Butwal Today

धनतेरसमा बुटवल बजारमा किनमेल गर्नेको घुइँचो

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल । आज धन त्रयोदशी अर्थात् धनतेरस । दीपावलीको किनमेलका लागि विशेष महत्त्व राख्ने यस दिन बुटवलका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ ।

धनतेरसका दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा , कुचो , सुपो र अन्य सामग्री खरिद गर्नु शुभ मानिन्छ । यस दिन खरिद गरिएका सामग्री घरमा भित्र्याएर लक्ष्मी पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई धनधान्य र सुखसमृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

यही धार्मिक तथा सांस्कृतिक मान्यताका कारण बिहानैदेखि बुटवलका मुख्य बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको थियो । विशेषगरी भाँडाकुँडा, सुनचाँदीका पसल तथा अन्य उपहार सामग्री बिक्री हुने पसलमा ग्राहकको भीड देखिन्थ्यो ।

 

बुटवल उपमहानगरपालिका–११ का नरिश्वर ढकाल धनतेरसको अवसरमा किनमेल गर्न बजार आएका थिए । स्टिल, तामा, पित्तललगायतका भाँडाकुँडा तथा चाँदीका सामग्री खरिद गर्नु शुभ मानिने भएकाले आफू बजार आएको उनले बताए ।

 

धनतेरसलाई लक्ष्मीपूजाअघि आवश्यक सामग्री खरिद गर्ने विशेष दिनका रूपमा लिने गरिन्छ । दीपावली नजिकिएसँगै बजारमा बढेको चहलपहलले चाडपर्वको रौनकसमेत थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?