© २०२३
कुनै काम नभएर मन बराल्न र समय कटानीका लागि कोरिएका उद्देश्यहीन रचना प्रगतिशील होइनन् । समाजको आवश्यकतालाई नऔल्याएर केवल भावुकताका मनोवेगहरूलाई अर्थहीन,श्रृङ्खलारहित र योजनाहीन तथा विचार,दर्शन र दृष्टिकोण नराखी रचिएका साहित्य पनि प्रगतिशील हुन सक्दैनन् । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)
समाज र समाजका वर्गहरूलाई केन्द्रीत गरी शोषित वर्गको हितमा अभिव्यक्ति दिने विचार नै प्रगतिशील हुन्छ । माक्र्सवादी दर्शनअनुसार सामाजिक विकृतिको निषेध र सामाजिक पूर्ण न्यायको पक्षमा साहित्य सिर्जना गरिनुपर्छ । ( लुकाज,सन् २०१८,पृष्ठ ५२) त्यसैले भनिन्छ–वर्गीय पक्षधरता नै प्रगतिशील सिर्जनाको मूल वैचारिक पक्ष हो । आलोचनात्मक चेत नै प्रगतिशील साहित्यको आधार हो ।हामी प्रगतिशील छौ कि नाइँ भन्ने कुरा हाम्रा अनुहारले होइन,हाम्रो लेखन र लेखकीय व्यवहारले जनाउँछ । हामीले समाज,समाजमा रहेका हेपिएका,थिचिएका र मूलधारबाट तल पारिएकाहरूलाई मूलधारमा ल्याउन कलम चलाउन सकिएमा पक्कै पनि प्रगतिशीलधारमा आफूलाई उभ्याउन सक्नेछौं । कुरामा माक्र्सवादी,व्यवहारमा पुरातनवादी भएमा पक्कै पनि हाम्रो प्रगतिशील लेखन आन्दोलन शिथिल हुनेछ ।
प्रगतिशील साहित्य भनेको व्यक्तिगत प्रगतिको कुरा नभएर सामुहिक, सामाजिक, आमजनता,मानिसका श्रृङ्खलावद्ध प्रगतिको चरणलाई स्वीकार गरिएका रचना हुन् । यसले भूइँसाहित्यलाई उठान गरेको हुन्छ । देश,दुनियाँलाई जागृत गरेको हुन्छ । सैद्धान्तिकरूपमा प्रगतिवादभित्र प्रगतिशील पर्दछभने प्रगतिवादभित्र प्रगतिशील पर्दैन । प्रगतिशील हुनुको अर्थ प्रगतिवादको एक कदम अगाडिको चरणमा प्रवेश गर्नुमात्रै हो । प्रगतिवादी साहित्य स्वतःप्रगतिशील रहेको हुन्छ । तर सबै प्रगतिशील साहित्य, प्रगतिवादी नहुन सक्छन् । प्रगतिवादको आधारभूत तह प्रगतिशील हो । माक्र्सवादी सौन्दर्यशास्त्रीय वैचारिक उपस्थिति भएका साहित्यलाई प्रगतिवादी रचना मानिन्छ । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)लेखकको वैयक्तिक स्वतन्त्रता रहेता पनि उसले सिर्जना गरेको धारणा स्वतन्त्रतामा सार्थकता र समाजोपयोगी लेखन रहनुपर्छभन्ने माक्र्सवादी कला साहित्यसम्बन्धी धारणा प्रगतिवादी मान्यताभित्र पर्दछ । ( गिरि,२०६९,पृ.४७) २००९ सालमा श्यामप्रसादको नेतृत्वमा प्रगतिशील लेखक संघ,गठन हुनु र संघले आफ्ना गतिविधिहरूलाई नेपाली प्रगतिशील साहित्यमा बलियो आधारशीला खडा गरेको देखिन्छ । आजसम्म आइपुुग्दा सबै बामपन्थी पार्टीहरूको साझा सांस्कृतिक मोर्चाका रूपमा आफूलाई यो संघले उभ्याएको पाइन्छ । कहिलेकाँही संघभित्र कुनै नोकझोक नभएको भने होइनन् । तरपनि बामपन्थी पार्टीहरूलाई दिशानिर्देश गर्न यो संघले वैचारिक भूमिका खेलेको समेत देखिन्छ । बामपन्थीहरूलाई एउटै थलोमा राख्न,साझा विचार बनाउन र सँगसँगै हिडाल्नका लागि यो संघको कार्यभार आजपनि उत्तिकै मूल्यवान देखिन्छ ।
प्रगतिशील लेखक संघले प्रगतिशील विचार राख्नेहरू सबैलाई एउटै डोरीमा बाँध्नुपर्छ । नेपालमा देखिएका विविध खाले आन्दोलनमध्ये प्रगतिशील साहित्यलेखन आन्दोलनलाई अघि बढाउन एकजुट भएर अग्रसर हुनुपर्ने देखिन्छ । समाजमा रहेका अनेकन खालका विभेद,विकृति,विसंगतिका विरुद्धमा प्रहार गर्न प्रगतिशील लेखकहरूले एउटै लेखनीमार्फत प्रहार गर्न सक्नुपर्छ । यसका लागि सबै खाले प्रगतिशील लेखकहरूलाई एउटा बलियो छानामूनि राखेर सोही अनुसार अघि बढ्नु आजको कार्यभार हो । त्यो छाना भनेकै प्रगतिशील लेखक संघ–नेपाल हो ।प्रगतिशील लेखक,कलाकार र साहित्यकारहरू मिलाएर प्रलेस,रूपन्देही गठन गर्नका लागि सम्वत् २०५३ मा रामप्रसाद प्रदीपको संयोजकत्वकमा प्रा.डा.कृष्णचन्द्र शर्मा, प्राज्ञ बूँद राना,प्रा.डा.कपिलदेव लामिछाने र गुरुदत्त ज्ञवाली सदस्य रहेको तयारी समिति गठन भएको थियो । गठित तयारी समितिले प्रा.डा. कृष्णचन्द्र शर्माको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरी रूपन्देही क्षेत्रको प्रगतिशील लेखनलाई आन्दोलनका रूपमा विकास गर्दै प्रगतिशील लेखक, कलाकार र साहित्यकारहरूलाई एकीकृत गर्ने काम गरेको पाइन्छ । विचारहरूमात्र होइन,लेखक,कलाकार,साहित्यकारहरू नै छरिएर रहेको अवस्थामा प्रलेस, रूपन्देही गठन हुनुले पनि प्रगतिशील लेखन आन्दोलनलाई माथि उठाउने काममा कोसेढुंगो सावित भएको पाइन्छ ।
हालसम्म रूपन्देही प्रलेसमा प्रा.डा.कृष्णचन्द्र शर्मा,प्रा.डा.कपिलदेव लामिछाने,प्रा.डा.हिरण्यलाल ज्ञवाली,गोपीरमण उपाध्याय,डा.मुरारि पराजुली,प्रदीप प्रधान,देवेन्द्र घिमिरे,दलबहादुर गुरुङ र कविराज पौडेलले नेतृत्व गरिसकेका छन् । प्रगतिशील साहित्यको लेखन आन्दोलनलाई विभिन्न कालखण्डमा यिनीहरूको नेतृत्वले अग्रगामी मार्ग पक्डेको पाइन्छ । आगामी फागुन ३ गते हुने संघको १० जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै यस क्षेत्रको प्रगतिशील साहित्यलेखनको यात्रालाई अघि बढाउन पहल गर्नुपर्ने छ ।