– पहिले पहिले परिवारबाट सहयोग थिएन तर पनि मेहनत र हिक्मत कम गरिन् । बिस्तारै पैसा आउन लाग्यो घर खर्च चल्न लाग्यो । अहिले परिवारका सदस्यले पनि सहयोग गर्न लागे ।

अहिले दैनिक ३० किलो पिठोको झिनिया तयार गर्दै आएको उनले बताइन् । वार्षिक १० लाख रुपैया बचत गर्ने गरेको उनी भन्छिन– पहिला पहिला सबैको आलोचना मात्र खेपेँ, अहिले पैसा कमाउनै थालेँ ।

तिहारका दिन दिदी बहिनीले दाजुभाईलाई टिका माला लगाईदिएपछि कोसेलीको रुपमा दिइने झिनिया अन्य समयमा खाजा नास्ताका रुपमा पनि प्रयोग हुन थालेको छ । यसलाई तेल तथा घिउमा फुराएर खाने गरिन्छ ।

वगनासकाली गाउँपालिकाको चिर्तुङधाराकी ४० वर्षिया बिमला दर्लामी भन्छिन्– घरमा अरु रोटी बनाएपनि झिनिया बजारबाट ल्याउँछौं । झिनिया र बटुक मगर समुदायमा अनिवार्य नै भयो । उनका अनुसार प्रत्येक वर्ष एक हजार रुपैयाको झिनीया बजारबाट किन्छौं ।

त्यसैगरी रामपुर बजारका रुद्रनारायण श्रेष्ठ पूर्वी पाल्पाको सबैभन्दा पुराना उद्यमी हुन् । आधुनिक मेसिनको प्रयोगबाट उत्पादनको थालनी गरेका श्रेष्ठले ५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी पनि दिएका छन् । बाह्रै महिना झिनिया बनाउने श्रेष्ठ भन्छन्– पछिल्लोसमय यो क्षेत्रमा दुईसय भन्दा बढि महिलाहरु यो पेशामा जोडिएका छन् । तिहारको समयमा मात्र ३० लाख भन्दा बढिको बनाईन्छ । युरोप र अमेरिकासम्म पाल्पाको झिनिया पुग्छ ।

उता घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अनुसार कुटिर उद्योग भित्र पर्ने भएपनि कानुनी प्रकृया पूरा गरेर व्यावसायीक रुपमा झिनिया बनाउने उद्यमी भने अहिलेसम्म दर्ता भएका छैनन् । वार्षिक रुपमा १ करोड भन्दा बढिको पाल्पा भन्दा बाहिरी जिल्लामा निर्यात हुने झिनियालाई व्यावसायीक रुप दिने हो भने यसको विदेश निर्यातको समेत बलियो संभावना छ । पाल्पा उद्योग बाणिज्य संघले कम लगानीमा तयार हुने झिनियाको व्यापारलाई आधुनिकतातर्फ लैजान पटक पटक सरकारसंग माग गरेको छ । संघका अध्यक्ष समिरमान सिह सरकारले आधुनिक मेसिनमा स्थानिय उद्यमीलाई आकर्षित गरेको खण्डमा यहाँको उत्पादन विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम बन्ने बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?