© २०२३
हामीले वर्षमा दुईवटा दशै मनाउने गर्छौं । एउटा आश्विन शुक्लपक्ष (दुर्गापक्षको) प्रतिपदादेखि आरम्भ हुन्छ भने दोस्रो चैत्र शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । पहिलो आश्विनको शुक्ल पक्षको प्रतिपदादेखि आरम्भ भएर सोही पक्षको कोजाग्रत पूर्णिमासम्म मनाउने गरिन्छ भने दोस्रो चैते दशैं नवमी तिथिका दिन मनाउने गरिन्छ । दुबै दशैंको आफ्नै महत्व छ । आश्विन शुक्ल पक्षमा मनाउने दशैंमा प्राय गरेर प्रतिपदादेखि दशमीसम्म र दशमी पश्चात पनि विभिन्न देव देवीको पूजाआजा गर्ने गरिन्छ । यो समयमा कोजाग्रत पूर्णिमाको दिन मात्र देवी विसर्जन गरिन्छ । चैते दशैंमा नवरात्र मनाउने त गरिन्छ तर कोजाग्रत पूर्णिमा सम्म रहे जस्तो यो दशैमा रहँदैन र सबै स्थानमा देवी विसर्जन पनि गरिदैन ।
चाहे आश्विन शुक्ल पक्षमा मनउने दशैं होस चाहे चैते दशैं होस् दुबै दशैका आफ्नै र वेग्लै महत्व रहेको पाइन्छ । हामीले आश्विन शुक्लमा रहेको दशैंलाई विदाई गरेको केही महिना वित्यो । तर चैते दशै हाम्रो घर आँगनमा आइ पुगेको छ । यसलाई पनि यसको विधि अनुसार मनाउनै पर्दछ । आश्विन शुक्लको दशैमा मान्यजनबाट टीका र आशिर्वाद थाप्ने गरिन्छ र टाढा टाढासम्म पुग्ने गरिन्छ भने यो दशैंमा टीका प्रसाद ग्रहण गरिन्छ तर सिमित मात्रामा । चैते दशैमा प्रतिपदा देखि नवमी सम्म मनाउने गरिन्छ र नवमीका दिन विशेष पूजा आजा गर्ने गरिन्छ र प्रसाद ग्रहण समेत गर्ने गरिन्छ । दुबै दशैंलाई केही मात्रामा असत्य माथि सत्यको विजयसंग जोडेर हेर्ने गरिन्छ । चैते दशैंलाई वसन्तीय दशै पनि भन्ने गरिन्छ । वसन्तीय दशैंमा रामको जन्मसंग पनि जोडेर मान्ने र हेर्ने गरिन्छ । यसकारण यस दशैंलाई रामनवमी समेत भन्ने गरिन्छ । यही राम नवमीको दिनलाई हामीले चैते दशै भनेर मनाउने गर्दछौं । त्रेता युगमा अयोध्याका राजा दशरथका पुत्रको रूपमा चैत्र शुक्ल नवमी तिथिका दिन रामको जन्म भएको विश्वास गरिन्छ । रामलाई एक आदर्श पुरुषको रूपमा लिने गरिन्छ । यही आदर्श पुरुषको जन्म भएको दिनलाई रामको संझना स्वरूपम पूजाआज गर्ने गरिन्छ । यसै दिन रामभक्तहरूले राम मन्दिरमा पुगेर श्रद्धापूर्वक रामको पूजाआजा गर्ने समेत गर्दछन् । यसै सयममा नेपाल र भारतका विभिन्न भागमा मेला समेत लाग्ने गर्दछ । नेपालको जनकपुरलाई रामको ससुराली भूमिको रूपमा लिने गरिन्छ । यस दिन जनकपुरमा भव्य मेला लाग्ने गर्दछ । अरू पुरुषको तुलनामा रामलाई आदर्श पुरुषको रूपमा चिनिने हुनाले हरेक स्थानमा रामलाई जोडने गरिन्छ । हामीले अंक गणणा गर्दा पहिलो अंक एक नभनेर राम, दुई, तिन, चार यसरी गन्ने गर्दछौं । पहिलो अंक नभनेर किन राम भनेको होला ? यसको रहश्य के हुन सक्छ ? भिरबाट लोट्नेगाईलाई काँध थाप्न सकिन्न राम भन्ने हो भन्ने उखान छ । कसैलाई घाटमा लिएर जानु परेको समयमा राम नाम सत्य हो भन्ने गरिन्छ । कसैमाथि कसैले कुनै घात गरेको सयममा पनि हामीले राम राम भन्ने गर्दछौं । कसैले कसैमाथि अन्याय गरेको दृश्य देखिएमा झट्ट मुखबाट राम राम शब्द आउने गर्दछ । यसप्रकारका उदाहरण निकै छन् । हरेकका मुखमा राम शब्द झुण्डिएको हुन्छ । यो कुरा नकार्न मिल्दैन ।
