© २०२३
तिलोत्तमा नगरपालिकाले विगत ४ वर्षदेखि पालिकालाई खुल्ला प्लास्टिकमुक्त घोषणा गरेको छ । प्लास्टिक मात्र हैन कुनैपनि प्रकारका फोहरलाई खुल्लारूपमा फाल्न, थुपार्न, जलाउन नपाउने नियम तिलोत्तमाले कार्यान्वयनमा ल्याएको छ । गाउँ टोलमा हुने पाक्षिक सरसफाई अभियान, नगरपालिकाले गर्ने सफाई महाअभियान र नागरिकमा फोहरमैला विरुद्धको चेतनाले गर्दा पालिकाभरि स्थानीय वासिन्दाहरूले आफुले उत्सर्जन गरेको फोहरलाई खुल्ला रूपमा नफाली फोहर ल्याउने गाडीमा नै हालेर पठाउने गर्छन् । स्थानीय वासिन्दा र पालिकाले अथक प्रयास गरेपनि मुख्य सडकमा प्लास्टिकजन्य फोहरहरू छरिएको देखिन्छ । सडकमा गुड्ने सवारी साधनमा यात्रा गर्ने मानिसहरूले लापरवाही ढंगले फोहरजन्य वस्तुहरू सडकमै फ्याकिदिने गरेकोले मुख्य सडक र बाटोहरूमा प्लास्टिकका प्याकेट, बोतलहरू देखिन्छन् । भैरहवा, बुटवल, विरगञ्ज, नेपालगञ्ज, तानसेन जस्ता पुराना शहरहरूमा त सडक किनारमा निरन्तररूपमा फोहरमैला थुपारेको देख्न सकिन्छ । सडकमा थुक्नु, घरको फोहर पानी फाल्नु, फोहर फाल्नुलाई यात्री र सडक छेउछाउका वासिन्दाहरूले अधिकार सम्झदा शहर र घना वस्ती भित्रमात्र नभएर परपर सम्मका सडकहरू कुरूप र दुर्गन्धित भएको देख्न सकिन्छ ।
पछिल्लो दशकमा नेपालमा सवारी साधनहरूको संख्यामा अकल्पनीय रूपले वृद्धि भएको छ । वि.स. २०६३ असार मसान्तमा नेपालमा ५ लाख ३७ हजार ४३९ वटा सवारी साधनहरू रहेकोमा त्यसको २०८० मा आइपुग्दा दर्ता भएका सवारी साधनको संख्या ५५ लाख २६ हजार १९२ पुगेको यातायात व्यवस्था विभागको तथ्यांकमा उल्लेख छ । यी सवारी साधनहरू गुड्नको लागि वि.सं. २०८० फाल्गुणसम्म सडक विभाग अन्तर्गत देशमा ३४ हजार २४७ किमी सडक संघिय सरकार मार्फत तयार भएको छ र स्थानीय निकाय अन्तर्गत त्यो भन्दा दोब्बर लामो सडक तयार भएको छ । यी बाहेक सवारी साधनहरू गुड्ने ग्रामिण सडकहरू धेरै नै छन् । यी सडकहरूमा दिनहुँ लाखौ सवारी साधनमा लाखौ मानिसहरूले यात्रा गर्दछन् । यात्रा गर्ने क्रममा थुक्नु, वान्ता गर्नु, गाडीमा खाएका वस्तुका बोक्रा र प्याकेटहरू, तथा पेय पदार्थका बोतलहरू, चुरोटको ठुटो बाटोमा फ्याँक्नु यात्रीहरूको सामान्य ब्यवहार नै हुने गरेको छ । मानव वस्तीहरू नभएका राजमार्ग छेउछाउ हेर्दा देखिने फोहरमैलाबाट यो कुराको सहजै पुष्टि हुन्छ । सवारी साधनमा यात्रा गर्ने मानिसहरूको लापरवाहीको कारणले सडकमा फोहरमैला बढेको भएपनि सडक फोहर हुनु र सडक सुन्दरता कुरूप हुनुमा सवारी साधन र तिनका यात्रुहरू मात्र जिम्मेवार छैनन् । अचेल सडक किनारा सडक छेउछाउका मानिसहरूको फोहर फ्याँक्ने ठाउँ भएको छ । त्यसैगरी सहर बजार र औद्योगिक र