© २०२३
लुम्बिनी, १९ माघ ।
सीमावर्ती दुई देशका चराविद्, प्राणीशास्त्री, संरक्षणकर्मी र सरकारी अधिकारीहरूले विश्व दुुर्लभ पंक्षी सारस संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । सीमा क्षेत्रमा सचेतना कार्यक्रम संचालन गर्ने, सारस संरक्षणको सफल अभ्यासहरू आदानप्रदान गर्ने र सीमा क्षेत्रमा सारसका जोखिमहरू कम गर्न सहकार्य गरेर अघि बढने प्रतिबद्धता गरिएकोछ । त्यस्तै दुर्घटना र समस्यामा परेको सारसको उद्वार गर्ने तथा सीमा क्षेत्रमा भएका त्यस्ता घटनाको सूचना आदानप्रदान गर्ने बताईएकोछ ।डब्लुडब्लुएफ नेपाल र ईन्टरनेशनल क्रेन फाउण्डेसनको सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रिय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा लुम्बिनीमा आयोजित ३ दिने सारस संरक्षण ईण्डो नेपाल ट्रान्सबर्डर डाईलगका सहभागीले सहकार्य गरेर अघि बढने बताएका हुन् ।
कार्यक्रममा ईन्टरनेशनल क्रेन फाउण्डेसन दक्षिण एशिया कार्यक्रम निर्देशक डा. ट्रिप्ट ट्रान, डब्लुडब्लुएफ नेपालका पाटनरशिप प्रोग्राम प्रमुख राजेन्द्र सुवाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका ईकोलोजिष्ट हरिभद्र आचार्य र भारतको गुजरातमा संचालिन सारस विषेश संरक्षण कार्यक्रमकी निर्देशक डा. जीतेन्द्रर नौरले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दुई देशमा भईरहेका सारसको अध्ययन अनुसन्धान र अनुगमनका टेक्निक, संरक्षणका अभ्यासहरू, तराई आर्क स्लाण्डस्कयापमा सारस संरक्षणमा कसरी काम गर्न सकिन्छ तथा मानव बाहुल्य रहेको गैर संरक्षित क्षेत्रमा सारस संरक्षणका कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने चार समूहमा विभाजन गरि समूहगत छलफल गरिएको थियो । कार्यक्रममा ईन्टरनेशनल क्रेन फाउण्डेसनका एशिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले प्यानल डिस्कसन गरेका थिए । प्यानल डिस्कसनमा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र वरिष्ठ चराविद् डा. हेमसागर बराल तथा भारतका तर्फबाट युनिभरसीटी अफ लखनउका प्रोफेसर डा. अमृता कनौजिया र डब्लुडब्लुएफ भारत सिनियर ल्याण्डसक्याप कोअडिनेटर डा. मुदीत गुप्ता सहभागी थिए । अहिलेसम्म नेपाल भारतले बाघ, हात्ती र गैडाका विषयमा छलफल र संरक्षणका कार्यक्रम गर्दै आएकामा पहिलो पटक चराका विषयमा छलफल थालिएर सकारात्मक परिणाम निस्किएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रिय विभागका सह प्राध्यापक हरि शर्माले बताए ।
कार्यक्रममा नेपालका कंचनपुरदेखि चितवनसम्म सारस पाईने जिल्लाका डिएफओ, वार्डेन, संरक्षणकर्मी, अनुसन्धानकर्मी र स्वयंसेवी सहभागी थिए । त्यस्तै भारतको उत्तर प्रदेश र गुजरातका सरकारी अधिकारी, प्राणीशास्त्री, ईकोलोजिस्ट, प्राध्यापक, संरक्षणकर्मी र कृषक सहभागी थिए । नेपालका ९० जना र भारतका १० जना सहभागी थिए । उड्न सक्ने मध्ये सबैभन्दा ठूलो चरा सारश हो । यो निक्कै मनमोहक र सुन्दर हुन्छ । वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजाति मध्ये एक हो । नेपालमा करिब ७ सयको संख्यामा सारस रहेका छन् । सारस रूपन्देहीको नगर पंक्षी हो भने भारतको उत्तर प्रदेशको राज्य पंक्षी हो ।