© २०२३
दाङ,१० मङ्सिर । अखिल नेपाल महिला संघ दाङले महिला विरुद्ध हिंसा निराकरण गर्न, पीडितलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अनेम संघ जिल्ला अध्यक्ष लक्ष्मी शर्मासहितको टोलीले सोमबार दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालमार्फत नेपाल सरकारका गृहमन्त्री समक्ष ज्ञापनपत्र बझाएको हो ।
महिला विरुद्ध भएको हिंसाले महिलाहरुलाई मात्र नभई परिवार, समाज र सिंगो मुलुकलाई नकारात्मक असर पारेको बताउँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा पुग्न हिंसाको न्यूनीकरण र निराकरण आवश्यक रहेको स्मरण गराएको छ । अधिकांश मुद्धामा सामाजिक, राजनीतिक दबाव, अनुसन्धान कार्यमा उदासिनता, ढिलासुस्ती, पीडकले सजाय पाउने अवस्था नदेखिनुले कानून कार्यान्वयनमा अझै समस्या देखिएको भन्दै कानूनको अक्षरश कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।
संविधान र कानूनी शासन व्यवस्थाको कार्यान्वयन गर्दै हिंसारहित वातावरणको सृजना गर्न राज्यले कडा कदम चाल्न मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकायको रुपमा गृहप्रशासनले तदारुकता देखाउन ज्ञापन पत्रमार्फत जोडदार माग गरिएको छ ।
नेपाल प्रहरीमा दर्ता भएका घटनाको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा महिला विरुद्धको हिंसाको अवस्था भयावह छ । जबर्जस्ती करणीका २ हजार ५ सय ७, जबर्जस्ती करणी उद्योगका ४ सय ६०, बालबालिका माथि हुने यौन दुर्वव्यहारका ३ सय ६३, यौन दुव्र्यवहारका १९, घरेलुहिंसाका १६ हजार ४ सय १६, बोक्सी आरोपका २३, बालविवाह ५२, मानव बेचबिखनका १ सय ६६, दाइजो सम्बन्धी हिंसाका १० घटनाहरु रहेका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले हिंसारहित समाजको निर्माण गर्दै विधिको शासन स्थापनाका लागि प्रतिवद्धता जनाएका थिए ।