व्यापारिक प्रतिष्ठानबाट उत्पादन हुने फोहरमैलालाई पनि संकलन गरेर जंगल क्षेत्रका सडक किनारमै फाल्ने क्रम बढ्दो छ । सडक किनारमा ब्यापार गर्नेहरले समेत सडेगलेका वस्तु र फोहर सडकमै फालेर हिड्ने गर्दछन् । सडक दुर्घटनामा परेर मरेका जीवजन्तुहरू मात्र नभएर घरपालुवा जनावरहरू पनि मरेपछि सडक किनारमै ल्याएर फ्याक्ने देखि लिएर सडकमै गाईवस्तु बाँध्ने र सडक किनारमै मलमुत्र त्याग गर्ने सस्कार पनि तराईका सडकहरूमा यात्रा गर्दा देख्न पाइन्छ । यसैगरी विभिन्न आन्दोलनको बहानामा सडकमा बालिने टायर, सवारी साधनहरूबाट पोखिने मोबिल र तेल, गाडीका खीईएका टायरका टुक्राहरू, रबर र प्लास्टिक, पुराना तारहरूले समेत सडकलाई प्रदुषित बनाएको देख्न सकिन्छ ।
मानव वस्ती भित्रका सडकहरू फोहर हुदा प्रत्यक्ष रूपमा त्यहीका वासिन्दाहरूलाई असर पुग्ने गर्दछ । सवारी साधनबाट अन्य प्रक्रियाले सडक किनारमा फोहरमैला फ्याक्दा त्यस्ता फोहरमैला छेउछाउको जमिनमा थुप्रिदै जान्छन जसले गर्दा सडक किनारका बोटबिरुवाको वृद्धि विकासमा नकारात्मक असर पुग्छ । सडकमा फ्याकिएका फोहरले पैदल यात्रुलाई चिप्ल्याउने, सडक दुर्घटना बनाउने र हिडडुललाई असहज बनाउने गर्छन । सडक र सडक किनारमा थुप्रिएका फोहरले वातावरणिय सुन्दरता नष्ट गर्छ, जसले सडकमा यात्रा गर्ने व्यक्तिहरूलाई गम्भीर असर नपारेपनि कुनै स्थानको बारेमा नकारात्मक धारणा बनाउन मद्दत पुग्छ । खासगरी पर्यटकीय क्षेत्रका र ति क्षेत्र जाने सडकहरू फोहर भएमा पर्यटकहरूले नकारात्मक संदेश लैजाने भएकोले पर्यटन व्यवसाय मै ठुलो असर पुग्ने गर्दछ । नेपालमा हरेक वर्ष डढेलोका घटनाहरू वृद्धि हुनुको एउटा कारण सडक किनारको फोहरमैला पनि हो । सडकमा यात्रा गर्ने मानिसहरूले प्लास्टिक, कागज जस्ता छिटो आगो सल्कने वस्तुहरू फ्याक्ने गर्दछन् । गर्मि याममा सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले चुरोटका ठुटाहरू ननिभाई सडक किनारमा फ्याने गर्दा सडक किनारमा आगलागी हुन्छ, जुन डढेलोको रूपमा जंगलमा फैलिदै जान्छ र ठूलो विनाश निम्त्याउछ । सरकारले धैरै पटक सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने सूचना गरिसकेको छ र यातायात व्यवसायीका संघ संस्थाहरूले प्रतिवद्धता समेत जनाईरहेका छन् । लामो दुरीमा चल्ने सार्वजनिक बसमा डस्टविन राख्ने र यात्रीलाई सवारी साधनबाट फोहर फ्याँक्न नहुने सूचना समेत दिने गरिएको छ । बस कर्मचारीले बस भित्र फोहर फाल्न नदिने तथा बसबाट बाहिर फोहर फाल्न नदिने गरेपनि बसभित्र संकलन भएको फोहरलाई वन क्षेत्र वा अन्य एकान्त स्थानमा पुगेर सडक किनारामै फालेर भाग्ने गरेका छन् । नीजि सवारी साधन र लोकल बस, ट्रक, टेम्पु, ई रिक्सा जस्ता सवारी साधनमा यात्रा गर्नेहरूले सुर्ति, खैनी, तम्बाखुका पाउच, चाउचाउ, बिस्कुटका खोल, पेय पदार्थका बोतललाई सडकमै यत्रतत्र फाल्ने गरेको देखिन्छ । सडक निर्माण र मर्मतको क्रममा सडक किनारामा थुपारिएका सामग्रिहरू बेलैमा नहटाउँदा पनि सडकहरू फोहर देखिने गरेका छन् ।
