© २०२३
संसार दुःखमय हुनुको कारण र समाधानको खोजी गर्न राजकाजको सुखसयलसहित पुत्र, पत्नी, मातापिता सबै त्याग गर्नु चानचुने कुरा थिएन । तर, राजकुमार सिद्धार्थले त्यसो गरे । यही नै थियो उनको सिद्धार्थबाट बुद्धसम्मको यात्राको सुरुवात । ज्ञानको खोजीकै क्रममा महान गुरूहरू अलारकालाम र उद्दकरामपुत्रबाट सबैखाले शिक्षा प्राप्त गरे पनि सिद्धाथको चित्त बुझेन । तर उनको जिज्ञासा सन्तुष्ट पार्नसक्ने अरू कोही पनि देखिएनन् वा भेटिएनन् । उनले करिब छ वर्षसम्म निरन्तर दुश्करचर्या गरे । तर पनि कुनै लाभ हुन सकेन । यहि क्रममा उनलाई आफ्नो बाल्यकालको घटना सम्झना आयो ।
घटना के थियो भने, कपिलवस्तुमा रोपाईं पर्व चलेको थियो । राजा सुद्धोदनसहित सबैजना रोपाईं गर्दै थिए । वालक सिद्धार्थलाई जमुनाको रूखमुनि सुताइएको थियो । उनको छेउँछाउँ कोही थिएनन् । उनी बिउँझिए र वरिपरि कसैलाई नदेखेपछि चूप लागेर बसे । त्यसै क्रममा उनलाई आफ्नो श्वासप्रश्वासप्रति कौतूहलता जाग्यो र त्यसैमा केन्द्रित भए । श्वासप्रश्वासमा केन्द्रित हुँदाहुँदै उनी ध्यानको एउटा तहमा पुगे । बौद्ध साहित्यमा त्यसलाई ‘प्रथम ध्यानलाभ’ भनिएको छ । यहि नै विपस्यना ध्यानको प्रारूप थियो ।
राजकुमार सिद्धार्थले विचार र क्रियाबाट मुक्त भई चित्तको विचार गर्ने एकाग्रताको ध्यान विधि अपनाए । उनले २९ वर्षको उमेरमा तपस्याबाट नभई विशिष्ट ध्यान विधिबाट बुद्धत्व लाभ गरेका थिए । विचार र प्रतिक्रियाहीन रहेर स्वास आए-गएको हेर्नुलाई बौद्ध ध्यान विधिमा ‘आनापान सती’ भनिन्छ । यही विधिको प्रयोग गर्दै उनले विपश्यना ध्यानको विकास गरे र यसै मार्फत् बुद्धत्व प्राप्तिसम्म पुगे ।
गौतम बुद्धले आफ्ना शिष्यहरूलाई निरन्तर ४५ वर्षसम्म ज्ञान र ध्यान सिकाउँदै लोकल्याणका निम्ति जीवन अर्पण गरे । बुद्धको महापरिनिर्वाण पश्चात् पनि यो परम्परा चलि नै रह्यो । अन्य क्षेत्रमा यो परम्परा लोप हुँदै गए पनि म्यानमार (बर्मा) मा भने गुरु–शिष्य परम्परामा जीवित थियो । सत्य नरायण गोयन्काले विपस्यना ध्यान परम्परालाई प्रचारप्रसार गरी थप लोकप्रिय बनाउने महत्वपूर्ण काम गरे । सन् १९६९ मा उनी इन्डिया पुगे र त्यहिँबाट विपस्यना ध्यान सिकाउन थाले । आज विपस्यना ध्यान प्रविधि इन्डिया, नेपाल, श्रीलंका, म्यानमार, थाइल्याण्ड, भियतनाम, चीन, लगायत युरोप र अमेरिकामा समेत लोकप्रिय हुँदैछ । मानिसको चित्त प्रवृत्तिलाई शुद्ध बनाई आध्यात्मको विकास गर्न विपस्यना ध्यान सुनौलो आध्यात्मिक क्रान्तिको रूपमा स्थापित भइसकेको छ । त्यतिमात्र होइन, स्वास्थ्यका क्षेत्रमा पनि यसलाई अपनाउन थालिएको छ ।
को हुन् एस.एन. गोयन्का?
