© २०२३
महाभारतमा बर्णित कथा अनुसार कृष्णका तीनवटी श्रीमती थिए । पहिलो रुक्मिणी, दोस्रो जाम्ववती र तेस्रो सत्यभामा नाम गरेका थिए । उनीहरूमध्ये रुक्मिणीले विवाह भन्दा पहिले कृष्णलाई अधिक मन पराउँथिन तर उनीहरूको बीचमा देखाभेट समेत भएको थिएन । तर रुक्मिणीले कृष्णको नाम र काम सुनेर मन पराउन लागेकी थिइन । रुक्मिणीले आफ्नी मातासंग आफूले कृष्णलाई मन पराएको कुरा सुनाइन । उनकी आमाले बाबुलाई छोरीले कृष्णलाई मन पराएको सन्देश दिइन । बाबु आमा दुवै कृष्णसंग विवाह गरिदिन राजी भए । यसै विषयमा एकदिन दरवारमा सभा बस्यो । बाबुले विवाहको प्रस्ताव राखे । सभामा रहेका सबैजना मञ्जुर भए तर रुक्मिणीका दाजु रुक्मी सहमत भएनन् । रुक्मीले एक्लै हठ गरेर सभा भवनमा भएका सबैलाई थर्कमान पार्दै आफ्ना पिता मातालाई समेत प्रभावमा पारेर मगध नरेश जरासन्ध पुत्र शिशुपालसंग आफ्नी बहिनीको विवाह गरिदिने विषय बनाए । यो घटनाले रुक्मिणीलाई अत्यन्त दुःखित बनायो । उनले राजगुरुसंग सहयोग मागिन । गुरु उनलाई सघाउन तयार भए । रुक्मिणीले उनै गुरुको हातबाट द्वारकामा रहेका देवकी बसुदेव पुत्र कृष्णलाई पत्र पठाइन । खवर पाउँदा साथ कृष्ण रुक्मिणीसंग भेट गर्न यात्रा थाले । आमा बाबु र बहिनी कृष्णसंग विवाह गर्न मञ्जुर हुँदा पनि रुक्मी राजी भएन् । सभामा सहभागि सबैलाई थर्कमान पारेर दोस्रो वर चुन्नु रुक्मीको स्वभाव कस्तो अनौठो खालको रहेछ ? बाबु आमा छोरीको इच्छा अनुसार विवाह गरिदिन तयार भए तर रुक्मी आफ्नै बाबु आमासंग विद्रोह गर्न तयार भयो तर बाबु आमाको रुची अनुसार काम गर्न तयार भएन् ।
जुन नारीले जससंग विवाह गर्न चाहिन घरका अन्य सदस्यले मन्जुरी दिए तर एउटा दाजु रुक्मीले परिवारमा एक्लै विद्रोह गरेर सबैलाई आफ्नो कब्जामा लियो । परिवारका सबैजना सहमत हुँदा पनि रुक्मीले नारी अधिकारमाथि धावा बोल्यो । त्यतिमात्र होइन रुक्मीले पत्र लेखेर मगध नरेश जरासन्ध पुत्र शिशुपाललाई आफ्नी बहिनीसंग विवाहका निम्ति निम्तो दियो । जरासन्ध मगधबाट विभिन्न देशका राजा महाराजा सहितको लावा लस्करका सहित वर (शिशुपाल) लाई लिएर आयो । तर, रुक्मिणी कुनैपनि हालतमा शिशुपालसंग विवाह गर्न राजी थिइनन् । उनले बेग्लै मार्ग समेत रोज्ने निधो गरकी थिइन् । यो सन्देश खेर जान नदिनका लागि कृष्ण तत्काल पुगेर शिशुपालसंग विवाह हुनुअघि नै रुक्मिणीलाई आफ्नो रथमा ल्याएर द्वारकातर्फ फर्किए । जव कृष्णले रुक्मिणीलाई लिएर फर्कर्दै थिए, रुक्मी कृष्णसंग युद्ध गरेर रुक्मिणीलाई फिर्ता लैजानका लागि बाटो छेक्न आयो । कृष्णले रुक्मिणीलाई आफूले अपहरण गरेर ल्याएको नभई उनको इच्छा अनुसारको कार्य गरेको कुरा गरे । कृष्णले रुक्मीलाई भने विवाह भन्ने कुरा महिलाको रोजाई अनुसार हुनुपर्दछ । यो घटना त्यही रूपको भएको वताए तर रुक्मी कृष्णको क्ुरा सुन्न तयार भएन । कृष्ण र रुक्मी दुबैको बीचमा घोर घमासान युद्ध भयो । रुक्मीलाई गदा प्रहार गरेर कृष्णले घायल बनाएर अन्तिम प्रहार गर्ने समयमा रुक्मिणीले बहिनीको सामुमा दाजुको हत्या गर्न उचित नहुने ठानेर कृष्णलाई रोकिन । कृष्णले रुक्मिणीले भनेका कुरा स्वीकार गरे । रुक्मीको ज्यान बच्यो । उसलाई घायल अवस्थामा युद्ध मैदानमा छोडेर कृष्णले रुक्मिणीलाई लिएर द्वारकातर्फ प्रस्थान गरे ।
