ट्रेंडिंग:

>> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द

स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनका चुनौती र उपायहरू

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवलमा आधुनिक स्वास्थ्य सेवाको सुरुवात भएको करिब एक शताब्दी पुगिसकेको छ र बुटवलमा शुरु भएको स्वास्थ्य सेवा अहिले बुटवल वरपरका जिल्लामा समेत द्रुतगतिमा फैलिएको छ । बुटवललाई केन्द्र मान्दा बुटवलको १० किमी भित्रको सेरोफेरोमा करिव डेढ दर्जन अस्पताल र नर्सिङ होमहरू, सयवटा क्लिनिक त्यत्तिकै संख्यामा औषधिपसल र साना क्लिनिकहरूका साथै दुई दर्जन प्रयोगशालाहरू संचालित छन् । बढिरहेका स्वास्थ्य संस्था र मेडिकल कलेजहरूका साथै उपलब्ध सेवाहरूले गर्दा बुटवल मेडिकल सिटी बनिरहेको छ । विगतमा सामान्य रोगका कारणले मर्नुपर्ने वा उपचारको लागि काठमाण्डौं, भरतपुर र गोरखपुर जाने सास्तीबाट नागरिकले मुक्ति पाएका छन् । एकातर्फ स्वास्थ्य सेवा र सुविधामा बृद्धि भैरहेको छ भने अर्कोतर्फ यिनै स्वास्थ्य संस्थाहरूको कारणले समस्या पनि बढिरहेको छ । समस्या बढ्नुको मुख्य कारण बनेको छ –स्वास्थ्य संस्थाहरूबाट निस्कने फोहरमैला व्यवस्थापन ।

के हो स्वास्थ्य संस्थाजन्य फोहर ?

फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा २ (ल) ले अस्पताल, फार्मेसी, क्लिनिक, औषधि पसल, ब्लड बैक प्याथोलोजिकल प्रयोगशाला, पशु स्वास्थ्यजन्य संस्था र स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहरमैलालाई स्वास्थ्य संस्थाजन्य फोहरमैला भनि परिभाषित गरेको छ । त्यसैगरी सोही दफामै प्राकृतिक वातावरणमा ह्रास ल्याउने, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा हानी नोक्सानी पु¥याउने, विभिन्न रूपमा निष्काशित वस्तु, पदार्थ र रेडियो विकिरणलाई हानिकारक फोहरमैला भनि उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संस्थाबाट उत्पादन हुने संक्रामक वस्तु (रगत, विर्य खकार, टाँसिएका कागत, ब्याण्डेज, कपास), प्याथोजनिक (शरीरका अंग, भ्रुण), धारिला वस्तुहरू (सिरिन्ज, ब्लेड, स्टिच), औषधिजन्य फोहर (पुराना औषधि, भ्याक्सिन), जेनोटक्सिक फोहर (क्यान्सरको उपचारको क्रममा उत्पादित फोहर), रासायनिक फोहर,मर्करी र एक्सरेयुक्त फोहर र विकिरणधर्मी बस्तुलाई स्वास्थ्य संस्थाजन्य फोहर मानेको छ । सामान्य अर्थमा भन्नुपर्दा सबै किसिमका स्वास्थ्य संस्थाहरूबाट निस्कने खानेकुराका अवशेष बाहेक बिरामीको सम्पर्कमा आएका र उपचारको क्रममा उपयोग भएर खेर गएका सबै वस्तुहरू नै स्वास्थ्य संस्थाजन्य फोहरमैला हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालजस्ता विकासोन्मुख राष्ट्रमा अस्पतालाजन्य फोहरमैला मध्ये ८५ प्रतिशत सामान्य अर्थात् हानीरहित, ५ प्रतिशत संक्रामक र १० प्रतिशत संक्रामक नभएका तर हानीकारक प्रकृतिका हुने गरेका छन् ।