रामलाई आदर्श पुरुष भनिएको कुरा यसमा जोडन आवश्यक छ भन्ने लाग्दछ । राम सानै उमेर देखि निकै शालिन र सुशिल स्वभावका थिए । हुन त उनलाई भगवानको रूपमा पनि हेर्ने र चिन्ने गरिन्छ । त्यो बेग्लै वहस र छलफलको विषय हुन सक्छ । एउटा आदर्श पुरुष भगवानको रूपमा हुन्छ भन्दा पनि केही आपत्ति छैन । आपत्ति मान्नु पर्ने कारण पनि केही छैन् । वास्तवमा राम्रो काम गर्ने नै भगवान हुन्छ । जसबाट नागरिक बढिमात्रामा सन्तुष्ट हुन्छन् ,त्यही व्यक्तिसंग देवत्व हुन्छ । त्यही देवत्वको भावना थियो रामसंग । रामका बाबु दशरथले भोली रामलाई राज्यको जिम्मा दिने र राज्याभिशेक समेत गर्ने प्रस्ताव गरे तर भोलीपल्ट राज्याभिशेकको साटो कैकेयीको मतोमा लागेर रामलाई १२वर्ष वनवास र भरतलाई राज्य भन्ने कुरा चल्यो । रामले न त बाबुलाई कुनै दोष लगाए न त कैकेयीलाई नै दोष लगाए । पिताजीको आज्ञापालक भनेर आफू राज्य सञ्चालन छोडेर वनको लागि प्रस्थान गरे । भाइ भरतसंग पनि उनको कुनै तिक्तता भएन । भरत रामलाई वनवास बाट फिर्ता ल्याउनका लागि गएको समयमा आफू पिताको आज्ञाकारी भएकाले तिमीले राज्य सञ्चालन गर म पिताजीको आज्ञापालन गरेर फिर्ता आएर राज्य गरुँला भनेर भरतलाई फिर्ता पठाएको थिए । आजभोली कोही मन्त्री बन्न पाइएन भनेर दल बदल्ने र विद्रोह गर्ने वा पार्टी नेतृत्वमा औंला उठाउने र रामका बीचमा कति भिन्नता छ ? यही हो आदर्श पुरुष भनेको । एउटा सानो पद नपाएर विद्रोहको भाषा बोल्ने र राज्याभिशेक गर्ने तयारी भएको समयमा मुनी भेष धारण गरेर वनमा जानेका बीचमा कति भिन्नता छ ? यस्तो आदर्श पुरुषको जन्म जयन्तीसंग जोडिएर आएको दिन वा पर्व हो रामनवमी वा चैते दशैं पर्व ।
हरेक राज्यको जिम्मामा शिक्षा, स्वास्थ्य, नैतिक, साँस्कृतिक, सामाजिक, आर्थिक लगायतका कुरा रहेका हुन्छन् । यही क्षेत्रलाई हेरेर त्यो मुलुकको स्थिति र अवस्था कस्तो छ भनेर थाह पाउन सकिन्छ । रामको राज्यकालमा यी सबै कुराको राम्रो अनुभूति नागरिकले गरेका थिए भन्ने कुरा विभिन्न रामायणहरूमा उल्लेख गरिएको छ । आज यो पर्व मनाउनुको तात्पर्य वा राम जन्म दिवस मनाउनुको सार अर्थ भनेको हाम्रो राज्य पनि यस्तै हुन सकोस वा उन्मुख हुन सकोस भन्ने नै हो । हामीले यो पर्व मनाउन लागेको कति सय वर्ष वितेहोला वा कति पुस्ता विते होलान तर हाम्रो राज्यसंयन्त्रमा केही फरक हुन सक्यो कि सकेन ? मुल प्रश्न यही हो । रामले वनवासको समयमा शवरीले ल्याएको बयर जुन उनको जुठो थियो त्यो समेत सेवन गरे भन्ने भनाइ बाल्मिकी रामायणमा उल्लेख गरिएको छ । शवरीलाई आजभोली हामीले भन्ने गरेको दलित महिला हुन भनिन्छ । यसबाट के प्रष्ट हुन्छ भने राम दलितले ल्याएको त्यो पनि उनको जुठो पनि सेवन गरेर एउटा दलित तथा महिलाको सम्मान गरे भन्ने प्रश्ट हुन्छ । हामीले कागजमा छुवाछुत उन्मुलन गरेका छौं तर व्यवहारमा ? रामले रावण जस्ता दम्भीको हत्या गरेको कुरा पनि यसै रामायणमा पाइन्छ । हुन त कसैको पनि हत्या गर्नु राम्रो होइन । हत्याको साटो उसको मन बदल्न सक्नु पर्दथ्यो । हत्या भनेको अन्तिम विकल्प हो । रामका सामुमा रावाणको वध भन्दा अर्को विकल्प पनि थिएन किनकी उ आफू परिवर्तन हुन चाहँदैनथ्यो । हामीले मनाउँदै आएको चैते दशैं पर्वको अति ठूलो महत्व छ । चाहे राज्य सञ्चालनको कुरा होस चाहे आदर्शको कुरा होस जताबाट घुमाए पनि हाम्रो परिवार र समाज सुध्रिएको हेर्ने र भोग्ने आम नागरिकको चाहना रहेको छ । यसका लागि हामीले जुन पर्व मनाउने तयारी गरेका छौं, यसबाट आम नागरिकमा पनि सचेतना आओस र सत्ता सञ्चालकहरूमा पुरै सकारात्मक धारणा उत्पन्न भई पूरै परिवर्तन हुने प्रेरणा चैते दशैले दिन सकोस यही शुभकामना ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी