© २०२३
आफन्तको छोरीको विवाहमा सहभागी हुने अवसर मिल्यो सायद एक बर्ष अगाडी हो जस्तो लाग्छ । वैवाहिक कार्यक्रम अगाडी बढीरहेको थियो । अन्तिममा पारिवारिक परिचय चल्यो । परिवारका घरमुली यानेकी दुलहीका हजुरबाबुले परिचय दिँदै परिवारका सदस्यहरूलाई चिनाउँदै गए । जेठो छोराबाट शुरु नगरी उनी ह्वात्तै छोरी तर्फबाट गए । उनी मेरी जेठी छोरी हाल अमेरिकामा सपरिवार बस्छन् । उनी माहिली छोरी यारी लण्डन छन्, कान्छी युनीसा क्यानडा । माहिलो छोरा सपरिवार अष्ट्रेलिया र कान्छो जर्मनीको इन्जिनियर । सायद जेठो छोरा काममा व्यस्त भएर र पाहुनाको व्यवस्थापन गर्दै भएर हो परिचयका लागि अगाडी आउन भ्याएनन् । विवाहको प्रकृया झण्डै अन्त्य हुँदै थियो । दुलहीलाई गाडीमा चढाइयो । हात हल्लाउँदै विदाई गरियो । दिनभरि भोकै बसेका ७२ बर्षका बुढा बा नातिनीको कन्यादानको लागि खटिरहेका थिए । सुगर र प्रेसरको नियमित औषधी सेवन गर्थे । आज घरमा भएको भिडभाड र चहलपहलमा आफ्नो ख्याल राख्न सकेनन् । जेठो छोरा बुहारीलाई पाहुनापाछा र कामले उछार थिएन । अरू भाईहरू, दिदी बहिनीहरू सबै आफ्नै छोराछोरी र आफ्नो मेकअपको मेन्टेन गर्न र सेल्फीमा व्यस्त थिए ।
विवाह सम्पन्न भयो । भोलिपल्ट टाढाका सबै इष्टमित्र विदाई भए । लगभग १२/१३ दिनपछि जेठो छोराको परिवार बाहेक सबै आ– आफ्ना बासस्थान भएका देशतर्फ लागे । घरका बुढा भएका बाबु विदेसबाट लामो समयपछि आएका छोराछोरी र नाति नातिनाको रमाइलो माहोलमा आफ्ना कष्ट पीडा भुलेर बसेका थिए । सबै गएपछि उनलाई व्यथाले च्याप्यो । जेठो छोरा र नाति (जेठाको छोरा) ले उनलाई मनिपाल शिक्षण अस्पताल पु¥याए । उनको उपचार शुरू भयो । लगभग १५ दिनपछि त उनको होस पनि हरायो । उता विदेसबाट माईला र कान्छाले जेठालाई हकार्न थाले “पैसाको कमी छैन, खुरुक्क काठमाडौ लगेर उपचार नगरेर किन त्यहाँ कुरेर बसेको ? बुबालाई मार्ने भयौ हैन ?“दिदीबहिनी पनि भन्न थाले दाई पैसाको चिन्ता छैन बाबालाई उपचारको कमी हुन नदिनु । यता जेठालाई घर, गाईभैसी, बुबाको अस्पतालको खटाई सबै गर्दा आँफै विरामी हुने अवस्था थियो । छोराको काठमाडौंको विएस्सीको पढाइ पनि चौपट भएको थियो । एक महिना भो अस्पतालको बसाई बुढा बा भेन्टिलेटरमा छन् । जेठाको मन बुबाको अवस्था सुधार होला भन्नेमा विश्वस्त थिएन । विदेसबाट अनुमानका भरमा विभिन्न सुझावको बर्षा भएको थियो । भर्खर विवाहमा सबै परिवार आउने जाने गरेकोले पैसा खोजेर चलाउनु पछि सबैलाई खर्च बाँडौला भन्ने निष्कर्ष आयो । ४५ दिनमा बुढाले संसारबाट विदा लिए । विदेसमा भएकालाई खवर भयो । उताबाट खवर आयो बुबाको अन्त्येष्टीमा कन्जुस्याइँ नगर्नु राम्रोसँग दानपुण्य पनि गर्नु हामी सबै बार्षिकीमा आउँला ।
घरमा शव ल्याइयो अन्त्येष्टीको तयारी भो । गाउँ, छिमेक जम्मा भए । एकनासले उल्टे शंख बज्न थाले । म पनि मलामी जान आफन्तकोमा पुगेँ । एकातिर घर परिवारको रुवाई र शंखको आवाज थियो, अर्कोतिर मलाई बैवाहिक कार्यक्रममा बुढा बाले गराएको परिचय याद आइरहेको थियो तर मैले त्यो परिचय भन्दा शंखको आवाज र परिवारको रुवाई महत्वपूर्ण लागिरहेको थियो । यो मेरो मनमा उब्जिएको काल्पनिक कथा हो । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।