सडक सार्वजनिक सम्पत्ति हो । यसलाई सफा र सुरक्षित राख्नु नागरिक कर्तब्य समेत हो । फोहरमैला ब्यवस्थापन राष्ट्रिय नीति २०७९ ले सडक अधिकार क्षेत्रमा फोहरमैला फाल्न पुर्ण प्रतिबन्ध लगाउने नीति अबलम्बन गर्ने बताएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ११२ , ११३ ,१४९ र १५० ले सडक प्रदुषित गर्ने, बिगार्ने कार्यलाई अपराध मानेको छ । त्यसैगरी सार्वजनिक सडक ऐन २०३१को दफा १८ र वातावरण संरक्षण ऐन २०७६ को दफा १५ ले समेत सडक लगायत सार्वजनिक स्थलमा फोहर फाल्न रोक लगाएको देखिन्छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को उपदफा ‘छ‘, ‘ञ‘ र ‘ब‘ ले सार्वजनिक स्थल वा सडकमा फोहर फालेमा पाँच हजार देखि पचास हजार रुपियाँ सम्म जरिवाना गर्न सकिने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले समेत स्थानीय सरकारलाई सडकमा फोहर फ्याँक्नेलाई कारवाही गर्ने अधिकार र दायित्व प्रदान गरेको छ । यी व्यवस्थाहरूमा टेकेर यदाकदा सडकमा फोहर थुपार्नेहरूलाई स्थानीय निकाय, स्थानीय संघसस्थाहरूले सानो जरीवाना र नसिहत दिने गरेको भएपनि सवारी साधन वा त्यसमा रहेका व्यक्तिबाट भैरहेको सडक प्रदुषणलाई कसैलेपनि गम्भीर रूपमा लिएको देखिदैन ।
नेपालमा कानुन नभएर नभई स्वच्छताको सस्कार नभएको कारणले पदयात्री, सवारी साधनमा यात्रागर्ने यात्री र सडक किनाराका वासिन्दाहरूले सडकमा फोहर फ्याक्ने गरेका छन् । सार्वजनिक सवारी साधनहरूमा फोहर फ्याक्ने व्यवस्था नहुनु, बान्तालाइ व्यवस्थित गर्ने काम नगर्नु, बस बाहिर फोहर फ्याँक्न निरुत्साहित गर्न नसक्नु जस्ता कारणले यात्रीहरूले हककै रूपमा सडकमा फोहर फ्याक्ने गरेका छन् । सडकका यात्री, सवारी साधन वा सडक किनारका वासिन्दा जसले सडकमा फोहर फ्याँकेपनि यसले वातावरणिय स्वच्छतामा प्रतिकुल असर पर्छ नै । सबै कुरा कानुनी आधारमा मात्र व्यवस्थित गर्न सकिदैन । अझ स्थानीय सरकार र प्रहरीले मात्र सडकमा कसले फोहर फ्याक्छ ? भन्दै लगत राख्दै हिड्न र कारवाही गर्न कदापि सक्दै सक्दैन । सडकमा फोहर नफाल्नु प्रत्येक व्यक्तिको कर्तब्य र नैतिकता हो । सवारी साधन भित्र र सडकका निश्चित ठाँउमा कन्टेनरको व्यवस्था गर्ने र यात्रीहरूले त्यहि कन्टेनरमा फोहर फ्याक्ने बानि बसाल्ने हो भने हरेक सडकहरू सफा र आकर्षक बन्न सक्छन् ।