भारतीय मूलका सत्य नरायण गोयन्काको जन्म ३० जनवरी १९२४ मा म्यानमारमा भएको थियो । उनी रुढिवादी हिन्दू सनातनी परिवारका थिए । म्यानमारमा उनको ठूलो व्यवसाय थियो । व्यापारमा सफल पनि थिए, तर ३१ वर्षको उमेरमा उनमा टाउको दुख्ने (माइग्रेसन) को समस्या देखा प¥यो । समस्या बल्झिँदै गएको थियो । उनका एक साथीले उनलाई विपस्यना गुरु सायजी यू बा खिनसँग भेट गर्न सुझाव दिए । साथीकै सल्लाहअनुसार उनी सायजी यू बा खिनसँग गएर विपस्यना ध्यान सिक्न थाले । चौध वर्षसम्म उनले यो ध्यान निरन्तर सिकिरहे । यही ध्यानकै कारण उनको माइग्रेसनको समस्या समाधान पनि भयो । यहीँबाट उनी बौद्ध शिक्षाप्रति आकर्षित पनि भए ।
सन् १९६९मा उनी भारत गएर विपश्यना ध्यान सिविरहरू सञ्चालन गरी ध्यान सिकाउन थाले । जातीयता र साम्प्रदायिकताले जरो गाडेका तत्कालीन समयमा पनि उनले आफ्नो सिविरमा समाजका हरेक जात, धर्म र वर्गका हजारौँ मानिसहरूलाई सहभागी गराएर विपस्यना ध्यान सिकउँदथे । करीब ४५ वर्षसम्म गोयन्का र उनका सहायोगीहरूले विभिन्न मुलुकका हजारौँ लाखौँ मानिसहरूलाई यस्तो ध्यान सिकाए । त्यसैले आज विश्वमा विपश्यना ध्यान परम्परा लोकप्रिय हुँदै गएको छ । यस्तो लोककल्याणकारी कार्य गरेबापत् गोयन्कालाई भारतीय राष्ट्रपतीद्वारा सन् २०१२ सालमा पद्म पुरस्कार प्राप्त भयो । बौद्ध शिक्षा र विपस्यना ध्यानको प्रचारप्रसारकै क्रममा सन् २०१३ सेप्टेम्बर २९ मा उनको निधन भयो ।
के हो विपस्यना ?
विपस्यना एक विशेष प्रकारको ध्यान विधि हो । विपस्यना वेद रचनाकालमै पत्ता लगाइएको र त्यसयता लामो समय विलुप्तप्रायः भएको मानिन्छ । पछि गौतम बुद्धले पुनर्खोज गरेका हुन् भन्ने मान्यता छ । तर अर्काथरिको मान्यता अनुसार चाहिँ यसलाई गौतम बुद्धले प्रतिपादन गरेका हुन् । ‘वि’ को अर्थ विशेष रूपमा वा बहु आयामिक रूपमा भन्ने हुन्छ । ‘पश्यना’ को अर्थ निर्विकल्परूपमा पज्ञाले हेर्नु÷देख्नु हो । जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु–सम्झनु–बुझ्नु विपश्यना हो ।यसमा अरू केही होइन, विशेष किसिमले आफैलाई हेरिन्छ । आफ्नो श्वासप्रस्वास प्रक्रियालाई हेरिन्छ । आफूभित्र उत्पन्न विचारहरू, वेदनाहरू हेरिन्छ र बुझ्ने प्रयास गरिन्छ आफैलाई ।
वास्तवमा हामी दैनिक चर्या गर्ने क्रममा विभिन्न मानिस वस्तु, चिजसँग जोडिन्छौँ । हाम्रा संवेदनाहरू ती बाहिरी तत्वहरूले प्रभावित पार्दछन् । अरूका कारण रिसाउने, खुसी हुने र दुःखी हुने हाम्रो स्वभावले हामी आफैलाई नै पीडा दिइरहेका हुन्छौँ र आफैलाई विर्सिरहेका हुन्छौँ । तर, विपस्यनाले यही कुराको बोध गराउँछ र आफैसँग प्रेम गर्न सिकाउँछ । संवेदनाहरूलाई बुझ्न र चिन्न सहयोग गर्दछ । समग्रमा जीवन ज्यूने कला सिकाउँछ विस्यनाले । अनित्य, अनात्म र दुःख बुझेर ज्ञानी बनाउँछ ।
शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम उपाय हो । यसले अरूका कारण आफैलाई दुःख दिने हाम्रो बानीमा सुधार ल्याउँछ । अरूको कल्याण सोच्नु र आफैभित्र शान्ति प्राप्त गर्नु विपस्यनाको उपलब्धी हो । त्यसो त मानिस मरेपछि मुर्दा घाटमा शान्त रहन्छ । तर, त्यसलाई शान्ति भन्न मिल्दैन । सच्चा शान्ति भनेको त्यो हो, जुन काम गर्दागर्दै प्राप्त हुन्छ । हिड्दा हिड्दै प्राप्त हुन्छ । खाँदाखाँदै पनि प्राप्त हुनसक्छ । अतः दुनियाँभरको भागदौडमा अशान्त भएको चित्तलाई शान्त पार्ने औषधि हो विपस्यना ।
के हुन्छ विपस्यना धानमा?
