© २०२३
बुटवल, २२ चैत । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरि बुटवलमा शुरु भएको यू–१४ टी–२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी र इलिट जे आर क्रिकेट एकेडेमी विजयी भएका छन । वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार भएको पहिलो खेलमा स्टार क्रिकेट एकेडेमीले लुम्बिनी वल्र्ड स्कुललाई १०९ रन तथा दोस्रो खेलमा ईलिट जेआरले प्यारामाउण्ट स्कुललाई १० बिकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
नरैनापुर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस जितेर स्टारले ब्याटिङ रोज्दै १५ ओभरमा ६ बिकेटको नोक्सनीमा १५६ रनको लक्ष्य खडा गरेको थियो । स्टारका राहुल नाउले २३ बलमा ४५ सम्राट राईले १८ तथा शिव यादवले नटआउट १७ रनको योगदान दिए । लुम्बिनीका करण पोखरेल र गोकर्ण भण्डारीले समान २–२ बिकेट लिए । विशाल लक्ष्य पछ्याएको लुम्बिनी १५ ओभरमा ९ बिकेटको नोक्सानीमा केवल ५६ रनमा समेटियो । स्टारका अब्राहम अलिले २ विकेट लिए । खेलमा स्टारका राहुल नाव प्लेयर अफ म्याच घोषित भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर प्यारामाउण्टले ब्याटिङ रोज्दै १४.२ ओभरमा सबै बिकेट गुमाएर केवल ५७ रनको लक्ष्य खडा गरेको थियो । प्यारामाउण्टबाट केवल जगत न्यौपानेले मात्र १८ रनको दोहोरो अंक बनाए । ईलिटका आयुष ज्ञवालीले ४ तथा कृष्ण पन्थीले ३ विकेट लिए । झिनो लक्ष्यलाई इलिटका ब्याट्सम्यानहरुले बिना बिकेटको नोक्सानी ५.५ ओभरमा भेटाए । खेलमा ईलिटका आयुष ज्ञवाली प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले उद्घाटन गर्दै बुटवल खेलकुदको हब बनाउने अभियानमा आफूहरु लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, हैदरावादी दम बिर्यानीका सञ्चालक जनक खड्का, स्टार क्रिकेट एकेडेमीका सञ्चालक कविता गौचन, एकेडेमीका सचिव भुवन अधिकारीले शुभकामना दिए ।
प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।