© २०२३
अचेल शहरका साथै ग्रामीण क्षेत्रमा समेत बजारीकरण बढिरहेको छ । वस्ती बाक्लिँदै जाँदा त्यहाँको सुन्दरतामा भने चुनौति थपिएको छ । प्रायः बजारहरू ब्यवस्थित र योजनावद्ध तरिकाले बसाइएको नभै ब्यक्तिगत तरिकाले वस्ती बसेको छ । नगर विकास समितिहरू र स्थानीय सरकारका स्मार्ट वस्ती विकास योजनाहरूका कार्य खासै प्रभावकारी देखिएका छैनन् । पालिकाभित्र भएका सार्वजनिक जग्गा कहाँकहाँ कति कस्तो अवस्थामा छन् भन्ने यकिन समेत भएको छैन । बरु सार्वजनिक जग्गा भूमाफियाहरूले कब्जा गरेर आफ्नो बनाएका धेरै समाचार पढ्न पाइन्छ । बजार वरपर, खोला नदीकिनार, राजमार्ग वरपर, वन क्षेत्र, सार्वजनिक जग्गामा बनेका विद्यालय, सरकारी कार्यालय वरपरका सार्वजनिक जग्गामा वस्ती बढेको देखिन्छ । पहिलेदेखि नै अब्यवस्थित तरिकाले बनेका पुराना शहर बजारका साथै नयाँ बजारीकरण भएका वस्तीमा फोहर, ढल, सडक, खानेपानी, बिजुली ब्यवस्थाको समस्या छ । निजी तथा सार्वजनिक भवन निर्माणमा निश्चित मापदण्ड छैन । तसर्थ विविधतायुक्त निर्माण कार्य र अब्यवस्थित व्यवसायका कारण बजारको सौन्दर्यताभन्दा कुरूपता बढिरहेको छ । बजारको सौन्दर्यता र स्वस्थ बसाई वातावरण सिर्जना गर्न स्थानीय पालिकाहरूले पहल गर्नुपर्ने अवस्था देखिएको छ ।
बजार क्षेत्रको सौन्दर्यकरणका लागि पालिकाभित्र आवास र ब्यवसाय क्षेत्र अलग अलग गर्नुपर्ने देखिन्छ । यसले गर्दा आवास क्षेत्र सफा, शान्त रहने र मानव स्वास्थ्यका लागि उपयुक्त हुने देखिन्छ । ब्यवसाय अन्तर्गत पनि विषयगत क्षेत्र निर्धारण गर्नु आवश्यक छ । कतिपय होटल वा रेष्टुरेण्टसँग जोडिएका मोटरसाइकल, गाडी मर्मत गर्ने ग्यारेज देखिन्छन् । तरकारी र हार्डवेयर पसल सँगसँगै छन् । सिमेन्ट लोड–अनलोडको धुलो तरकारीमा पुगेको देखिन्छ । खाजा पसलहरू बाटोमै टाँसिएर र दिनभर सडकको धुलो खानामा पुग्ने गरी बाहिर प्रदर्शन गरिएका हुन्छन् । बसपार्क र चोक चोकमा खुला ठाउँमा जङ्क फुड खानेहरूको भीड लाग्दछ । सर्बसाधारणमा बैयक्तिक स्वास्थ्यको समेत चेतना छैन भने सार्वजनिक सम्पति सुरक्षा, सौन्दर्यताजस्ता पक्षमा सचेतना बढाउन धेरै कार्य गर्नुपर्ने देखिन्छ । तसर्थ पालिकाले निश्चित क्षेत्र तोकिदिने हो भने बिस्तारै विशिष्टिकृत वस्ती बस्ने थियो ।
पालिकाभित्र निर्माण गरिने भौतिक पूर्वाधारका लागि मापदण्ड बनाउनु आवश्यक छ । कतिपय बजार क्षेत्र भौगालिक बनोटका हिसाबले अग्ला भवन बनाउन उपयुक्त देखिदैनन् । एक दुई तलाको फरक स्वाभाविक देखिन्छ तर कुनै घर एक–दुई तला र कुनै घर सात–तलाका हुँदा अस्वाभाविक देखिनुका साथै सामाजिक सम्बन्धमा समेत समस्या देखिएको छ । ठूला अपार्टमेन्ट प्रकृतिका भवनहरूका लागि त्यही अनुसारको भूगोल र ब्यवसायको सुनिश्चितता हुनु आवश्यक छ । मानिसहरूलाई ठूला महल बनाउनेभन्दा उद्योगधन्दातिर उत्प्रेरित गर्नु आवश्यक छ । आवास र ब्यवसायिक प्रयोजनका लागि फरक फरक मापदण्ड बनाउनु आवश्यक छ । एम्बुलेन्स् र डाक्टरका गाडीसमेत राजमार्गमा पार्किङ्ग गर्ने अस्पताल वा ब्यवसायिक क्लिनिकहरू, राजमार्गमा बस पार्किङ्ग गर्ने विद्यालयहरू छन् । अन्य पसल, होटलहरूका पार्किङ्ग नै छैनन् । पालिकाहरूले निजी आवासका लागि कम्तीमा कार पार्किङ्ग र ब्यवसायिक प्रयोजनका लागि ब्यवसायको प्रकृति अनुसार पार्किङ्ग सुनिश्चितता गरी