अहिले विभिन्न स्थानहरूमा १० दिने विपस्यना ध्यान सिविर सञ्चालन हुने गरेको छ । त्यसो त योभन्दा घटिबडि अवधिको पनि विपस्यना सिविर चल्ने गर्दछ । तर, यो १० दिने चाहिँ सामान्यतया निरन्तर चलिरहने ध्यान सिविर हो । सिविरमा रहँदा दश दिनसम्म आर्यमौन पालना गर्नु पर्दछ । आर्यमौन भनेको हात वा आँखाको ईशाराले, लेखेर, सङ्केत गरेर वा अन्य कुनै पनि माध्यमले अरूसँग बोल्न नपाउनु हो । अर्थात् यस अवधिमा साधक पूर्णरूपमा मौन रहनु पर्दछ । त्यसैले मन्छे अरूसँगभन्दा पनि आफैसँग नजिक रहने अवसर प्राप्त गर्दछ । यही नै विपस्यनाको विशेषता हो ।
विपश्यना शिविरमा भाग लिन चाहनेले ध्यान केन्द्रभित्र पञ्चशील वा अष्टशील वा दशशीलमा रहनुपर्दछ । पञ्चशीलअन्तर्गत हिंसा नगर्नु, चोरी नगर्नु, परस्त्री गमन नगर्नु, झूटो नबोल्र्नु र नशालु पदार्थ सेवन नगर्नु हो । त्यसैगरी अष्टशील भन्नाले पञ्चशीलका अतिरिक्त दिउँसो १२ बजेपछि भोजन नगर्नु, शृंगार र मनोरञ्जन नगर्नु तथा उच्च आरामदायी आसन प्रयोग नगर्नु हो । यस प्रकार मानिसले शीलको पालना गर्दैजाँदा उनीहरूमा नैतिकताको विकास हुन जान्छ । विपस्यना ध्यानमा शील, समाधी र प्रज्ञाको अध्यास गरिन्छ । त्यसैगरी आनापाना सतिको अध्याससहित प्रज्ञाको लाभको निम्ति अभ्यास गरिन्छ ।
विपस्यनामा के–कसरी सहभागी हुने?
सन् १९८४ देखि नेपाल विपश्यना केन्द्र स्थापना भई यो साधना अभ्यास हुँदै आएको छ । हाल नेपालमा लुम्बिनी, कठमाडौं, किर्तिपुर, इटहरी, चितवन, पोखरा, बीरगञ्ज, सुर्खेत लगायनका स्थानमा दर्जनभन्दा बढी विपश्यना केन्द्रहरू सञ्चालित छन् ।
भगवान बुद्धले कहिले पनि साम्प्रदायिक शिक्षा दिएनन् । उनको धम्म (मुक्तिको मार्गको ज्ञान) सबैका लागि थियो । हरेक जात, वर्ग, लिङ्ग र सम्प्रदायका मानिसहरूलाई समानरूपमा शिक्षा दिइने भएकैले तत्कालीन समाजका निम्ति बुद्ध क्रान्तिकारी मानिन्थे । विपस्यना पनि सबैका लागि खुला रहन्छ । वेभसाइटमार्फत् फारम भरेर सिविरमा नाम दर्ता गराई निःशुल्क रूपमा विपस्यनामा सहभागी हुन सकिन्छ । सिविर सकिएपश्चात् आफूमा आएको परिवर्तनबाट खुसी भई सहभागीहरूले स्वेच्छाले दान दिन सक्दछन् । दश दिनसम्म सम्पूर्णरूपमा अलग रही आफैलाई चिन्ने काममा लाग्छन् सहभागीहरू ।
बौद्ध धर्मका सबै सम्प्रदायमा विपश्यनाकै अभ्यास हुन्छ । पछिल्लो समय हरेक देश, परिवेशमा विपश्यनाले लोकप्रियता पाउँदै गएको छ । त्यसैले मानव जगतमा आध्यत्मिक, दार्शनिक, सांस्कृतिक, वैज्ञानिक, सचेत ज्ञानको प्रवाहका लागि विपश्यनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । ध्यानमा नित्यताको भाव भएमा त्यो विपश्यना हुन सक्दैन । विपश्यनाको उद्देश्य नै अनित्यको बोध गर्नु हो । कतिपय ध्यानमा आत्मालाई परमात्मासँग मिलान गर्नु प्रमुख उद्धेश्य मानिन्छ । कहीँकहीँ ध्यान गर्दा देवी देउताको आकृतिलाई आलम्बन लिने चलन पनि छ, जुन विपस्यना ध्यानभन्दा निकै फरक हो ।