स्वास्थ्य संस्थाजन्य फोहरको उत्पादन

अस्पतालजन्य फोहरमैला छुट्टै विसर्जन नगरिने भएकोले बुटवल लगायतका रूपन्देहीका स्वास्थ्य संस्थाहरूले कति फोहर निस्कासन गर्छन भन्ने छुट्टै र नविन तथांक उपलब्ध छैन । स्वास्थ्य मन्त्रालयको एक अध्ययन अनुसार अस्पतालका प्रतिबेड बिरामी बराबर १.२ केजी फोहर उत्पादन हुने गरेको छ । त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागको एक अध्ययन अनुसार बुटवलमा प्रति अस्पताल प्रतिदिन ४० केजी फोहर चिकित्साजन्य फोहरमैला उत्पादन हुन्छ । त्यसैगरी अन्य स्वास्थ्य संस्थाहरूले प्रतिदिन औसतमा ७ केजी त्यस्तो फोहर उत्पादन गर्दछन् । यी तथ्यांकहरूलाई आधार मान्दा बुटवल र यसको वरिपरीको क्षेत्रमा प्रतिदिन करिव दुई टन स्वास्थ्य संस्थाजन्य फोहरमैला उत्पादन भैरहेको देखिन्छ । स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने फोहरमा मुख्य हिस्सा प्लास्टिक, रबर, काँच, धातु, कपडा र कागजको देखिन्छ । प्रयोग भएका ब्यान्डेज, कपास, सिरिन्ज, औषधि र भ्याक्सिनका खाली तथा फुटेका बोतल, रबर ग्लोब्स, पुराना एक्सरे र अन्य टुटेफुटेका सामानहरू अस्पतालले फोहरको रूपमा फ्याक्ने गरेका छन् । प्रयोगशालाहरूबाट निस्कने तरल फोहर भने सिधै ढलमा मिसाइने भएकोले त्यस्ता फोहरमैलाको मात्रा र अवस्था भने यकिन गर्न सकिदैन ।

फोहर व्यवस्थापनमा लापरवाही

स्वास्थ्य संस्थाजन्य फोहरमैला जनस्वास्थ्य र वातावरणीय दृष्टिमा अति हानिकारक हुने भएकोले यस्ता फोहरलाई निष्कासन, ढुवानी र विसर्जन गर्दा विशेष व्यवस्था अपनाउनुपर्ने कानुनी व्यवस्था छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ मा स्वास्थ्य संस्थाहरूको हानिकारक र संक्रामक प्रकृतिका फोहरमैलालाई अन्य फोहरसंग मिसाएर फाल्ने र जनस्वास्थ्य र वातावरणमा असर पुग्ने फोहरमैलालाई दण्डनीय कार्य मानेको छ । सर्बोच्च अदालतले स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने हानीकारक फोहर र घर वा कार्यालयहरूबाट उत्पादन हुने सामान्य फोहर एकै ठाउँमा भण्डारण तथा विसर्जन गर्नाले सम्पूर्ण फोहोर हानीकारक हुन जान्छ र यसलाई व्यवस्थापन गर्न झनै कठिन हुने भएकोले अस्पताल, स्वास्थ केन्द्र एवं नर्सिङ्गहोम समेतलाई जिम्मेवार बनाई त्यस्ता स्वास्थ संस्थाहरूबाट निसृत हुने फोहर मैलाको व्यवस्थापनको दायित्व त्यस्ता संस्थाहरू समेत उपर लगाउनु पर्ने र स्वास्थ संस्थाबाट निष्कने फोहरहरूलाई संक्रमित र असंक्रमित गरी दुई भागमा छुट्याई संक्रमित फोहोर अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरी किटाणुरहित भएपछि अरू फोहरमा मिसाई ल्याण्डफिल साइटमा पठाउने दायित्व त्यस्ता संस्थाहरूको हुने परमादेश दिएको छ ( निर्णय न. ८९२२, ने.का.प्. २०६९, अंक ११ ) ।