निर्माण कार्यका लागि अनुमति दिने ब्यवस्था अनिवार्य गर्नु जरुरी छ । त्यसैगरी निर्माण सामाग्री रातीमा ल्याउने, आफ्नो निर्माणस्थलमा भण्डारण गर्नुपर्ने र बाटोमा राख्न नपाउने नियम बनाई कडाईका साथ लागू गर्नुपर्छ । भवन वा अन्य निर्माण कार्य गर्दा जाली वा बारको अनिवार्य ब्यवस्था गर्नुपर्ने, निर्माणस्थल वरपर बिग्रेको सडक तुरुन्तै मर्मत गर्ने, ढलको ब्यवस्थापन, खानेपानीको ब्यवस्थापन, फूलविरुवा रोपण लगायतका प्रावधान अनिवार्य गर्नुपर्छ । विद्युत, टेलिफोन र टेलिभिजनका पोल र तारले बजारलाई कुरूप बनाएका छन् । पालिकाले यी निकायसँग छलफल गरी निश्चित मापदण्ड बनाउने र समाधान खोज्ने गर्नु आवश्यक छ । पानी, ढल गल्ली गल्लीमा खुला बगेको पाइन्छ । यसले दुर्गन्ध फैलाउने र मानव स्वास्थ्यमा समेत असर पार्ने भएकोले तुरुन्त समाधान गर्नुपर्छ । पानी जम्न नदिने, हिलो धुलो हुन नदिने, खाल्डाखुल्डी तुरुन्त टाल्ने गर्नुपर्छ । विभिन्न प्रकारका सरकारका मुख ताकेर बजारको बेहाल पार्नु हुदैन । स्थानीय सरकारले एक्सन लिन सक्नुपर्छ ।
बजार क्षेत्रको सौन्दर्यकरणका लागि पालिकाले स्थानीय बासिन्दाको सहकार्यमा फूलबिरुवा रोप्ने, खाली ठाउँ नभएका घना वस्तीमा पनि घरको ढोका, झ्याल, कौशी, छत आदि ठाउँमा गमलामा फूल रोप्ने, भित्तामा फ्रेम बनाई गमला राख्ने स्ट्याण्ड बनाउने र फूल रोप्ने सँस्कृति विकास गर्न सकिन्छ । खाली ठाउँ छ भने फूलविरुवा रोप्न उत्प्रेरित गर्ने, शहरमा खाली सार्वजनिक जग्गाको संरक्षण गरी ब्यायाम क्षेत्र र फूलबारी वा पार्क निर्माण गर्ने, पर्खाल वा भित्तामा स्थानीय धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्र वा स्थानीय कला संस्कृति झल्काउने पेन्टिङ्ग गर्ने वा स्थानीय, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुकरणीय ब्यक्तित्वहरूको फोटो पेन्टिङ्ग गर्ने कार्यले शहरको पहिचान र सौन्दर्यकरणमा सहयोग पुग्दछ । यसका साथै प्लाष्टिकजन्य झोला, माला, पोका आदिको बिक्रीलाई नियन्त्रित गर्ने, गल्लीगल्लीमा फोहर फाल्ने डस्टबिन राख्ने र दैनिक सफा गर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन गर्ने, सडक खाना सफा र स्वस्थकर भएको सुनिश्चित गर्ने, सडक ब्यापार बन्द गर्ने, डोको वा ठेला ब्यापारको निश्चित क्षेत्र तोक्ने, घर वा ब्यवसायबाट उत्सर्जित फोहर सम्बन्धितले नै राख्ने र पालिकाले दैनिक संकलन गर्ने अर्थात् फोहरलाई सडकमा फाल्न नदिने ब्यवस्था गर्नुपर्छ । जनस्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थ, गुड्खा लगायतका पदार्थ बिक्री नियन्त्रित गरी सडक वा सार्वजनिक स्थलमा थुक्ने, फाल्ने कार्य नियन्त्रण गर्नु आवश्यक देखिन्छ ।
बजारको सौन्दर्यकरण स्थानीय बासिन्दाका लागि विशेष महत्व राख्ने भएकोले यस कार्यमा पालिकाले स्थानीय बासिन्दाको सहयोग र सहभागितामा कार्यहरू गरी नागरिक दायित्वबोध र अपनत्व विकास गर्नुपर्ने हुन्छ । अन्यथा नगरपालिकाले फोहर राख्न दिएको बाल्टी मानिसहरूले भान्सामा चामल राख्न प्रयोग गरेका उदाहरण पनि छन् । पालिकाहरूले कुनै वर्ष कुनै एउटा कार्य गर्ने तर चार–छ महिनापछि क्रमशः हट्ने गरेको देखिन्छ । वास्तवमा बजारको सौन्दर्यकरण कुनै कार्यक्रम नभै अभियान र संस्कृति बनाउन सकियो भने मात्र दिगो सौन्दर्य निर्माण गर्न सकिन्छ ।