© २०२३
आज बैशाख ७ गते । २०९ बर्ष अघि आजकै दिन बुटवलको जितगढी किल्लामा नेपाली बीर फौजले अंग्रेजलाई परास्त गरेको दिन । आजको दिन नेपालकै लागि ऐतिहासिक र खुसीको दिन पनि हो । त्यसमाथि समस्त बुटवलबासीका लागि अझै गौरवको दिन हो । बुटवलका लागि आजको दिन खुसीको दिनमात्र होइन, ऐतिहासिक दिन पनि हो । बुटवल उपमहानगरपालिकाले केही बर्षदेखि जितगढीमा अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बैशाख ७ गतेलाई जितगढी बिजयोत्सव दिवसको रूपमा मनाउँदै आएको छ । बुटवलको जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धमा उजिरसिंह थापाको कप्तानीमा रहेको नेपाली फौजले अंग्रेजलाई परास्त गरेको थियो । तसर्थ बुटवलको जितगढी किल्ला बीर पुर्खाहरूको पौरख रक्तरञ्जित भएको ऐतिहासिक किल्ला हो । जितगढीको इतिहास, यसको गौरव आदिलाई ह्दयंगम गरि जितगढी किल्लालाई विश्व सम्पदामा सुचिकृत गर्नेतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्छ । जितगढी किल्लाको बिस्तृत उत्खनन बाँकी छ । अतः जितगढीको व्यापक रूपमा पुरातात्वीक खोज अनुसन्धान वा अन्वेषण गरिनुपर्छ । जितगढी युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्दछ । बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढी सम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर यस क्षेत्रको विकासमा ध्यान दिनु जरुरी छ ।
जितगढीको बिस्तृत गुरुयोजना अझै बनेको छैन । अवका दिनमा जितगढीको बिस्तृत गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल बजारलाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने तथा जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजनाका साथ काम अघि बढाउनु जरुरी छ । बिगतमा धेरैपटक जितगढी संरक्षणको कुरा नउठेको होइन । तर, त्यसको नेतृत्व लिएर काम गर्ने टिमको अभाव थियो । नेपालको यस्तो ऐतिहासिक किल्ला बषौंसम्म बेबारिसे हुनु नेपालकै लागि शोभनीय थिएन । यसमा नेपाल सरकारको त कहिल्यैपनि ध्यान गएन । जेहोस बुटवल उपमहानगरको प्रमुखमा निर्वाचित भएपछि शिवराज सुवेदीले २०७५ सालदेखि जितगढी उत्सव मनाउने परम्परा सुरुवात गर्नुभयो । नेपाली सेनाले समेत जितगढीको बिषयमा चासो र संरक्षणको लागि प्रयास सुरु ग¥यो । फलस्वरूप अहिले जितगढीको स्वरूपमा परिवर्तन आएको छ । नेपालको यहीमात्र एक किल्ला हो– जहाँबाट अंग्रेज फौज परास्त भएको थियो । युद्धका दौरानमा नेपाली सेनाका धेरै बीर सपुतको रगत बगेको छ । आज ती बीर सपुतलाई सम्झनु पर्दछ जसले नेपालको भूमि जोगाउन ठूलो योगदान दिए । जितगढी किल्लामा बीरगति प्राप्त गरेका १२ जना सैनिकको जितगढीमा शालिक निर्माण भएको छ । जितगढी युद्ध संग्रहालयको निर्माण भएको छ । अवको दिनमा जितगढीलाई युद्ध स्मारकका रूपमा विकास गर्न सकियो भने यसबाट स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । यसमा दह्रो प्रतिवद्धताको आवश्यकता छ । अब जितगढीमा अंग्रेजसंग लडाईको नेतृत्व गर्ने कर्णेल उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्नेतर्फ अबिलम्ब सरकारको ध्यानाकर्षण होस् । त्यसो त बुटवल उपमहानगरले औपचारिकरूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यो बिषयमा प्रस्ताव गरिसकेको छ । अव ढिला नगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने बिषयमा सरकारलाई दवाव दिनु जरुरी छ । जितगढी किल्ला र यस वरिपरीको क्षेत्रको विस्तृत उत्खनन नहँुदा यो क्षेत्रमा रहेका ऐतिहासिक वस्तुहरू अझैपनि ओझेलमा परेका छन् । तसर्थ अझैपनि जितगढी किल्लाको बृहद् उत्खनन आवश्यक छ । यसतर्फ पहल होस् । खासगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने र जितगढी किल्लाको अझै बिस्तृत उत्खनन गरि यसको थप इतिहास खोजी गर्नेतर्फ सरकार, बुटवल उपमहानगर र नेपाली सेनाको ध्यानाकर्षण होस् ।