© २०२३
शिव को हो ? शिव तत्व के हो ? के शिव सृष्टिको विनाशमा मात्र सीमित हुनुहुन्छ ? यो सृष्टिमा शिवको महत्व के छ ? यो सृष्टिको शिवसँग के सम्बन्ध छ, के यो सृष्टि शिव तत्वको अधीनमा छ या यो सृष्टिलाई शिव तत्व नजान्दासम्म बुझ्न सम्भव छैन ? यस्तै यावत् प्रश्नहरूको उत्तरमा शिवतत्व बोध गर्न सकिन्छ । ‘शिवतत्व’ मा शिवतत्व र शक्तितत्व दुबै हुन्छ । परमशिव प्रबुद्ध हुनुहुन्छ । प्रकाशको यो रूपलाई शिवतत्व र चर्चाको स्वरूपलाई शक्तितत्व भनिन्छ । यो संसारको सृष्टि, अवस्था र विनाशको रूपमा प्रकट हुन्छ । जब शिव स्वयं आफ्नो भित्री सार बाहिर ल्याउन उन्मुख हुन्छन्, तब उहाँको बाह्य रूपलाई शक्ति भनिन्छ । यदि हामी यस भौतिकवाद भन्दा अलि पर गयौं भने सबै कुरा शून्य हुनेछ । शून्यको अर्थ पूर्ण शून्यता अर्थात् भौतिक केही नभएको अवस्था हो । त्यहाँ हाम्रा इन्द्रियहरू पनि बेकार हुन्छन । त्यस्तो शून्यतालाई पार ग¥यौं भने हामीले जे पाउँछौ त्यसबाट शिवको रूप जान्न सक्छौं । तर यो पनि सीमित विधि हो । त्यस्तै आधुनिक विज्ञानले के विश्वास गर्छ भने यो सम्पूर्ण संरचना मानव तर्कसँग मेल खान्छ, तर यो जीवनलाई हेर्ने एकदम सीमित तरिका हो । किनभने यो सम्पूर्ण सृष्टि मानव बुद्धिको तर्कको लागि कहिल्यै खडा हुन सक्दैन । शिव वास्तवमा को हुनुहुन्छ, उहाँका विभिन्न रूप र पक्षहरूको महत्व र उहाँले मानवलाई बाँध्ने सबै भौतिक नियमहरूलाई कसरी पार गर्नुभयो भनेर जान्नुहोस् । हामी समस्त हिन्दू धर्मावलम्बीले माता भवानी र भगवान शिवको पूजा गर्छौं । श्रद्धाको नाम माता पार्वती र विश्वासको नाम शिव हो । र, यो आस्था र विश्वासको प्रतीक हो जुन हामी मन्दिरहरूमा स्थापना गर्छौं । हामी उहाँको चरणमा शिर झुकाउँछौं, जलाभिषेक गर्छौं, बेलको पात चढाउँछौं र आरती गर्छौं । र, यो आस्था र विश्वासको बलमा मात्र मानिसले ईश्वर प्राप्त गर्दछ । जुन वस्तुको अशुद्धता वा दोषको कारणले घृणा गरिन्छ, त्यसमा ध्यान नदिई शिवले त्यसलाई धारण गरेर शुभ बनाउँछन् । समुन्द्र मन्थन गर्दा निस्किएको विष पिएर नीलकण्ठ भनेर चिनिन थाल्यो । उसले मन्थनबाट निस्केका अन्य रत्नहरूलाई पनि हेरेन । तिनीहरूले त्यसलाई जित्छन् जसबाट जीवित प्राणीको मृत्यु हुन्छ । त्यसैले उनको नाम मृत्युञ्जय हो । यो शिव तत्वको आधार हो । शिव प्रारम्भ, अन्त्य र मध्यको प्रारम्भिक केन्द्र बिन्दु हो । शिव तत्व ब्रह्माण्डको रहस्य हो, जसले प्रकृति र मानव बीचको भिन्नतालाई हटाउँछ र यसको एकरूपता स्थापना गर्दछ । शिवले ब्रह्माको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ, विष्णुको रूपमा जीवनलाई प्रवेश गर्नुहुन्छ र शंकरको रूपमा ब्रह्माण्डको अन्त्य गर्नुहुन्छ । त्यसैले शास्त्रमा ब्रह्मा, विष्णु र महेशको एउटै रूपमा प्रकट हुनेलाई शिव भनिएको छ, शिव त्यो परम तत्व हो, जसबाट यो संसारको श्रृष्टि भयो । