© २०२३
एकपटक फेरी काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्ड अनुसार नेपाल थाइल्याण्डको चियाङमाई पछिको दोश्रो प्रदुषित सहरको सूचिमा परेको हो । आईक्युएयरका अनुसार नेपालको संघीय राजधानी काठमाण्डौंको प्रदुषणस्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ । आईक्युएयरको रिपोर्टले मात्रै होइन, केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरू जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालकै वन जंगलमा समेत आगलागीका धेरै घटना भएका छन । मौसम शाखाका अनुसार अहिले नेपालकै धेरै पहाडी जिल्लाहरूमा वन डढेलो लागिरहेको अवस्था छ । अर्कोतर्फ उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेकोले नेपालमा बायु प्रदुषणको स्तर धेरै माथि पुगेको छ । अझै केही दिन पानी नपर्ने अवस्थामा तुवाँलो नहट्ने हुँदा सवै सचेत बन्नुपर्ने अवस्था छ । पछिल्ला केही दिनयता राजधानीमा विकराल बनेको वातावरण प्रदुषणको समस्या हटाउन सम्बन्धित निकायबीच समन्वय जरुरी छ । एकातिर वन जंगलमा आगलागीका घटना बढेका छन भने अर्कोतिर वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको छ । सरकारले पुराना सवारीलाई प्रतिबन्ध लगाउन सकेको छैन । अर्कोतर्फ तुवाँलो र बायु प्रदुषणले मानिसको स्वास्थ्यमा गंभीर असर पुग्ने देखिएकोले सवै सचेत हुनुपर्ने अवस्था आएको छ । बायुमण्डलमा रहने धुलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर समेत हुने गरेको पटकपटक स्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले औंल्याउँदै आएकोले अव सचेत हुनुपर्ने बेला आएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वमै बायु प्रदुषण बढेको औंल्याउँदै औद्योगिकरण, डढेलो, पुराना सवारीका साधन लगायतका कारण विश्व मानवजगत असुरक्षित बन्दै गएको भन्दै चेतावनी दिएको छ । बायु प्रदुषणका कारण संक्रमितहरूको संख्या वर्षेनि थपिँदै गएको छ । विज्ञहरूका अनुसार नेपालमा वार्षिक १५ हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरको प्रदुषण ५ गुणाले बढिरहेको छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलँदै गएको बाताबरणबिदहरूले औंल्याएको अवस्थामा अव पूर्व सतर्कता अपनाउनु जरुरी छ । वातावरणबिदहरूको भनाइमा शहरी क्षेत्रमा बसोबास गर्ने विश्वका करिब ८० प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदुषणको शिकार भइरहेका छन् । पछिल्लोपटक विश्व स्वास्थ्य संगठनले औंल्याएको काठमाण्डौं सहित देशका विभिन्न सहरको बायु प्रदुषणको स्तरले चिन्ता उत्पन्न गरिदिएको छ । खासगरी भारतका विभिन्न सहरमा फैलिएको प्रदुषण हावाको माध्यमबाट नेपालमा फैलिएको छ । हावालाई रोकेर सकिदैन तसर्थ भारतको बायु प्रदुषणको असर नेपालमा परेको छ । प्रदूषणले मानव स्वास्थ्यका अतिरिक्त कृषि क्षेत्रमा समेत नकारात्मक असर पुगेको छ । कृषि उत्पादन समेत घटाउने गरेको तथ्यांक छ । अतः डरलाग्दो गरि सार्वजनिक भएको बायु प्रदुषणबाट थोरै भएपनि बच्नेतर्फ हामी सवैको ध्यान पुग्नु जरुरी छ । बायु प्रदुषण न्यूनिकरणका लागि सरकारले अहिलेदेखि नै प्रयास गरेन भने भोलीको दिनमा यो गंभीर समस्या हुनेछ । मानव जीवनकै लागि जोखिम बनिरहेको प्रदुषण नियन्त्रणको उपायको खोजी जरुरी छ ।