© २०२३
नेपालगञ्ज, २३ चैत
अन्तराष्ट्रिय ड्रग्स नियन्त्रण तथा उपचार विज्ञ बसन्त राज कुँवरले लठ्याउने र अघाउने खानेकुरा बीचको फरक छुट्याउन आग्रह गरेकाछन् । नेपाल पत्रकार महासंघ बाँकेले नार्कोनन् नेपालसँगको सहकार्यमा शनिबार नेपालगञ्जमा आयोना गरेको लागु औषध नियन्त्रण र पत्रकारहरुको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गर्दै कुँवरले लठ्याउने र अघाउने खानेकुरा पहिचान गर्न नसक्दा समाज कुलत तर्फ हावी भएको बताए । ‘लठ्याउने खाने कुरा भनेको ड्रग्स नै हो उनले भने–‘यस्ता खाने कुरा तीन हजार पाँच सय प्रकारको हाराहारीमा छन् । नेपालमा भने पाँच वटा लठ्याउने कुरा बढी चुनौतिपूर्ण देखिएको छ । रक्सी, गाँजा, डाक्टरको औषधिमा लठ्याउने बस्तु हालेको जस्तै निद्रा लाग्ने औषधि, खोकीको औषधी, एलर्जीको औषधीलाई पनि नशाको रुपमा खाने, अर्को ब्राउनसुगर, र डेनराइट जस्ता लागु पदार्थको प्रयोग नेपालमा बढ्दो रुपमा देखिएको छ ।’
उनले ड्रग्सबाट जोगिन लठ्याउने खाने कुराबाट टाढै रहन आग्रह गरे । लठ्याउने खाने कुरा लत बनेर बस्दा त्यसले व्यक्ति, परिवार, समाज र देशलाई नै ठूलो क्षती पुर्याइरहेको उनको भनाइ छ । लठ्याउने खाने कुराले मात्रै दुव्र्यसनीकर्ता बनाउने भएकाले ड्रग्स खाने व्यक्ति यो लतबाट निस्कन सकस हुने उनले सुनाए । उनले ड्रग्स नियन्त्रणका लागि राज्यले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । ड्रग्स नियन्त्रणका लागि राज्यले बनाएको संरचना नै अधुरो रहेको उनले बताए । ‘गृहमन्त्रालय मातहत लागु औषध नियन्त्रण महाशाखा छ तर, त्यहाँ न जनशक्ती छ न त बजेट । जिल्लामा सिडिओलाई लागु औषध नियन्त्रकको जिम्मेवारी छ । तर सिडिओसँग नियन्त्रणका लागि न त विषय विज्ञताको ज्ञान छ, न त बजेट ।’ अन्तराष्ट्रिय ड्रग्स नियन्त्रण तथा उपचार विज्ञ रिहायव स्पेशलिष्ट पूर्व एसएसपी कुँवरले लागु औषध नियन्त्रणका लागि नागरिक समाज र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।
विज्ञ कुवँर भन्छन् ‘अव स्थानीय सरकार र नागरिक समाजले नै नियन्त्रणका लागि जिम्मेवारी लिनु पर्छ ।’ उनले सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई खवरदारी गर्ने भूमिका पत्रकारहरुको रहेकाले त्यसतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे । उनले लागु औषधको रोकथाम र नियन्त्रणका लागि पाँच वटा रणनीति अपनाउन पनि आग्रह गरे । उनले ती पाँच वटा रणनीतिबारे प्रकाश पार्दै भने–‘नखाएकालाई खान दिन्न, खाएकालाई चिन्छु, चिनेकोलाई उपचार गर्छु, उपचार गरेर आएकालाई फेरी खान दिन्न् र विक्री गर्नेलाई कारवाही गर्छु । यी पाँच वटा रणनीतिमा केन्द्रीत भएर वहस चलाउन पत्रकार साथीहरुलाई आग्रह गर्छु ।’
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँ, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमबहादुर मल्ल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया लगायतले लागु औषध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।