© २०२३
अहिले हरेक दिन बर्षा भैरहेको छ । बर्षाका कारण गाउँ र शहर बजार सवैतिर कुलो, ढल, नाली भरिएका छन । फोहरका कारण भरिएका ती ढल तथा नाली र कुलोहरू मच्छटको आहालमा परिणत भएका छन । बर्षा लागेसंगै डेंगुको जोखिम नेपालका ७२ जिल्लासम्म पुगेको छ । अहिले के तराई के पहाड सवैतिर डेंगुको जोखिम बढेको छ । त्यसमाथि तराईमा झनै डेंगु बढेको छ । संघीय राजधानी काठमाण्डौं समेत अहिले डेंगुको उच्च जोखिममा छ । हरेक दिन हुने बर्षा र डुवानले लामखुट्टेको प्रकोप बढ्ने समय आएको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । यो बर्ष डेंगुको प्रभाव बढ्दै गएको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ ।
गएका वर्षहरूमा विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान नगरपालिकाहरूले सञ्चालन गर्दै आएका थिए । तर, यो बर्ष अहिलेसम्म खोज र नष्ट गर अभियान सञ्चालन भएको छैन । अभियान सञ्चालनमा धेरै ढिलाई भएको छ । हरेक बर्ष चलाईने अभियानले निश्चितरूपमा डेंगु नियन्त्रणका लागि ठूलो भूमिका खेल्छ । तर, अव यत्तिले मात्र नपुग्ने अवस्था आएको छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । स्वयं व्यक्तिको भूमिका अझै धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । तर उसले गरेको आग्रहलाई पनि वेवास्ता गर्ने काम भएको छ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । यो भनिरहँदा रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो । डेंगु नियन्त्रणको अभियान चलाउन पालिकाहरूले ढिलाई गर्दा जोखिम अझै बढ्ने निश्चित जस्तै छ । अत रूपन्देहीका १६ वटै स्थानीय तहले डेंगु खोज र नष्ट गर अभियान चलाउन ढिलाई नगरौं । जति ढिलाई हुन्छ, त्यति नै डेंगुको जोखिम बढ्ने भएकोले पालिकाहरूको ध्यान जाओस् । पालिकाहरूसंगै प्रदेश र संघीय सरकारको समेत सहकार्यमा डेंगु नियन्त्रणको प्रभावकारी उपायको खोजी जरुरी छ । चिन्ताको कुरा के छ भने तराईमा मात्रै देखिने डेंगु पहाड र हिमालमा समेत उकालो लागेको अवस्था छ । तसर्थ डेंगु राष्ट्रिय समस्या बनिसकेकोले यसको नियन्त्रणमा पनि ढिलाई नगरौं । तत्काल खोज र नष्ट गर अभियान चलाऔं । राज्यका तीनवटै तहका सरकारसंगै नागरिक समाजले पनि होस्टेमा हैंसे गरेर डेंगु नियन्त्रणको अभियानमा ऐक्यबद्धता जनाउनु जरुरी छ ।