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगतको लय पनि भैरहेको छ । अर्थात्, संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परम आत्मा हुनुहुन्छ । सारा जगत उहाँबाटै उत्पन्न हुन्छ, त्यसैमा वृद्धि हुन्छ अनि त्यसैमा लय पनि हुने भएकाले शिव नै जगतको आत्मा हुनुहुन्छ अनि शिवलिङ्ग उनै निराकार परम आत्माका प्रतीक हुन् । देवादिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नु पर्दा उहाँ यति व्यापक हुनु हुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन किनकि उहाँ स्वयम् असाध्य हुनुहुन्छ, अपरम्पार हुनुहुन्छ ।
शिवसम्बन्धी अध्ययन मनन् गर्ने सन्दर्भमा धेरै नै विधिहरू छन्, जस्तै धर्म, दर्शन, योग, मन्त्र, तन्त्र आदि । त्यस्तै शिवको आराधना गर्ने सन्दर्भमा पनि विविध विधि छन्, जस्तै– पुजा, ध्यान, ज्ञान आदि । शिवसम्बन्धी गहिरो अध्ययन चिन्तन मनन गर्न धेरै नै कठीन कार्य हो । तर साधारणतया शिवसम्बन्धी अध्ययन गर्ने हो भने उहाँलाई हामीले दुई किसिमले आराधना गर्न सक्छौं । एउटा तत्व र अर्को धर्म–पुरुषको रूपमा । वास्तवमा तत्वको हिसाबले शिव निराकार परमात्मा हुन् भने धर्म–पुरुषको रूपमा शिव साकार महादेव हुन् । धर्म पुरुषको हिसाबले शिव साकार शिवजी वा महादेव हुनुहुन्छ भने संसारमा प्रादुर्भाव हुनु भएर लोक कल्याणका लागि शिवसम्बन्धी ज्ञानको उपदेश दिनु भएर सबैलाई बाटो देखाउनु भयो । उनै धर्म पुरुष शिवसम्बन्धी धर्म प्रचार गर्नु भएकाले नै उहाँलाई शिवजी भनिएको हो । त्यसैले शिवलाई कल्याणकारी शिव भनिएको हो । अनि उहाँ विभिन्न देवका पनि देव हुनु भएकाले उहाँलाई महादेव भनिएको हो ।
भगवान् शिवको साकार रूपको लिलाबाट पनि मनुष्यलाई विभिन्न मार्गदर्शन अवश्य प्राप्त हुन्छन् , यसै सन्दर्भमा एकपटक देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्दा विष निस्केछ, जुन विषले यो संसारकै नाश हुने भएकोले उक्त विषलाई भगवान शिवले पान गर्ने बित्तिकै घाँटी निलो भएकाले उहाँको नाम निलकण्ठ भएको हो । त्यही समयमा ऋषिहरूले यस्तो विष पिएर हजुरलाई कष्ट भएन ? भनी सोधनी गर्दा उहाँले “यो विष त्यति कष्टदायक छैन, जति यो संसार कष्टदायक छ, त्यसैले महाविषरूपी यो संसारबाट मुक्त हुनुपर्छ” भन्नु हुँदै उहाँले सांसारिक दुःखबाट मुक्त हुने उपाय ज्ञानयोग पनि हो भन्ने मार्गनिर्देश गर्नुभयो । त्यस्तै अर्को प्रसङ्ग अनुसार प्रजापति दक्षले रुद्र शिव र सतीदेवी दुवैलाई नबोलाई ठूलो यज्ञ गरे । शिवलाई नबोलाएको हुँदा दधिची मुनीले दक्षको विरोध गर्दै यज्ञस्थल छोडेर गए । यज्ञको कुरा थाह पाएर सतीदेवीले साह्रै चित्त दुःखाएर बाबु दक्षकहाँ गएर हामीलाई किन नबोलाउनु भएको भनेर सोध्नु भयो । दक्षले शिवलाई निन्दा गरे । सतीदेवीले सहन सकिनन् र यज्ञको ज्वालामा हाम्फालेर आफ्नो प्राण त्याग्नु भयो । जसले गर्दा शिव गण र दक्षका समर्थक बीच ठूलो लडाइँ भयो र दक्षको यज्ञ ध्वंश भयो । अन्त्यमा शिवजीले दक्षको पशुत्व मारिदिनु भयो र दक्षले शिवसँग क्षमा मागे । अनि शिवले दक्षलाई अहङ्कारको दुष्परिणामबारे ज्ञान दिनु भयो ।
