Butwal Today

दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुवै चालकको अवस्था गम्भीर

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-
सल्यान ।
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा सल्यानमा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुवै मोटरसाइकलका चालकको अवस्था गम्भीर रहेको छ । जिल्लाको शारदा नगरपालिका, २ भिकुल्लामा भएको दुर्घटनामा शारदा नगरपालिका, ७ निवासी २५ वर्षीय प्रकाश गिरी र शारदा नगरपालिका, १४ निवासी २५ वर्षीय विनोद रावत घाइते भएको सल्यान प्रहरीले जनाएको छ । गिरीको टाउको र बायाँ हातमा चोट लागेको छ भने रावतको मुखमा चोट लागेको छ । गिरीको अवस्था गम्भीर र रावतको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक इश्वर रोकायले जानकारी दिए ।
त्यस्तै अर्को मोटरसाइकलका चालक सिद्धकुमाख गाउँपालिका, २ निवासी २२ वर्षीय गोपाल बुढाथोकी र मोटरसाइकलमा सवार सिद्धकुमाख गाउँपालिका, १ निवासी १८ वर्षीय प्रदीप चलाउने पनि घाइते भएका छन् । बुढाथोकीको टाउको र बायाँ हातमा चोट लागेको छ भने चलाउनेको छाती, अनुहार र दुवै खुट्टामा चोट लागेको छ । बुढाथोकीको अवस्था गम्भीर र चलाउनेको अवस्था मध्यम रहेको छ ।
शुक्रबार दिउँसो करिब ४ः४५ बजे राप्ती राजमार्ग अन्तर्गत श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा २ प ९३२६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ६४३१ नम्बरको २२० सीसीकै पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
चारै जनालाई उपचारका लागि श्रीनगरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार भइरहेका दुवै मोटरसाइकलका चालकलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । पछाडि सवार दुवै घाइतेको भने श्रीनगरमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?