© २०२३
‘मरुभूमिकरण र खडेरीविरुद्ध लड्न ढिलाई नगरौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार नेपालमा विविध कार्यक्रमको आयोजना गरि मनाइदैछ । यो वर्षको नाराले नै संकेत गरिरहेको छ कि खडेरीको समस्या बढिरहेको छ र चुरे दोहन, वन विनास लगायतका समस्याका कारण नेपाल पनि मरुभूमिकरणको समस्याले आक्रान्त बन्ने अवस्था उत्पन्न भएको छ । अहिले अनाबृष्टि तथा अतिबृष्टिका कारण विश्वमा गंभीर प्रकृतिको प्राकृतिक असन्तुलन हुने अवस्था आएको छ । खडेरीको जोखिम बढिरहेको छ । वातावरण विनासका कारण धेरै प्रकृतिमा धेरै असर परेको छ । विश्व मरुभूमिकरणको खतरा बढिरहेको छ । चुरैको बिनासले मरुभूमिको समस्या बढ्दै छ । वातावरण दिवस मनाउँदै गर्दा र वातावरण विनासका अन्य क्षेत्रको विषयमा चर्चा भैरहँदा पछिल्लोपटक वातावरण संरक्षणमा चुनौति बढ्दै गएको छ । जैविक तथा प्राकृतिक सन्तुलन कायम गरी मानव जीवन अनुकूलित वातावरण कायम राख्ने उद्देश्यले सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाईदै आएको छ । नेपालको संविधान ०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गरेको छ । साथै पीडित पक्षलाई वातावरणीय प्रदुषण, ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदुषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । अव प्रदूषण कम गर्न आम सर्बसाधारणको जागरूकता आवश्यक छ । चिन्ताको कुरा के छ भने प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालयस्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ । वातावरणका विषयमा विद्यालय तहबाटै शिक्षा दिनु जरुरी छ ।
पछिल्लोसमय वातावरण विनासको सबैभन्दा ठूलो असर हिमताल माथि परिरहेको देखिएको छ । नेपालका हिमताल बेलाबखत फुटन थालेका छन । यो बर्षपनि दुईवटा हिमताल फुटेका छन । यद्यपि त्यसबाट ठूलो क्षति भएको छैन । विश्व वातावरण दिवस मनाउँदै गर्दा विश्वकै चासो र चिन्ताको विषय बढ्दो तापमान कसरी घटाउने भन्ने नै हो । निश्चित रूपमा हिमताल फुटनेक्रम बढ्यो भने त्यसको असर विश्वभरि पर्नेछ । त्यसैकारण विश्वले गम्भीर समस्या भोग्नुपर्नेछ । जथाभावी विषादीको कारण विश्वबाट कयौं प्रजातिका जंगली जनावर नै लोप भएका छन् । औद्योगिक प्रदुषणले ओजोन तह विनास भएको छ । त्यसकै कारण लाखौं मानिस र जीवजन्तु र अन्नबाली प्रभावित भएको छ । पानीका स्रोतहरू सुक्दै गइरहेका छन् । मानव जीवन र प्रकृति बीच असन्तुलन भएको छ । त्यसमाथि बढ्दो औद्योगिकरण र बिलासिताका सामग्रीहित यातायातजन्य सवारी साधनको अत्यधिक प्रयोग, तीव्ररूपमा भइरहेको वन फँडानी, वायुमण्डलमा कार्बन डाइअक्साइडको अस्वाभाविक वृद्धि, हरितगृह प्रभावमा नकारात्मक असर, रक्षाकवचका रूपमा रहेको ओजोन तह पातालिएर प्वाल पर्ने क्रम जारी, तीव्र उष्वीकरण, जैविक विविधतामा अत्यधिक ह्रास लगायतका कारण पर्यावरणीय असन्तुलन बढ्दै गएको छ । अतः यो बर्षको नाराले भनेजस्तै मरुभूमिकरण र खडेरीविरुद्ध सामूहिक प्रतिवद्धता जरुरी छ । वातावरण दिवस मनाउने औपचारिकता यो बर्षपनि पूरा हुँदैछ । वातावरण संरक्षणमा जति ढिलाई ग¥यो उति चुनौति थपिनेछ । अतः दिवसलाई सार्थक बनाउने हो भने वातावरण जोगाउने अभियान सुरु गरौं ।