यस्तै एक पटक भगवान शिव मानसरोवरमा विचरण गरिरहेको समय पारेर अन्धक (जालन्धर) नामक असुरले कैलाशमा आएर पार्वतीलाई हरण गर्ने प्रयास गरेको थाह पाएर महादेव फर्कि आए । शिवले अन्धकलाई ज्ञानको त्रिशुलले मारिदिंदा उनको आत्मा (खराब मन) परिवर्तन भएर उसले पनि महादेवको गुणगान गाउन थालेको प्रसङ्गबाट पनि शिव तत्त्वको बोध हामी गर्न सक्छौं । त्यस्तै फेरि देवताका शत्रु शङ्खचूड दैत्यलाई पनि युद्धमा हराएर उसको अहङ्कार पनि नष्ट गरिदिनु भयो । तर यस प्रकार महादेवको अनुग्रहबाट देवता विजयी भएको कुरा बिर्सेर हामीले नै दानवलाई हराएको भनी अहङ्कार गरेकाले महादेवले देवताले थाह नपाउने गरी यक्षको भेष लिएर देवतालाई पनि उनीहरूको अहङ्कार बोध गराउन ब्रह्म शक्तिको बोध गराउनु भयो र अन्तरध्यान हुनुभयो । यस प्रकार महादेवले लोकमा प्रादुर्भाव भएर विभिन्न क्रियाकलाप गर्दै शिवत्वको प्रचारप्रसार गर्नु भएको कुरा हामीले थाह पाउन सक्छौं ।
खासगरेर महादेवका विभिन्न पक्षमध्ये एउटा महत्वपूर्ण पक्ष समय समयमा उहाँले दिनु भएका उपदेश हुन् । उहाँका विभिन्न उपदेशमध्ये पनि एउटा प्रमुख उपदेश अष्टाङ्ग योगको मात्र अनुशरण गर्न सकेमा हाम्रो जीवन सार्थक हुनेछ । अष्टाङ्ग योगलाई पछि ऋषि पतञ्जलीले लोक कल्याणका लागि प्रचारप्रसार गरे । आज आएर त्यही अष्टाङ्ग योगलाई पतञ्जलि योग भन्न थालियो । अष्टाङ्ग योगको अनुशरण गर्न सकेमा हामीलाई यम, नियम, संयमको ज्ञान भएर आध्यात्मिक ज्ञानको बाटोमा जान सकिन्छ, जसबाट मोक्षको उद्देश्य सहज हुन सक्छ । किनभने यम भनेको ५ वटा कुरा– अहिंसा, सत्य, अस्तेय (चोरेर नलिने), ब्रह्मचर्य र अपरिगृह (चाहिनेभन्दा बढी नलिने) हुन् । अनि नियम भनेको ५ वटा कुरा– शुद्धता, सन्तोष, स्वाध्याय, तप, र ईश्वर प्रणिधान हुन् । त्यस्तै संयम भनेको ध्यान र समाधिको कुरा हो । साधारण मानिस ध्यान र समाधिको बाटोमा जान नसक्लान् तर यम, नियम मात्र पालन गर्न सकेमा हामीले आफ्नो चरित्र निर्माण गर्न सक्छौं । यो आजको समयमा राष्ट्रका निम्ति, समाजका निम्ति नभई नहुने भएको छ । त्यसैले, यस कुरालाई बुझेर भगवान शिवको अष्टाङ्ग योगको अनुसरण गर्ने तर्फ मन दिएर आफ्नो जीवन सार्थक बनाउनु पर्छ । शिवलिङ्ग (निराकार शिवको प्रतीक) वा महादेवको मुहार मात्र संझेर वा उहाँको मूर्तिलाई मात्र नमस्कार गरेर वा अक्षताले पुजा गरेर मात्र शिवलाई खुशी बनाउन सकिदैन। महादेव शिवको उपदेश पालन गर्नु नै उहाँलाई साँच्चिकै संझेको वा स्तुति गरेको ठहर्छ । यही नै वास्तविक शिव उपासना पनि हो ।