धेरै ध्यान परम्पराहरूमा समाधी (ध्यानको गहिरो अवस्था) प्राप्त गर्नु मुख्य लक्ष्य हो । विपश्यना ध्यानमा समाधि महत्वपूर्ण छ तर यो मात्र मुख्य लक्ष्य होइन । विपश्यनाको मुख्य लक्ष्य शील र समाधिमार्फत् प्रज्ञा लाभ हो । विपश्यना ध्यानमा मुख्य उद्देश्य अन्तिम मुक्ति प्राप्त गर्नु हो ।
विपश्यनाबाट हुने सामाजिक लाभ
विपस्यनामा सहभागी मानिसहरूमा क्लेशभाव नष्ट हुन्छ । मानिस शान्त स्वभावको बन्दछ । उसमा मैत्री एवम् करुणाको भाव जागृत हुन्छ । खासगरी पञ्चशीलको अध्यासले शीलवान बनाउन मद्दत गर्दछ । त्यसैले विपश्यना एक यस्तो उपाय हो जसले अपराधी, चोर, फटाहालाई पनि समाजको असल सदस्य बन्न उत्प्रेरित गर्दछ । विपस्यना ध्यानको अभ्यास गरेका कैदीहरूमा आध्यात्मिक भावको विकास भएको र उनीहमा सकारात्मक सोच्च प्रवाह भएको तथ्य समेत बाहिर आएको पाइन्छ ।
हरेक जातजाति, धर्म सम्प्रदाय आदिका मानिसहरू विपश्यना अभ्यासमा सहभागी हुनसक्ने भएकाले यसबाट उनीहरूमा आध्यात्मिक भावको विकास हुन जान्छ । चित्तमा सिर्जित उस्तै विचारले उनीहरूलाई एक आपसमा नजिक ल्याउने काम गर्दछ । विपश्यनाले समाजमा शान्ति र सामञ्जस्यताको विकास गर्दछ । विपश्यना ध्यान चिकित्सा क्षेत्रमा पनि वैज्ञानिक तवरले नै उपयोगी ठहरिँदै गएको छ । कुनै पनि कुरालाई राम्रो–नराम्रो छुट्याउने संवेदना हामीमा सधैँ सक्रिय हुन्छ । ध्यानको अभ्यासले हामीलाई वस्तुप्रति आग्रही होइन, निष्पक्ष हुन सिकाउँछ । जसले गर्दा परिवार, समाज र देशमा द्वन्द्व न्यूनिकरण गर्न सहयोग गर्दछ ।
महत्वपूर्ण कुरा
केही मानिसहरू दैनिक जीवनको भागदौड र सांसारिक ताछाडमछाड छाडेर केही दिन शिविरमा रहँदा पाइने राहतलाई नै ध्यानको उपलब्धि मान्दछन्, जुन नितान्त भ्रम मात्र हो । थोरै आनन्दमै मग्न हुँदा यसले तृष्णा बढाइदिन्छ । जबकि बुद्धको शिक्षाले तृष्णालाई क्षय गर्नमा जोड दिन्छ । त्यसैले विपश्यना स्वःनिरीक्षणद्वारा गरिने आत्मशुद्धिको साधना हुनु पर्दछ । यसमा आफ्नै शरीर र चित्तमा पल–पल भइरहने परिवर्तनहरूलाई तटस्थभावबाट निरीक्षण गरिने भएकाले साधकले अनित्य, दुःख र अनात्मजस्तो गम्भिीर विषयको ज्ञान प्राप्त गर्दछ । बुद्धका अनुसार बुद्ध शिक्षा ज्ञान लिनका निम्ति मात्रै होइन, अनुभव गर्नका निम्ति हो । त्यसैगरी ध्यान पनि अनुभव गर्नकै निम्ति हो । अतः विपस्यना ध्यानलाई पढेरभन्दा पनि अनुभव गरेर मात्रै वास्तविक रूपमा बुझ्न सकिन्छ ।