कृष्णले दोस्रो विवाह जाम्ववतीसंग गरे । जाम्ववतीका पिता जाम्ववानसंग मणिको वारेमा कृष्णको विवाद भयो । दुबैको बीचमा युद्धभयो । युद्धमा कृष्णले जाम्ववानलाई हराए । जाम्ववानले आफूलाई रामावतारदेखि बाहेक अरूले हराउन नसक्ने भएको हुनाले तिमी को हौ ? भनेर प्रश्न गरे । कृष्णले देवकी पुत्र कृष्ण भएको जानकारी दिए । जाम्ववान प्रभावित भएर आफ्नी छोरी कृष्णलाई भेट चढाए । (छोरीलाई वरको हातमा दिने कार्यलाई त्यो समयमा भेट भनिदो रहेछ ) । कृष्ण जाम्ववतीलाई लिएर द्वारका जाँदा सत्यभामाका पिताले पनि आफ्नी छोरी भेट चढाए । कृष्णले सत्यभामालाई समेत लिएर द्वारका आए । कृष्णका आधिकारिक रूपमा तीनवटी श्रीमती हुनपुगे । एउटी श्रीमती उनले आफै लिएर आए । दुईवटी श्रीमतीका पिताले आफ्नी छोरी भेट चढाए । कृष्णका दुईवटी श्रीमती छन् भन्ने थाह पाएर पनि उनका बाबुले आफ्नी छोरी भेट चढाए । यो पनि एउटा स्वभावको कुरा भयो । रुक्मिणी प्रायःजसो लामो समय कृष्णको साथमा रहन्थिन् । तर उनी कहिल्यैपनि कृष्णको सम आसनमा बसिनन् । उनले हरेक दिन बिहान कृष्णको पुजा गर्थिन तर उनले पुजा गरेर नित्यै कृष्णको चरणमा पुष्प राखि दिन्थीन । कहिलेकाँही सत्यभामा कृष्णको साथमा बस्थिन तर उनी कृष्णको सम आसनमा बस्थिन । अनि कृष्णको पुजाको समयमा उनले कृष्णको निधारमा टिका लगाईदिन्थीन अनि कृष्णको शिरमा पुष्प राखिदिन्थीन । के फरक हुन्छ पाउमा पुष्प राख्नु र शिरमा पुष्प राख्नुमा ?
सत्यभामामा आफ्ना पिताको धनको र आफ्नो रूपको ठूलो घमण्ड थियो । उनी कृष्णसंग द्वारका आउँदा थुप्रै मणि माणिक्य लिएर आएकी थिइन् । हरेक समय उनले आफ्ना पिताले दिएको धनको ध्वाँस दिन पछि पर्दैनथिन् । यही धनको ध्वाँसको कारणले उनले मर्यादा उल्लंघन गरेर सम आसनमा बस्थिन भने त्यसकै कारणले उनले पूजा पश्चात निधारमा टीका लगाईदिने र शिरमा पुष्प राखिदिने गर्थिन । धन र रूपको घमण्ड आज मात्र होइन हिंजो अस्तीका दिनमा उस्तै रहेछ भन्ने एउटा उदाहरण हो यो । हरेक मानिसमा आफ्नै किसिमको स्वभाव हुन्छ । एकजनासंग अर्काको स्वभाव मिल्छ भन्ने पनि होइन तर कहाँ कसरी कसको मर्यादा राख्ने, कहाँ के गर्दा मर्यादा कायम भइरहन्छ ? भन्ने जस्ता कुरा सामान्य जानकारी हुनु जरुरी छ । मानिस स्वभावको कारणले कसैको प्रिय र अप्रिय बन्न सक्छ । शरीरको बनावटले मानिस कसैको नजिक वा कसैदेखि टाढा हुने होइन । कुनै मोटो वा पातलो शरीर वा गोरो वर्ण वा कालो वर्णले मानिसको मूल्यांकन हुँदैन । उसको स्वभावले उसको मूल्यांकन हुने गर्दछ । हामीले हेक्का राख्नु पर्ने सत्य कुरा यही हो । हाम्रा ग्रन्थमा उल्लेखित कुराहरू कतिपय मिथक हुन भनिन्छ । ठीक छ ती कुराहरू मिथक होलान तर त्यही मिथकबाट पनि त केही स्वभावका कुरा सिक्न सकिन्छ । केही ज्ञानगुनका कुरा छन् भने ती सिक्दा के फरक रहन्छ र ? यहाँ उल्लेख भएको एउटा उपकथामा जुन रुक्मीले गरेको हरकतको कुरा आयो यसमा एउटा महिलाको सम्मान गर्न सिकेको देखिएन् । हुन त आज पनि केही स्थानमा महिलालाई पुरुषले जे भन्यो त्यही मान्न पर्ने वाध्यता रहेका छन् । सबै महिलाहरू आजसम्म पनि स्वतन्त्र हुन सकेका छैनन् । पहिले देखिको निरंकुशता बाँकी छ । यस्ता कुराहरू हटाउनतर्फ सघाउनु पर्दछ । यसको साथमा धन, मन र रूपको घमण्ड पनि त्याग्न जान्नु र सक्नुपर्दछ । जान्नु एउटा कुरा हो सिक्नु अर्को कुरा हो । जानेकाहरूले पनि यहाँ त्याग्न नसेकर विग्रेको छ । आफ्नो स्वभावमा अन्तर ल्याउन सकेका छैनन् । चाहे राजनीति गर्ने होउन चाहे सरकार चलाउने होउन चाहे विभिन्न पेसा व्यवसाय अपनाएर बसेकाहरू होउन । सबै सबैले आफ्नो स्वभाव सहज र सरल बनाउन आवश्यक छ । रुक्मीको जस्तो स्वभावले आफूलाई घात गर्ने भन्दा अरू केही पनि प्राप्ति हुँदैन ।