© २०२३
काठमाडौं, १८ माघ ।
आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालतमा पेश गरिएको जानकारी दिएका छन्। “बयानका लागि अदालत पेश गरेका छौं। बाँकी काम अब अदालतबाट हुनेछ,” उनले भने।
तामाङविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको आरोपमा अनुसन्धान गरिरहेको थियो। मुलकी फौजदारी अपराध संहितामा आपराधिक उपद्रवसम्बन्धी दफा २६ अनुसार, कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई ५ वर्षदेखि १२ वर्षसम्मको कैद सजाय हुन सक्छ।
यसैबारे, तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका-९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुलको शुल्कको विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। त्यसको तीन दिनपछि, उनले साँगाको झोलुङ्गे पुलको शूल्कको रसिद जलाएर विरोध प्रदर्शन गरिन्। यस विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो।
यसअघि, तामाङलाई अभद्र व्यवहारको मुद्दामा प्रहरीले छानबिन गरेको थियो, र जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रिहा पछि, उनलाई भक्तपुर प्रहरीको जिम्मामा लगिएको छ।