© २०२३
नेपाल सरकारले एकसय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेसंगै भारतले असन्तुष्टी ब्यक्त गर्दै तीब्र र हतारमा प्रतिकृया दिएको छ । भारतको हतारमा आएको प्रतिकृयाले नेपालप्रति उसको रवैया कस्तो छ भन्ने कुरा स्पष्ट गरेको छ । भारत नेपालमा सधै अस्थीरता चाहन्छ भन्ने कुरा उसका हरेक गतिविधिले स्पष्ट गर्दै आएका छन । नेपालको चुच्चे नक्सा एक सयको नोटमा राख्ने निर्णय भारतका लागि प्रिय नलाग्नु भारतको आफ्नो कुटनीति होला । तर, त्यसभित्र भारतको नेपालप्रति स्नेह होइन, बैरभाव झल्किरहेको छ । भारतले त्यस बिषयमा आफ्नो प्रतिकृया जनाएर नेपालको कालापानी क्षेत्रमा गर्दै आएको अतिक्रमणलाई बैधानिक बनाउन चाहन्छ । भारतको यस्तै रवैयाले आज उ दक्षिण एसियाबाट एक्लिने अवस्थामा पुगेको छ । ठूलाठूला इतिहास बोकेका देशहरू आज खराब कूटनीतिका कारण समाप्त भएका छन् । ऐतिहासिक विरासत बोकेका शक्तिशाली शासकहरूका शासनप्रणाली गलत कूटनीतिका कारण ध्वस्त भएका छन् । त्यसैले हरेक देशले इतिहासका यी तथ्यहरूबाट शिक्षा लिँदै कूटनीतिक रूपमा परिपक्व र जिम्मेवारीपूर्ण व्यवहार प्रस्तुत गर्न सक्नुपर्दछ । आजको विश्वमा दम्भ र घमण्डले होइन, असल कूटनीतिक सम्बन्ध कायम गरेर नै राष्ट्रको समग्र विकास र प्रगति गर्न सकिन्छ । विश्वका दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको नेपालमा कूटनीतिको महत्व झनै गंभीर छ । त्यसमाथि भारतले दर्शाउने अदूरदर्शी कुटनीतिले उसैलाई घाटा भैरहेको छ ।
नेपाल एकीकरणका अनेकौँ शृंखलाहरू पार गर्दै आजको देश निर्माण भएको हो । ब्रिटिस साम्राज्यसँग युद्ध र कूटनीतिको संयोजन गर्दै स्वतन्त्र राष्ट्रका रूपमा नेपालको इतिहास निर्माण भएको हो । पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति र दुई छिमेकीसँग समदूरीको सम्बन्ध हाम्रो कूटनीतिका मूल आधारस्तम्भ हुन् । पछिल्लोसमय कूटनीतिक दृष्टिले नेपालको अवस्था यतिवेला फरक ढंगको संकटपूर्ण स्थितिमा पुगेको छ । नेपाल सरकारले चुच्चे नक्साका बिषयमा जुन कुरा सार्वजनिक गरेको थियो, त्यो भारतको लागि टाउको दुखाई भएकै थियो । पछिल्लोपटक सयको नोटमा चुच्चे नक्सा अंकित गर्ने निर्णयले भारतलाई बिझ्नुपर्ने कारण छैन । यसबाट स्पष्ट हुन्छ नेपालको कालापानी क्षेत्रमा भारतले विवाद सिर्जना गर्ने कोसिस गरिरहेको छ । भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपश्चात् दक्षिणी छिमेकी भारतसँगको सम्बन्धमा समस्या देखिदै आएको छ । नेपाल सरकारका तर्फबाट बारम्बार वार्ता र संवादका लागि पत्राचार गरिएपनि भारतबाट विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्यबाहेक अन्य ठोस पहलकदमी भएको देखिँदैन । हरेक देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान सबैभन्दा उच्च हुन्छ । झन्डै साठी वर्षदेखि अतिक्रमणमा परेको भूभाग फिर्ता ल्याउनका लागि कुनै न कुनै वेला ठोस पहलकदमी उठाउन जरुरी त पथ्र्याे नै । यतिवेला सयको नोटमा चुच्चे नक्सा राखेर सरकारले राम्रो काम गरेको छ । भारतले यो बिषयमा असहमति जाहेर गरेको छ । भारतले यस बिषयमा विवादास्पद अभिव्यक्ति दिनुले सम्बन्धलाई झन् जटिल दिशातिर लगेको देखिन्छ । अतिक्रमित भूमि समेटेर नयाँ नक्सा त जारी भयो । तर, वास्तवमै भूमि फिर्ता कहिले होला, कसरी होला भन्ने आमजिज्ञासा व्यापक रूपमा छ । यस्तोवेला सरकार गम्भीरतापूर्वक भूमि फिर्तासम्बन्धी स्पष्ट रणनीतिमा लाग्नुपर्दछ । पछिल्लोटिक सरकारले चुच्चे नक्सा नोटमा अंकित गर्ने जुन काम गरेको छ, यसले नेपाल आफ्नो भूमि संरक्षणप्रति सम्बेदनशील र जिम्मेवार छ भन्ने सन्देश गएको छ । भारतको हेपाहा प्रवृत्ति पटाक्षेप भएको छ ।