फोहरमैला व्यवस्थापन नियमावली, २०७९ ले स्वास्थ्य संस्थाले आफूले उत्पादन तथा निष्काशन गरेको स्वास्थ्य संस्थाजन्य फोहरमैलालाई स्रोतमै पृथकीकरण गरी प्रशोधन तथा व्यवस्थापन गर्नु पर्ने, स्वास्थ्य संस्थाजन्य संक्रमित फोहर पूर्णरूपमा निर्मलीकरण भए नभएको सम्बन्धमा मान्यता प्राप्त प्रयोगशालाबाट जाँच गराई प्रमाणित गराउनु पर्ने तथा स्वास्थ्य संस्थाले स्वीकृत विधि, प्रविधि र स्थलको प्रयोग गरी व्यवस्थापन गरे नगरेको अनुगमन स्थानीय निकायले गर्ने नियमावलीमा उल्लेख छ । स्वास्थ्य सस्थाले प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्न नसक्ने भएमा स्वास्थ्य संस्थाले प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन गर्नको लागि सम्बन्धित स्थानीय निकायलाई अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध गरेमा सो को प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन स्थानीय निकायले सेवा शुल्क लिएर आफैंले वा आफ्नो समन्वयमा गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ । स्वास्थ्य सेवा फोहर व्यवस्थापन निर्देशिका २०७१ ले सबै किसिमका स्वास्थ्य सस्था, प्रयोगशाला र अन्य स्वास्थ्य सम्बन्धित सस्थाहरूले आफुले उत्पादन गरेको फोहर कसरी व्यवस्थापन गर्ने र त्यसको जिम्मेवारी कसरी लिने भन्ने कुरामा स्पष्ट व्यवस्था गरेको छ । फोहरमैला ब्यवस्थापन राष्ट्रिय नीति २०७९ ले समेत स्वास्थ्य संस्थाहरूले नै संस्थाजन्य फोहरमैलालाई वर्गीकरण गरि ब्यवस्थापन गर्न लगाउने लगायतका कुरालाई मुख्य रणनिति समेत बनाईएको छ । तर यस्ता नीतिगत र कानुनी ब्यवस्थालाई बुटवल लगायत प्रदेशकै स्वास्थ्य संस्थाहरूले खिल्ली उडाइरहेका छन् ।

स्वास्थ्य संस्थाजन्य फोहरमैलालाई वर्गीकरण गरि संक्रामक र जोखिमपूर्ण फोहरलाई उच्च सतर्कताका साथ नष्ट गर्नुपर्ने हुन्छ । यसका लागि सम्बन्धित संस्थाले सुरक्षित इन्सिनेटर बनाउनु पर्ने हुन्छ । तर केही ठूला अस्पताल बाहेक अरू स्वास्थ्य संस्थाहरूले त्यस्तो इन्सिनेटर निर्माण र संचालन गरेको देखिन्न । धेरै स्वास्थ्य संस्थाहरूले तरल र रासायनिक फोहरमैला सिधै ढलमा गरेको देखिन्छ । खुला स्थान उपलब्ध भएका केही अस्पतालले आफ्नो परिसरमा फोहरमैला जलाउने गरेको भएपनि अन्य संस्थाहरूमा खाली ठाउँको अभाव भएकोले फोहर जलाउने÷गाड्ने गरेको पाइन्न । साना स्वास्थ्य संस्था र स्वास्थ्य व्यवसायीहरूले आफुले उत्पादन गरेका धेरै फोहरमैला नगरपालिकाले फोहर उठाउने ठाउँमा फाल्ने र त्यहाँ फाल्दा आलोचना हुनसक्ने खालका फोहरमैला संकलन गरि नजिकको सामुदायिक वन र खोला खोल्सामा फाल्ने गरेका छन् । तिनाउ नदीको एकान्त क्षेत्र, सुखौरा खोला, रोहिणी खोलाका साथै बुटवल, तिलोत्तमा र देवदहका सामुदायिक वनभित्र र महेन्द्र राजमार्गको छेउछाउ स्वास्थ्य संस्थाहरूको अघोषित डम्पिङ साइटहरू हुन् । यी क्षेत्रहरू घुम्ने हो भने सिरिन्ज, बोतल. औषधि, बन्देज र अन्य स्वास्थ्य संस्थाजन्य फोहरमैला यत्रतत्र छरिएको सजिलै देख्न सकिन्छ । यत्रतत्र छरिएका जोखिमपूर्ण फोहरले गर्दा खेतीपाती र सिचाई कार्य जोखिमपूर्ण र कठिन बनिरहेको छ । सामुदायिक वनभित्र छरिएका यस्ता जोखिमपूर्ण फोहरमैलाले गर्दा पशु चरिचरण र घाँसदाउरा संकलनमा असर पुगेको छ । जंगलमा छरिएका अस्पतालजन्य र अन्य फोहरमैलाको कारणले वनस्पतिको वृद्धि र विस्तारमा असर पुगेको मात्र छैन वर्षेनी यी क्षेत्रमा वन डढेलोका प्रकोपहरू बढिरहेका छन् ।

