© २०२३
यो लेखमा बौद्ध धर्ममा महिलाको स्थानबारे चर्चा गरिएको छ । बुद्ध स्वयंले महिलाको स्थानबारे के भने ? अन्य वुद्धमार्गीले के भने ? महिलावादी सिद्धान्तले सोही विषयवस्तुलाई कसरी अथ्र्याउँछ ? भन्ने प्रश्नका उत्तरहरू यो लेखमा समावेश छ । लेखमा तत्कालीन समयमा महिलालाई पुुरुषको ध्यान भङ्ग गर्ने बस्तुको रूपमा रहेको जानकारी छ । यो मान्यतालाई वुद्धले महिलाहरू भावमही हुुन्छन् र ध्यान गर्न सक्छन अनि केही महिला निर्वाण प्राप्त गर्न सक्षम छन भनी बदलिदिएका छन । वुद्धग्रन्थ थेरिगाथामा यो कुराको चर्चा गरिएको छ । दलाई लामाले पनि महिलालाई प्रेम र शक्तिका स्वरूप मानेका छन् । यति हुँदाहुँदै पनि आजसम्म महिला लामा नबनेको कुरा उजागर गरिएको छ । निचोडमा बुद्ध धर्ममा नारीको स्थान पहिल्याउन नारीवादी समालोचनात्मक चिन्तन प्रस्तुुत गरिएको छ ।
बुद्धको विचार कसरी बन्यो ?
विचार शब्दबाट बन्छ । शब्दको फेरोभित्र हाम्रा विचारहरू बन्दछन् । जुन जुन प्रकारको शब्द हामीमा भरिन्छ त्यहि विचार बन्दछ । त्यसैले हरेक व्यक्ति फरक फरक विचारको हुने गर्दछ । बुद्धले बुढ्याइँ, रोग, तथा मृत्यु बुद्धले सुनेका शब्द हुन । उनले देखेका घटना पनि हुन । त्यसैले उनका चिन्तनहरू तीनै शब्दका वरिपरी घुमेका छन । उनका देशनाहरू पनि त्यसैको मुक्तिका लागि समर्पित छन् ।
गौतमबुद्ध नगर घुम्दै जाँदा बाटोमा रोगी, बृद्ध र मृत्यु भएको मानिसलाई देखेर उनको मनमा यो कसरी हुुन्छ ?मान्छे कसरी यो अवस्थामा पुग्छ ? के जीवनको अध्याय यति छोटो छ भन्ने सोच विचार आयो । यहीबाट सघन विचार गर्दै जाँदा बुुद्धमा चिन्तनको सुरुवात भयो । उनले यो समस्याको समाधानको उपाय के छ ? भनेर खोजी गर्न थाले । एक दिन ज्ञानको खोजीमा दरवारबाट बाहिर निष्किए । ६ बर्षसम्म कठोर तपस्या गरि बुुद्धत्व प्राप्त गरे । त्यसपछि बुुद्ध आफूलाई प्राप्त भएको ज्ञानको प्रचार प्रसारमा हिँड्छन् । उनको दर्शन र प्रबचनबाट उनकी आमा महाप्रजापती प्रभावित हुुन्छिन र आफूपनि बुद्धले प्रसार गरेको ज्ञान अनुरूपको आचरण र व्यवहार अनुसरण गर्ने प्रतिज्ञा गर्दछिन । यस घटनाले पनि बुुद्धको मस्तिष्कमा पुुरुषको लागि मात्र बौद्ध विहार निर्माण गरेर हुँदैन । महिलाका लागिपनि निमार्ण गर्नुपर्छ । किनकि पुरुष र महिलालाई सँगसँगै विहारमा राख्दा कामवासनातिर ध्यान जाने र त्यसको परिणाम स्वरूप ध्यान भङ्ग हुन सक्ने कुरामा उनी सचेत थिए । यस घटनाले बुद्धमा महिलाप्रति चिन्तन गर्ने थप ज्ञानको सुरुवात गरायो ।
वुद्धले देखेका रोगी मानिस हामीले पनि देखेका छौं । बुढो मानिस पनि देखेका छौं । मरेको मानिस पनि देखेका छौं । तर हामीले यसबारे सोचेका छैनौं । ती कुरालाई चिन्तनमा ल्याएका छैनौं । यस अर्थमा हामी चिन्तक बनेनौं । वुद्धलाई त्यही कुराले चिन्तक बनायो । खोजक बनायो । वुद्धले रोग, बुढ्याइँ तथा मृत्युको बारेमा सांज्ञानात्मक खोज गरे । दुुःख, रोग, बुढ्याइँ तथा मृत्यु एउटा विषयवस्तु हो । उनले यस्ता अनेकौं कुराको खोजी गरे । वुद्धले पनि समस्या समाधानका लागि नैं चिन्तन गरे । उनको समस्या ब्यक्तिगत थिएन । सार्वजनिक थियो । वुद्धको सार्वजनीक समस्याको समाधान खोज्ने चिन्तनले उनलाई महान बनायो ।
बुद्ध संघमा महिला कसरी प्रवेश गरे ?
सारनाथमा दिएको वुद्ध देशनालाई उनको संघमा महिला प्रवेशको आधार मान्न सकिन्छ । बुद्धले देशना दिन थालेको धेरै वर्षसम्मपनि उनको संघमा महिलालाई प्रवेश थिएन । त्यतिबेलाको समाजमा महिलालाई दोयम दर्जाको पनि मानिन्थ्यो । पुरुषलाई चाहिँ अब्बल दर्जाको ठानिन्थ्योे । स्त्रीले पुरुषको मन बिचलित गरिदिन्छन् । उनीहरूको गन्ध, आवाज, स्पर्शमात्रले पनि ध्यानस्थ पुरुषलाई विचलित गराइ दिन्छ । उनीहरूले मोहमा फसाउँछन् । वुद्ध सुत्तमा उल्लेखित “अगुत्तर निकाय एक कनिपात रूपादिवर्ग एक” पालीभाषाको यो वाक्यले दिने सन्देश यही हो । यसैले बुद्धले लामो समयसम्म महिलालाई दीक्षित गरेनन् । तर वुद्धको चेला आनन्दले भनेपछि उनले आमा, श्रीमती, नन्दा तथा आम्रपालीलाई देशना दिएका थिए । यसरी देशना दिंदापनि स्त्री बुद्ध बन्न सक्दैन्न भन्ने मान्यता तत्कालीन समाजमा थियो । त्यसैले बुुद्धले महिलाहरूलाई संघमा प्रवेश गराउन ५ वटा आधार बनाए । ती आधारहरू यस प्रकारका थिएः
वुद्धले बौद्ध संघमा सामिल हुनको लागि महिलालाई अधिकार दिए ।
बुद्धले संघमा महिलालाई नेता बन्ने अधिकार पनि दिए ।
कुनैपनि पुरुषको समर्थन बिना स्वतन् त्रभएर महिलाले आफ्नो व्यक्तित्व विकास गर्न सक्छिन भन्ने चिन्तन दिए ।
उनले परिवारको लागि छोरा जन्माउनु पर्ने धारणलाई तोडिदिए ।
महिलालाई शिक्षा र राजनीति आवश्यक छ भन्ने मान्यता स्थापित गरिदिए ।
महिलालाई संघमा प्रवेश गर्नकालागि वुद्धले बनाएका आधारमा केही सीमाहरू प्नि थिए । उनले बौद्ध संघमा सामेल हुन महिलाको उमेर बीस बर्ष हुनुपर्ने, ऋणबाट मुक्त हुनुपर्ने, राजाको सेवा गरेको हुनु नहुने, बा आमा जीवित भए उनीहरूको स्विकृति लिनुपर्ने, विधिवत बस्त्र र भिक्षापात्र प्रदान गर्नुपर्ने, दीक्षित भिक्षुणीले कडा अनुशासनमा बसेको हुनुपर्ने । तात्कालीन सामाजिक परिवेश तथा महिलाको स्वभाविक गुणलाई लिएर वुद्धले यो सीमा तोकेका थिए ।
नारीवादी चिन्तनमा बौद्धमार्गी महिला को हुन ?
नारीबादी दृष्टिकोणबाट हेर्दा तत्कालीन महिलाको धार्मिक स्थिति, घर र सामाजिक परिवेश अन्य धर्ममा भएका महिलाको भन्दा अब्बल देखिन्छ । उनीहरूले प्राप्त गरेको अनुभवपनि फरक देखिन्छ । बनार्ड र मिराशा जस्ता विद्वान यस कुरामा सहमत छन । उनीहरूको भनाइमा लैङ्गिक मुद्दाको सम्वोधन गर्ने कुरामा बौद्ध अध्ययन प्रारम्भिक अवस्थामा छ । यसका लागि उनीहरूले सन् १९९४ मा महिलाको स्थिति कस्तो थियो भन्ने उदाहरण दिएका थिए । उनीहरूको दाबी थियो कि भारतीय तान्त्रिक बौद्ध धर्ममा महिलाको विषयमा गम्भिरतापूर्वक हेरिएको छ । तिव्वती बौद्ध धर्मकी महिला लामा खाद्रो रिम्पोछे भन्छिन– कि बौद्ध धर्ममा महिलाको कुरा हुन्छ । बौद्ध धर्मको बारेमा पनि चर्चा हुन्छ । यसको सन्देश हो — बौद्ध धर्ममा महिला महŒवपूर्ण विषय हो । छब्बीससय वर्षंदेखि महिला संघ सञ्चालनमा रहनु यसको उदाहरण हो । अर्थात अहिलेको महिला संघ नयाँ अवधारणा होइन । यसरी विचार गर्दा स्त्री सिद्धान्त बरावर पुरुष सिद्धान्तको स्थापनालाई बुद्धले प्राकृतिक रूपमा स्वीकारेका छन । त्यसैले बुद्धमार्गी महिलाका बारेमा उनी भन्छन— महिला र पुरुष एकअर्काका पूरक हुन । प्रतियोगी पनि होइनन, विरोधीपनि होइनन् । दुबैको उत्तिकै महत्व छ, दुबै अपरिहार्य पनि छन् ।
दलाई लामाको चिन्तनमा महिला को हुन ?
दलाई लामाले महिलालाई प्रेम र शक्तिका स्वरूप मानेका छन । १४ औँ दलाई लामाले सन् २००७ मा हेम्बर्ग विश्वविद्यालयमा बौद्ध धर्ममा महिलाको स्थितिमा प्रवचन दिए । उनले भने कि परम्परागत रूपमा पुरुषले नैं युद्ध गरेको देखिन्छ । किनकि पुरुष व्यवहार आक्रमक हुन्छ । उसको शरीर पनि त्यसरी नैं बनेको हुन्छ । महिलाको स्वभाव भने अधिक हेरचाह गर्ने खालको हुन्छ । उनीहरू अरूहरूको दुःख कष्ट तथा पीर मर्काप्रति संवेदनशील हुन्छन् । यसैले बौद्ध धर्मले महिलाको मैत्री तथा करुणाभाव खोजेको हुन्छ । उनले यो पनि भनेका छन कि यदी विश्वका अधिकांश नेता महिला भए सायद युद्धको खतरा कम हुने थियो । विश्व भातृत्वको भावना बढने थियो । सम्भवतः अव दलाई लामा महिला हुन सक्छिन् ।
लेखको निष्कर्ष के हो ?
यो लेखको पहिलो निष्कर्ष हो– विचार समाज र परम्पराबाट आउँछ । घर, परिवार र समाजले सानो बालकको दिमागमा शब्द हालिदिन्छन त्यो नै विचार बन्दछ । जव बुद्धले रोगी, बृद्ध, मरेको मान्छ देखे बुद्धको मनमा चिन्तन सुरु भयो । चिन्तन वा विचार विना कुनैपनि समस्याको समाधान हुन सक्दैन । सिद्धार्थ गौतम आफैलाई चिनेर बुद्ध भएको हुन । हामीले पनि आफैलाई चिन्नुपर्छ । बुद्धले अप्पदीपो भवः भनेको त्यही हो ।
दोश्रो निष्कर्ष हो– बौद्ध संघमा महिला स्वतन्त्र भएर व्यक्तित्व विकास गर्ने मौका पाए । सवै बर्गबाट आएका महिलालाई बौद्ध संघमा समान व्यवहार थियो । बुद्ध धर्ममा महिला विद्वान, विदुषी बनेका थिए । महिला भावमयी प्रज्ञा भएकाले उनलाई वेग्लै ध्यान चाहिन्छ । महिलाले भावमयी हुँदाहुँदै पनि ज्ञान तथा निर्वाण प्राप्त गर्न सक्छन् । महिलालाई शिक्षा र राजनीति सिकाउनु पर्छ । महिलामा विभेद गर्नु हुदैन । महिलाले पनि “अप्पदीपो भवः” लाई पालन गर्नुपर्छ । महिलाबारेको बुद्धको सन्देश यही हो ।
हरैया बहुमुखी क्याम्पस, रूपन्देही