Butwal Today

दुग्ध किसानका समस्या समाधान गर

२० जेष्ठ २०८१, आइतबार
अ+
अ-

‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ शनिबार विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवस मनाउँदै गर्दा किसानहरूले लामो समयदेखि दुधको रकम भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८–०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । नेपालमा वार्षिक रूपमा २ अर्बभन्दा बढी रूपैयाँको दुध आयात हँुदै आएको सरकारी तथ्याङ्क छ । एकातिर नेपालका दुग्ध उत्पादक किसानले दुध विक्री गरेको पैसा पाउन सकिरहेका छैनन् भने अर्कोतिर भारतबाट बार्षिक दुई अर्ब बढीको दुध आयात भैरहेको छ । कहिँ नभएको जात्रा कहाँ भनेजस्तै नेपालमा जे नहुनु पर्ने हो त्यो भएकै हुन्छ । दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २४ औँ अन्तर्राष्ट्रिय विश्व दुध दिवस शनिवार मनाइएको हो । आम जनताले दुधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दुध दिवस मनाउन सुरु गरेको हो । विश्व दुध दिवस मनाइरहँदा दुधमा आत्मनिर्भरका लागि चुनौती बढेको छ । नेपालको बजेटमा नेपाललाई दुई वर्षभित्र दुधमा आत्मनिर्भर बनाइने प्रतिबद्धता व्यक्त गरिएपनि आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा यसको बारेमा केही उल्लेख गरिएको छैन । कृषिमा दुधको क्षेत्रको नौ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रले पाँच लाखको रोजगारी दिएको छ तैपनि सरकारले यसमा ध्यान नदिएको गुनासो राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको छ । दुधमा दुई वर्षमा आत्मनिर्भर हुने घोषणा गरिएको छ तर घोषणा गरेर मात्र हुँदैन, उत्पादनमा जोड दिनका लािग त्यस अनुसारको बजेट पनि दिनुपर्ने जरुरी छ ।

स्वस्थ्य मानिसका लागि वार्षिक ९१ लिटर दूध चाहिन्छ तर प्रतिव्यक्ति ७८ लिटर दुध मात्र पुगिरहेको छ, अझै १३ लिटर दुध अपुग रहेको बोर्डले जनाएको छ । यो एक वर्षमा प्रतिव्यक्ति १३ लिटर दुध पु–याउन सम्भव रहेको छैन । औपचारिक प्रशोधनमा १७ प्रतिशतमा सीमित दूधको परिमाणलाई वि.सं. २१०० सम्ममा ६० प्रतिशतमा पु–याउन संघ,प्रदेश एवं स्थानीय तहको सहकार्य, समन्वय र साझेदारी अझै जरुरी देखिएको छ । दुध उत्पादन गर्ने किसानलाई सहुलियत दिन नसक्ने हो भने मुलुकले अझै केही वर्ष दुधमा आत्मनिर्भर हुने सपना देख्नु हुँदैन । कृषि उत्पादनसंग जोडिएका विभिन्न बस्तुको मूल्य बृद्धि हुँदा दुध उत्पादक किसान निरास बनेका छन । तसर्थ सरकारले दुध दिवस मनाईरहँदा कृषकलाई राहत मिल्ने खालका कार्यक्रममा पनि उत्तिकै जोड दिनु जरुरी छ । दुधमा सरकारले अनुदान दिने घोषणा गरेको थियो । अहिले त्यो कुरा त्यसै हराएको छ । बरु पालिकाहरूले किसानलाई थोरै भएपनि अनुदानमा जोडेका छन । दुध उत्पादक किसानलाई सरकारले न कुनै राहत न कुनै प्रोत्साहन दिन सकेको छ । दुधको मूल्य बढाउन किसानले माग गरेका छन । लागत अनुसारको दुधको मूल्य नपाएको किसानको गुनासो छ । दुध दिवसकै अवसरमा किसानको माग सम्वोधन गर्नेतर्फ सरकारले ध्यान देओस् ।