Butwal Today

तिहारमा झिलिमिली वन्यो खरेन्द्रपुर

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुमा तिहारको रौनक सुरु भैसकेको छ । सहरदेखि ग्रामिण क्षेत्रका बस्ती तिहारका बत्तीले झिलिमिली बन्दैछन् । पछिल्लोसमय कपिलवस्तुको खरेन्द्रपुरले सहरको रुप लिईसकेको छ । पहिले चन्द्रौटा बजार नजिक भएका कारण खरेन्द्रपुर ओझेलमा परेजस्तो भएपनि पछिल्लोसमय बढ्दो बस्ती विकास र सहरीकरणका कारण खरेन्द्रपुरले विकासमा ठूलो फड्को मारेको छ ।

त्यसको छनक यस पटकको तिहारमा स्पष्टरुपमा देखिएको छ ।तिहारको रौनकसँगै कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुर झिलिमिली बनेको छ । गाउँको चोकमा टल्किएका बत्ती र सफा सडकले दीपावलीको रौनक र उल्लास थपेको छ ।

‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै शिवराज युथ क्लबको टिमले पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा झिलिमिली बत्ती जडान गरेको छ ।

दीपावलीको अवसर पारेर युवाहरूले गाउँको सरसफाइ गर्दै चोकलाई आकर्षक बनाउने अभियानसमेत चलाएका छन् । शिवराज युथका अध्यक्ष विजय भुसालका अनुसार गाउँलाई स्वच्छ, सुन्दर र आकर्षक बनाउने उद्देश्यले युवाहरू एकजुट भएर अभियानमा जुटेका हुन् । उनीहरूको सामूहिक प्रयासले खरेन्द्रपुरलाई उज्यालो बनाउनुका साथै गाउँप्रतिको अपनत्व र सामाजिक एकताको सन्देश पनि दिएको छ ।

तिहारमा घर आँगन मात्र होइन, सार्वजनिक स्थलसमेत सजाएर उत्सव मनाउने युवाहरूको यो प्रयास स्थानीयका लागि उदाहरणीय बनेको छ । युथ क्लब केही समयदेखि स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक विकासमा टेवा पु¥याएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?