© २०२३
पछिल्लोसमय नेपालमा पर्यटक आगमन उत्साहजनकरूपमा बृद्धि भएको छ । पर्यटक आगमनले नेपालको अर्थतन्त्रलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । गत कार्तिक महिनामा अहिलेसम्मकै धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन । यो नेपालका लागि अत्यन्त खुसीको कुरा हो । यसैगरी हरेक महिना पर्यटक बढ्ने हो भने यसले नेपालको अर्थतन्त्रमाथि उठाउन ठूलो भूमिका निर्वाह गर्नेछ । अर्थतन्त्र चलायमान बनाउनेमात्र नभै आन्तरिक रोजगारी सिर्जनाका साथै बजार गुल्जार हुन ठूलो सहयोग पुग्न सक्छ । नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले ठूलो उत्साह सिर्जना गरेको छ र यसबाट पर्यटन ब्यवसायी खुसी र उत्साहित भएका छन । त्यसै त कोरोनाका कारण विगत तीन बर्षदेखि थला परेको भगवान गौतमबुद्ध जन्मस्थल लुम्विनीको पर्यटन क्षेत्र पनि विस्तारै माथि उठ्न थालेको छ । लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन भएकोले पनि लुम्विनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ ।
लुम्विनीका पर्यटन व्यवसायी विगत तीन बर्ष सुस्ताएको पर्यटनमा अव सुधार आउने अपेक्षा गरेका छन । लुम्विनीमा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढेको छ । कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिने पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्येको एक हो । लुम्विनीसंगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यमा समेत अहिले पर्यटकको आगमन बढेको छ । त्यसबाट नीजि क्षेत्रपनि उत्साहित वनेको छ र विस्तारै पर्यटनसंगै अन्य क्षेत्रपनि आफ्नो गतिमा आउने आधार सिर्जना भैरहेको छ । यो खुसीको कुरा हो ।
पर्यटन व्यवसाय ओझेलमा परेको अवस्थामा देशको समग्र आर्थिक कृयाकलापमा प्रभाव पर्ने गरेको विगतको उदाहरण काफी छन । तसर्थ अव सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि ठोस पहल गर्नु जरुरी छ । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोले देशभर रहेका पर्यटकीय स्थलको संरक्षणमा अव चासो दिनु जरुरी छ । अहिले जसरी लुम्विनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सवैतिर हुनुपर्दछ भन्ने हो । कोरोना कालको विगतको कठिन परिस्थतिमा नेपालको पर्यटन क्षेत्र थला परेकै हो । अव यसलाई उठाउने जिम्मा सरकारले लिनुपर्दछ । सरकारका एउटै निर्णयले पनि पर्यटन व्यवसायमा धेरै परिवर्तन आउन सक्छ ।
सरकारका प्रयासले पर्यटन क्षेत्रलाई पूर्ववत गराउन धेरै सहयोग पुग्छ । पर्यटन क्षेत्रलाई सुचारु गराउन सकिएमा यो क्षेत्रमा आश्रित हजारौं मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा ठूलो सहयोग पुग्नेछ । अव सरकारले लुम्विनीसंगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्न स्थानीय स्तरमै ठोस प्याकेज ल्याउनुपर्छ । अव आन्तरिकसंगै बाह्य पर्यटक नेपाल ल्याउन सके देशको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ । सरकारले पर्यटन दशक समेत घोषणा गरेको सन्दर्भमा पर्यटन व्यवसायीले समेत सरकारको योजना सफल बनाउनेतर्फ ठोस पहल जरुरी छ । जेहोस पछिल्लोसमय जसरी पर्यटन क्षेत्रले आशा जागृत गरेको छ, यस्तै अरू देशले समेत हौसला जगाउन सक्ने हो भने निश्चितरूपमा नेपालको ओरालो लागेको अवस्थामा सुधार आउनेछ । नेपालमै रोजगारी बढाउन मद्दत पुग्नेछ । आगामी दिनमा पर्यटन क्षेत्रमा देखिएको उत्साहमा कमी आउन नदिने हो भने पर्यटकहरूलाई आकर्षित गर्ने विभिन्न प्याकेज घोषणामा समेत ध्यान दिनु जरुरी छ । पर्यटन दशक मनाउँदै गर्दा थप पर्यटक आकर्षित गर्ने माध्यम खोजी गर्नुपर्दछ । त्यसका लागि सरकार र पर्यटन व्यवसायीबाट सामूहिक प्रतिवद्धता र सहकार्यको खाँचो छ ।