© 2026
सल्यान ।
दीपावली पर्वलाई स्वच्छ, सफा र व्यवस्थित वातावरणमा मनाउने उद्देश्यले सल्यानमा सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको निर्णय अनुसार जिल्लाका सार्वजनिक स्थल सरसफाइ गर्ने अभियान सुरु गरिएको हो ।
जस अनुसार बिहीबार कपुरकोट गाउँपालिका, ३ स्थित मूलपानी बजार र नजिकै रहेको शिवालय मन्दिर तथा गुफा परिसरमा सरसफाइ गरिएको छ ।
कपुरकोट गाउँपालिका–३ का वडा सदस्य टेकबहादुर पुनको अगुवाइमा भएको सरसफाइ कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका कर्मचारीलगायत स्थानीयको सहभागिता रहेको थियो । मूलपानी बजार, शिवालय मन्दिर तथा गुफा आसपासको क्षेत्रमा फोहोर सङ्कलन तथा व्यवस्थापन गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिए ।
सार्वजनिक स्थलको स्वच्छता कायम राख्नु सबै नागरिक तथा निकायको साझा दायित्व भएको सन्देशसहित सञ्चालन गरिएको अभियानले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थलहरूको संरक्षण र सरसफाइमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक स्थानलाई सफा र सुन्दर राख्न सबै नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिँदै डा. पाठकले सरसफाइ अभियानमा सहभागी वडा सदस्य, कर्मचारी तथा अन्य सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।