© २०२३
सुनवल, १२ मंसिर ।
पश्चिम नवलपरासीको सरावलमा गाउँपालिका जोड्ने २ किलोमिटर सडक साढे तीन वर्ष हुँदा पनि निर्माण पुरा हुन सकेको छैन । ठेकेदारको चरम लापरवाहीले उक्त सडक अलपत्र बनेको हो । परासी–नारायणचोक हुलाकी सडक खण्डको भिडटाँडी देखि सरावल गाउँपालिकाको केन्द्र सम्म पुग्ने जम्मा २१ सय मिटर लामो पहुँच मार्ग लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण थालिएपनि काम पुरा भएको छैन ।
२०७८ सालको बैशाखमा ठेक्का सम्झौता भएको उक्त सडक सोहि वर्षको चैत मसान्त अर्थात बढिमा एक वर्ष भित्र निर्माण सक्नुपर्ने थियो । तर सडक निर्माणको जिम्मा पाएको नवलपरासीकै नविन कन्स्ट्रक्सनले उक्त सडक निर्माणमा ढिलासुस्ती गरेपछि सडक निर्माण कार्य पुरा नभएको बताईएको छ ।
सडकको हाल सम्म ६० प्रतिशत काम पुरा भएको छ, बेस राखिएको सडकमा अहिले धुलोले गर्दा यात्रा गर्न कठिन हुने गरेको छ भने सडक छेउका स्थानियले समेत सास्ती भोग्न बाध्य भएका छन् । तीन करोड ७ लाख ८२ हजारको लागतमा ठेक्का सुरु भएको उक्त सडकको काम पुरा नभएपछि १ करोड ६३ लाख ५५ हजार ठेकेदारलाई भुक्तानी गरेको र बाँकि रकम त्यतिबेलानै फ्रिज भएको लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्राविधिक सन्तोष चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी ७५ लाख बजेट विनियोजन भएको पनि चौधरीले बताए । अहिले हुलाकी सडकमा पनि पुल निर्माणको चरणमा रहेकाले धेरै सवारी साधन गाउँपालिकाको केन्द्र हुदै आउजाउ गर्ने गरेका छन् ।
जसले गर्दा पनि धुलोले धेरै समस्या हुने गरेको सडक किनाराका स्थानियको भनाई छ । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले यस विषयमा भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको ध्यानाआर्कषण गराएको बताए । प्रदेश सरकार अन्र्तगतको काम अलपत्र हुँदा स्थानीय तहका जनप्रतिनिधिले गाली खानुपरेको चौधरीले गुनासो गरे ।