© २०२३
जितपुर, ११ मंसिर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरूभित्रका पाँच विपन्न परिवारलाई आवास निमार्ण गरिदिएको छ । वनले एक कार्यक्रमका विच ताला र चाबी सहित घर हस्तान्तरण गरेको हो । वनले आवास हस्तान्तरण गरेपछि ती परिवारहरू अब सुरक्षित र व्यवस्थित घरमा बस्न थालेका छन् ।
मधुवनका अध्यक्ष शान्त विक्रम पौडेलका अनुसार आवास निर्माणका लागि सामुदायिक वनले कुल १४ लाख ९२ हजार ८ सय ४५ रूपैयाँ खर्च गरेको छ । निर्माण गरिएको घरमध्ये मञ्जु विकको घर निर्माणमा २ लाख ८० हजार ४८ रूपैयाँ, फर्सुराम विकको घरमा २ लाख ९८ हजार ८ सय ६८ रूपैयाँ, मान बहादुर रानाको घरमा ३ लाख ७ सय ५४ रूपैयाँ, थमा सारुको घरमा २ लाख ८९ हजार ४ सय ७३ रूपैयाँ, र बुनु राईको घरमा ३ लाख २३ हजार ७ सय ८ रूपैयाँ लागत लागेको छ ।
साथै, टोल नम्बर ५ मा एउटा घर मर्मत र अर्को घर निर्माणका लागि टिन उपलब्ध गराउँदा ६८ हजार ४ सय ४० रूपैयाँ खर्च गरिएको छ । यो प्रयासले मधुवन सामुदायिक वनको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
घर हस्तान्तरणसँगै परिवारहरूले आफ्नो जीवनमा आएको सकारात्मक परिवर्तनप्रति खुसी व्यक्त गरेका छन् । “सामुदायिक वनले भगवानजस्तै वरदान सावित भएको छ,“ घर पाएका परिवारहरूले भने । उनीहरूले सामुदायिक वनको प्रयासलाई स्थानीय सरकारको तुलनामा प्रभावकारी र सहयोगी भन्दै प्रशंसा गरेका छन् ।वनका अध्यक्ष पौडेलले सामुदायिक वनले विपन्न परिवारहरूको आवास समस्या समाधान गर्न सधैं अग्रसर रहने प्रतिवद्धता जनाए । साथै, वनको गतिविधिले समुदायमा सहयोग, एकता र विकासको नयाँ अध्याय थपिएको छ ।