© २०२३
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यो अस्पताल अहिलेपनि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विरामीले सेवा लिने गन्तब्य हो । यो अस्पतालप्रति आम विरामीको भरोसा र विश्वास छ । पछिल्लोपटक अस्पतालले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ । यो खुसीको कुरा हो । अव विगतमा जस्तो टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । तर, अस्पतालमा विरामीको चाप र लाईन देख्दा अनलाईन टिकटले मात्रै विरामीले सहजरूपमा सेवा पाउँछन् भन्ने अवस्था छैन । जहिलेसम्म अस्पतालको बहिरंग सेवामा विरामीले निर्धक्क भएर चिकित्सकीय सेवा लिन पाउँदैनन् तबसम्म अस्पतालको सेवामा सुधार भएको ठान्नु गलत हुनेछ । बजेसम्मको अवस्था हेर्दा लाग्छ– अस्पतालप्रति विरामीको अगाध भरोसा र विश्वास छ तर उपचार सेवा पाउन उत्तिकै संघर्ष गर्नुपर्ने अवस्था छ । निश्चितरूपमा नहुनुभन्दा भएको राम्रो हो । अनलाईन टिकट सेवाले विरामीलाई टिकटकै लागि लाईन बस्नु नपर्ने भएको छ । यो स्वागतयोग्य कुरा हो तर अस्पतालमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । कुनैपनि विरामीले सहजरूपमा चिकित्सकीय सेवा नपाउँदासम्म अस्पतालप्रति गुनासो रहिरहन्छ । तसर्थ अस्पताल प्रशासनले बहिरंगतर्फका विरामीको दैनिक चापलाई व्यवस्थापन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
त्यसो त लुम्बिनी प्रदेश सरकारले यो अस्पतालप्रति सुरुदेखि नै स्नेह देखाईरहेको छ । लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको सरकारले यो अस्पताललाई प्रदेशकै गौरवको आयोजना घोषणा गरेको हो । त्यसयता अस्पतालको सुधारमा धेरै काम भएका छन । पछिल्लोपटक अस्पतालको भब्य एवं आधुनिक भवन बनाउन प्रदेश सरकारले यो बर्ष एक अर्ब ८० करोड विनियोजन गरेको छ । त्यसैगरी अस्पतालमा एमआरआई सेवा सुरु गर्न १५ करोड विनियोजन भएको छ । प्रदेश सरकारले अस्पतालप्रति दर्शाएको अपनत्वले अव हजारौं विरामीले सेवा पाउने कुरामा ढुक्क हुने स्थिति आएको छ । अव अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नेतर्फ अस्पतालको ध्यान जाओस । अर्बौं रूपैया लगानी गरी बन्ने नयाँ आधुनिक भवनबाट हुने उपचार सेवा पनि स्तरीय र छिटोछरितो हुनैपर्दछ । अस्पतालले पनि चिकित्सकीय सेवा बढाउँदै विरामीका लागि सहज र छिटो उपचार सेवा पाउने ग्यारेन्टी गर्नुपर्दछ । त्यसका लागि अस्पतालले शून्यको अवस्थाबाट सुधार सुरु गर्नुपर्दछ । अहिलेपनि अस्पतालको शौचालयको अवस्था दुर्गन्धित छ । शौचका लागि छिर्ने वातावरण नै छैन । अस्पतालको शौचालयको अवस्था नै राम्रो छैन भने यसले दिने सेवाको कस्तो अवस्था होला ? निश्चय नै सेवाग्राहीले प्रश्न उठाउँछन् । सरसफाईको अभावमा फोहोरमैलाले शौचालय वरिपरी नाक थुन्नुपर्ने बिजोगको अवस्था छ । कतिसम्म भेदभाव छ भने अस्पतालका चिकित्सक र कर्मचारीका लागि आन्तरिक शौचालय छन । ती सफा र दुर्गन्धरहित छन तर सेवाग्राहीलाई भने दुर्गन्धित शौचालय त्यो पनि अधिकांश ढोका नभएको अवस्थामा छन । सेवाग्राही मुस्किलले शौच गरेर बाहिर निस्कँदा कुनै ठूलो अपराध गरेर जेलबाट बाहिर निस्कँदाको स्वच्छन्दताको अनुभूति गर्नुपर्ने अवस्था छ । के यस्ता शौचालयको सुधार हुँदैन ? सेवाग्राहीले प्रश्न गर्न थालेका छन् । तसर्थ अस्पताल प्रशासनले ढिलाई नगरी सुधारतर्फ ध्यान दिनु जरुरी छ । साना साना कामबाट सुरु भएको सुधार दिगो हुन्छ । तसर्थ अस्पतालले उपचार सेवासंगै सरसफाईलाई पनि पहिलो प्राथमिकतामा राखोस् ।