जटिल छैन व्यवस्थापन

बुटवल र आसपासको क्षेत्रमा स्वास्थ्य संस्थाजन्य फोहरमैलाको समस्या बढ्नुमा फोहर उत्पादनको मात्रा धेरै हुनु नभई फोहरमैला व्यवस्थापनमा लापरवाही हुनु हो । स्वास्थ्य संस्थाहरूले थोरै मात्र विवेकी बन्ने हो भने यस्ता फोहरमैलाको उचित व्यवस्थापन सजिलै गर्न सकिन्छ । स्वास्थ्य सेवा फोहर व्यवस्थापन व्यवस्थापन निर्देशिका २०७१ अनुसार स्वास्थ्य संस्थाहरूले फोहर उत्पादन स्थलमै फोहरमैलालाई हानिकारक÷हानिरहित र कुहिने÷नकुहिने अवस्था अनुसार बेग्लाबेग्लै वर्गीकरण गरेर संकलन गर्ने र हानिरहित तथा कुहिने फोहरलाई नगरपालिकाले संकलन गर्ने फोहरमा मिसाएर डम्पिंग साइटमा पठाउने हो भने चिकित्साजन्य फोहरमैला कम गर्न सकिन्छ । सक्रमणरहित धातु र प्लास्टिकलाई छुट्टै संकलन गरेर पुनः प्रसोधन गर्ने संस्थाहरूलाई विक्री गरेर आम्दानि हासिल गर्न सकिन्छ । स्वास्थ्य संस्थाहरूसंग खाली ठाउँ उपलब्ध भएका जैविक फोहरमैलाबाट कम्पोस्ट मल र बायोग्याँस उत्पादन गर्न सकिन्छ । शहरी क्षेत्रका स्वास्थ्य संस्थाहरूले छुट्टाछुट्टै फोहर विसर्जन स्थल र आधुनिक इन्सिनेटरको स्थापना र संचालन गर्न कठिन हुने भएकोले नगरपालिका र सबै स्वास्थ्य संस्थाहरूको साझेदारी र लगानीमा आधुनिक इन्सिनेटरको स्थापना र संचालन गर्नुपर्छ र यस्ता फोहर ढुवानी गर्ने छुट्टै गाडीको व्यवस्था गरेर फोहर संकलन गरि विसर्जन स्थलसम्म पु¥याउनु पर्छ । नयाँ स्थापना हुने स्वास्थ्य संस्थाहरूलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ र फोहरमैला व्यवस्थापन नियमावली २०७० मा उल्लेख भए अनुसारको फोहरमैला व्यवस्थापनको व्यवस्था भए मात्र संचालन अनुमति दिने व्यवस्था कडाइका साथ लागू गर्ने र चिकित्साजन्य फोहरमैला व्यवस्थापनमा लापरवाही गर्ने संस्थाको संचालन अनुमति रद्द समेत गर्नुपर्छ । अहिले फोहरमैलाको मात्र कम छ वा अहिलेसम्म विरोध भएको छैन भन्ने वहानामा स्वास्थ्य संस्थाहरू र नगर सफाइको जिम्मा लिएको नगरपालिकाले चिकित्साजन्य फोहर संकलन र व्यवस्थापनमा लापरवाही गर्न मिल्दैन । रूपन्देहीमा स्वास्थ्य संस्थाहरूको संख्या निरन्तर बढिरहेको छ । त्यसैले अहिले नै उचित योजना र व्यवस्था नगर्ने हो भने भविस्यमा चिकित्साजन्य फोहरमैला समस्या अझ बढ्ने र त्यसले यो क्षेत्रको जल,जमिन.जंगल र जनस्वास्थ्यमा अझ जटिल समस्याहरू बढ्ने निश्चित छ । सबै स्वास्थ्य संस्थाहरूको संचालक र अन्य सरोकारवालाहरूले यसतर्फ बेलैमा ध्यान दिनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?