© २०२३
नेपालमा पछिल्लोसमय बढ्दो चोरी शिकारीका कारण गैंडाको अस्तित्व संकटमा परेको छ । गैँडा संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गर्न विश्व वन्यजन्तु कोषले निरन्तर पहल गर्दै आएको छ तर गैंडाको संरक्षणमा भन्दा यसको चोरी तस्करीमा बृद्धि भैरहेको छ नेपालमा पाइने एकसिङे गैँडाको अस्तित्व त्यसैपनि खतरामा छ । नेपालका चार राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन । खागकै लागि गैंडाको शिकार गर्ने क्रम बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा खाग सुनभन्दा महंगो मूल्यमा कारोबार हुने गर्छ । त्यसैले खागका लागि गैँडाको चोरी सिकार हुने गरेको छ । वन्यजन्तु र तिनका अङ्गहरूको व्यापार नियमन गर्न कार्यान्वयनमा ल्याइएको साइटिस महासन्धिले सन् १९७७ देखि नै गैँडाको खाग ओसारपसारमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिवन्धले पनि गैडाको चोरी शिकारी रोकिएको छैन । गैंडाको संरक्षणमा धेरै पहिलेदेखि नै पहल गरिदै आएको छ । जस अनुसार गैँडालाई एक ठाउँमा मात्रै जोगाएर राख्दा कुनै रोगव्याधि, बाढी वा चोरी सिकारका कारण विनास हुन सक्ने सम्भावना रहेकाले गैँडाको दोस्रो बासस्थान कायम गर्न सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालियो । खागका लागि विश्वभर दैनिक तीनवटा गैँडाको चोरी सिकार हुने गरेको छ । नेपालमा समेत सबैभन्दा बढी संख्यामा चोरी सिकार गरिने वन्यजन्तु गैँडा हो । गैँडा संरक्षणको चुनौतीहरूमा बासस्थानको क्षेत्रफल घट्दै जानु र उपलब्ध बासस्थानको उचित व्यवस्थापन नहुनु तथा मानव–गैँडा द्वन्द्व मूख्य रहेका छन । साबिकका घाँस मैदानहरू वन र झाडीमा रूपान्तरण भएका छन । रैथाने घाँसका प्रजातिहरू लोप हुँदै गएका छन । जसका कारण गैंडा बचाउन समस्या परेको छ ।
गैडा संरक्षणका लागि सरकारले प्रयोग गरेको तीनखम्बे संयन्त्र निकै प्रभावकारी देखिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गरी तीनखम्बे संयन्त्रले गैँडाको चोरी सिकार नियन्त्रण, यसको बासस्थानको व्यवस्थापन र गैँडाका कारण उत्पन्न हुने द्वन्द्व न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो संयन्त्रलाई थप सहयोग पु¥याउन जिल्लास्तरमा वन्यजन्तु अपराध नियन्त्रण समिति गठन हुने गर्छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले समेत वन्यजन्तु अपराधका घटना हेर्ने व्यवस्था गरिएको छ । वन्यजन्तुसम्बद्ध अपराधीसमेत नेपाल प्रहरीको उच्च निगरानीमा रहने हुँदा पछिल्ला बर्षहरूमा गैँडाको चोरी सिकारमा संलनहरू पक्राउ पर्ने क्रम बढेको छ । फलस्वरूप पछिल्लो एक दशकमा छिटपुट घटनाबाहेक गैँडाको चोरी सिकार रोकिएको छ ।
नेपालले गैँडा संरक्षणमा विगत पाँच दशकदेखि उच्च प्राथमिकता दिँदै आएको भए पनि गैँडाको खागको अन्तर्राष्ट्रिय बजारमा हुने अवैध कारोबारका कारण यसको संरक्षण सधैँभर चुनौतीपूर्ण हुने देखिएको छ । सहरीकरण र खेतियोग्य जमिनको उपयोगमा आएको परिवर्तनका कारण गैँडाको विचरण क्षेत्र बर्सेनि साँघुरिँदै गएको छ । जसले गर्दा गैँडालाई मङ्सिरदेखि फागुनसम्मका चार महिना आहाराको कमी हँुदै गएको छ । चारैतर्फ निर्माण गरिएको तारबारका कारण गैंडा संकुचनमा पर्दै गएका छन । आहाराको अभावमा गैँडाको मृत्युदर बढ्दै जाने देखिएको छ । पूर्वी चितवनबाट गैँडाहरू पश्चिमतर्फ बसाइँ सर्दै जानु र गैँडाको मृत्युदर बढ्नुमा हिउँदमा गैँडालाई आहाराको कमी हुनु मुख्य कारक तत्व रहेको छ । अर्कोतर्फ गैँडाको मुख्य बासस्थान निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाँडिएको छ । यसले संरक्षणमा सहयोग पुगेको छ तर चोरी शिकारी नरोकिँदा गैडाको अस्तित्व संकटमा परेको छ । आगामी दिनमा गैंडाको संरक्षण गर्ने हो भने चोरी शिकारी नियन्त्रणमा सरकारको पहिलो ध्यान जानु जरूरी छ । चोरी शिकारी नियन्त्रणमा अहिलेसम्मको प्रयास काफी छैन । अतः गैंडाको बासस्थानको सुरक्षाका साथै उनीहरूको चरन क्षेत्र विस्तार गरेर गैंडाको संख्या बढाउनेतर्फ थप पहलको खाँचो छ ।